Edukhabar
शनिबार, ०५ जेठ २०८१
खबर/फिचर

आयोग लड्नेकी अवकासमा जाने ? अस्थायी शिक्षकलाई असोज १० सम्मको म्याद

शुक्रबार, ३१ भदौ २०७३

भक्तपुर - शिक्षा ऐनले गरेको ब्यवस्था अनुसार आयोग लड्ने की अवकास रोजेर सुविधा लिने भन्ने बारेमा अस्थायी शिक्षकहरुले असोज १० गते भित्र निक्र्यौल गर्नु पर्ने भएको छ । अस्थायी शिक्षकबाट फारम भराई पेश गर्न शिक्षा विभागले मातहतका निकायलाई निर्देशन दिएसँगै उनीहरुका लागि म्याद तय भएको हो ।

यस अघिनै अस्थायी शिक्षकको नाम नामेसी विवरण संकलन भईसकेको सन्दर्भमा थप विवरण आवश्यक परेको हुँदा अस्थायी, सट्टा, लियन पदमा कार्यरत शिक्षकलाई फारम भराउन निर्देशन दिएको विभागले जनाएको छ ।

श्रोत केन्द्र मार्फत् अस्थायी वा लियन पदमा कार्यरत सबै शिक्षकलाई शिक्षक सेवा आयोगबाट अव हुने पहिलो विज्ञापनमा उम्मेद्वार भई दरखास्त दिने वा निवेदन दिई निर्धारित सुविधा लिने भन्ने व्यहोरा खुलाई यही असोज १० गते सम्म अस्थायी शिक्षक विवरण संकलन फारम भरी असोज मसान्त भित्र विभागमा पेश गर्न जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको हो ।

उक्त फारम भर्दा प्राथमिक निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकको अलग अलग समष्टिगत फारम तयार गरेर असोज १५ गते भित्र क्षेत्रीय शिक्षा निर्देशनालयमा र क्षेशिनिले असोज मसान्त भित्र विभागमा पठाउन निर्देशन दिएको छ ।
शिक्षा ऐनमा खुल्ला प्रतियोगितामा सहभागि हुने वा अवकास लिने भन्ने व्यवस्था राखिएको छ । प्रतियोगितामा सहभागि हुनेले अवकास सुविधा नपाउने ब्यवस्था छ ।

ऐनमा उल्लेख भए अनुसार ५ बर्षदेखि १० बर्षसम्म सम्म अस्थायी भएर काम गरेका शिक्षकलाई प्रत्येक बर्षको आधा महिनाको तलब दिईने भएको छ । त्यस्तै १० बर्षदेखि १५ बर्षसम्म काम गरेका शिक्षकले एक महिना बराबरको र १५ बर्षभन्दा बढी काम गरेका शिक्षकले डेढ महिना बराबरको रकम पाउने छन् । अवकास छाडेर प्रतियोगिता रोज्ने अस्थायी शिक्षकले कुनै सुविधा पाउने छैनन् । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पुराना अस्थायी शिक्षकलाई बिदाई गरी उनीहरुको ठाउँमा योग्य शिक्षक नियुक्ति गर्न ऐनमा अवकासको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया