Edukhabar
सोमबार, ०७ जेठ २०८१
विचार / विमर्श

स्कुल कलेज बन्द शिक्षाका निकाय खुल्नुको के अर्थ ?

शनिबार, १३ कार्तिक २०७३

शिक्षण संस्थाको लामो बिदा सधैं विवादित छ । बिदा धेरै भयो । पढाई छैन । बसेरै जागिर खाए शिक्षकले । यस्ता भनाई धेरै सुन्न सकिन्छ । यी भनाईमा रहेको सत्यता सबैले स्वीकार  गर्छन् । सरकारले पनि स्वीकार गरेको छ । शिक्षण संस्था बर्षमा २२० दिन खोलिनुपर्छ । कम्तिमा १९२ दिन पढाई हुनुपर्छ भनेको छ । यो भनाई पनि स्वयम्मा कमजोर अभिव्यक्ति हो । विद्यार्थी र अभिभावकको ध्यान यता छैन । एक वर्षमा कति दिन शिक्षण संस्था खोलिनुपर्छ ? कति दिन पढाई हुनुपर्छ ? यस्ता सवालमा विद्यार्थीले कहिल्यै आवाज उठाएनन् । अभिभावकले बहस गर्ने हिम्मत गरेनन् । ऐन, नियम र नीति पढ्ने फुर्सद यहाँ छैन । कानूनमा भएका कुरा पालन गर्दा आफू कमजोर देखिने संस्कार मौलायो । वर्षे वा हिउँदे विदा कहाँ कति दिन भन्ने निश्चितै छैन । तजबिजमा मिलाएर ५० दिन गर्ने चलन छ ।

प्रचलित नियमावलीले ४५ दिन वर्षे वा हिउँदे बिदा र ५ दिन स्थानीय बिदा गर्न सक्ने व्यवस्था गरेको छ । उता, विश्वविद्यालयस्तरमा भने विश्वविद्यालयले सूचना निकालेर बिदा गर्ने प्रचलन छ । बिदाबारे स्पष्ट विधि र व्यवहारको अभावमा हाम्रा स्कूल कलेजका मनपरी नै छ । तोकिएको दिनमात्र बन्द भए नभएको हेर्ने, अनुगमन गर्ने, जाँच्ने कोही छैन । विदा स्कुलले मिलाए हुन्छ । कलेजले विदा गरे हुन्छ । विश्वविद्यालय त मात्र सम्बन्धन दिन्छ र त्यो वापतको सेवा शुल्क असुल्ने मात्र हो । पढाई छ वा छैन ? नतिजाको स्तर के छ ? विद्यार्थी के भन्छन् ? अभिभावकको केही गुनासो वा सुझाव छ कि ? शिक्षक स्वयम् कस्तो अनुभव गरिरहेछन् ? यस्ता सवालमा ध्यान दिने, बुझ्ने निकाय हालसम्म देखिएन । ३६५ दिनमा २२० दिन खुल्दा पनि १४५ दिन त विदा स्पष्ट देखिन्छ । पढाई हुने १९२ दिनभन्दा १७३ दिन त नहुने प्रष्ट छ । अन्यत्र कस्तो छ त अवस्था । चाडपर्व विदा बढीमा कति दिन रहने जस्ता सवालमा बहस र अन्तक्र्रिया कहिल्यै भएन । सातामा २ दिन बिदा हुने देशमा सार्वजनिक विदा १०४ दिन र चाडपर्व  लगायतका विदा बढीमा १० दिन गर्दा पनि ११४ दिनभन्दा बढी कुनै मुलुकमा शिक्षण संस्था बन्द हुदैन ।

पहिलो कुरा त हाम्रा स्कुल कलेज ज्यादा कम खुल्ने अझ त्यसमा पनि पढाई हुने दिन त झनै कम हुने हुँदा हाम्रो शिक्षाको स्तर राम्रो बन्न नसकेको हो । चाडपर्वका विदालाई गम्भीर विश्लेषण गरी विदा निर्धारण गर्नुपर्छ । हाल जस्तो हचुवामा सबै पर्वका सबैलाई बिदा जरुरी छैन । जसले जुन पर्व मनाउने हो, उनीहरुलाई मात्र विदा दिइनुपर्छ । अरुलाई जबर्जस्ती विदा थोपरेर बाध्य बनाउनु हुँदैन । दशैं जस्तो पर्वको विदा बढीमा एक साता पर्याप्त हुन्छ । सरकारी कार्यालय सरहमात्र विदा गर्दा स्कुल कलेजमा के समस्या आउँछ ? शिक्षण संस्था प्रायः दशैंदेखि छठसम्म लगभग ३५ दिन लामो बिदा गर्ने प्रचलन छ । यी बीचका पर्वलाई दशैं ७ (सात) दिन, तिहार ५ (पाँच) दिन र छठ २ दिन गरी १४ दिन बिदा गरे पुग्नेमा ३५ दिन बिदा हुँदा कसलाई फाइदा भो ? यता यो विश्लेषणसहितको अन्तक्र्रिया सरोकार वर्गमा किन भएन ? सरकारी कार्यालय सरह हाम्रा शिक्षण संस्था खोल्ने हो भने थोरै सकारात्मक सन्देश निर्माण हुन सक्छ । कर्मचारीलाई जस्तै शिक्षकलाई घर विदा व्यवस्था गर्ने र उक्त घर विदा वापतको पारिश्रमिकक उपलब्ध गराउने हो भने विद्यार्थीलाई बढी फाइदा हुने देखिन्छ ।

एक वर्षको लागि भनेर तोकिएको पाठ्यक्रम, पाठ्यबस्तु र सिकाई उपलब्धि सहज हासिल गर्न समेत यो उत्तम उपाय बन्न सक्छ । हाल जस्तो १९२ दिन पढाउने भन्ने व्यवहारमा भने १५० दिन पनि राम्रो पढाई नहुने अवस्थाबाट मुक्त गर्न सरोकार वर्ग खासगरी विद्यार्थीले नेतृत्व गर्नुपर्छ । अभिभावकले सशक्त आवाज सहित सम्बन्धित अड्डाको दबाब दिनुपर्छ । शिक्षकले जागिरे दरिद्र मानसिकताबाट माथि उठेर निजामति सरहको बिदामा रमाउनु पर्छ ।

सरकारी शिक्षा प्रशासकहरु जागिर र प्रमोशनको घेराबाट थोरै फुर्सद निकालेर शिक्षा सेवालाई प्रभावकारी बनाउने अभियानमा सरिक हुनुपर्छ । शिक्षण संस्था विदाको एजेण्डा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा कार्यालय, शिक्षा विभाग र शिक्षा मन्त्रालयको विषय बन्नुपर्छ । यो कदमले शैक्षिक स्तरीयतामा एउटा इट्टा सजिलै थप्न सकिन्छ । विदाको दिनको कार्यान्वन र उपादयेता बारे बहस नहुनु शिक्षामा दुर्भाग्य नै हो । महिनौं दिन स्कूल कलेज बन्द हुने हुँदा भविष्यका कर्णाधार भनिएका विद्यार्थी स–साना केटाकेटीदेखि युवावर्गसम्मको त्यो ऊर्जाशील ज्ञान र सीप सिक्दै प्रयोग गर्दै थप नयाँ उचाई हासिल गर्ने उमेरका व्यक्तिको जीवन निष्कृय रहनुले के संकेत गर्दछ ? ज्यादा क्रियाशील हुने उमेर बिना सिकाइ व्यर्थ बनाउने हाम्रो शैक्षिक, संस्कारबाट कसरी देश विकासको अपेक्षा गर्न सकिन्छ ?

स्कुल बिदा हुने, कलेज बिदा हुने तर, जिल्ला शिक्षा कार्यालयदेखि शिक्षा मन्त्रालयसम्मका सबै कार्यालय खुल्ने । यसले के अर्थ राख्दछ ? आन्तरिक अफिसियल काम भनेको एक दुई दिन हुन्छ । मुख्य काम त कक्षा कोठामा हो, त्यो नै बन्द हुँदा खोलिने यी सरकारी कार्यालयको महत्व के रहन्छ ? शिक्षण संस्था विदा हुँदा शिक्षाका सरकारी कार्यालय प्रायः शून्य रहन्छन् । ती नाम मात्रका निरीक्षक र स्रोतव्यक्तिको झनै के अर्थ रहन्छ ? जब स्कुल, कलेज बिदा हुन्छ । विश्वविद्यालय प्रशासनले के औचित्य राख्छ ? यसतर्फ गम्भीर चर्चा किन भएन ? को को छन् यसका जिम्मेवार पदाधिकारी ? विदा व्यवस्था भद्रगोल र हचुवा  हुने अनि बिदामा विद्यार्थीलाई कस्तो सृजना र क्रियाकलापबाट उनीहरुको प्रतिभा उपयोग र विकास गर्ने भन्ने ठोस योजना नभएसम्म लाखौं विद्यार्थीको जीवन निर्माणको उमेरमा खेलवाड भएकै हो भन्न सकिन्छ । यो विषय ठट्टा हैन । सरोकारवर्गको उदासिनता र सरकारी पक्षको गैरजिम्मेवारीपनले हाम्रो शिक्षालाई स्वस्थ बनाउन नसकिएको यो तितो यथार्थलाई उजागर गरेर विद्यमान अवस्थाको सुक्ष्म विश्लेषण आज जरुरी भएकै हो ।

एक वर्षमा स्कुल कलेज कम्तिमा खुल्ने दिन, पढाई गर्ने दिन, परीक्षा सञ्चालन गर्ने दिन, नतिजा प्रकाशित र विश्लेषण गर्ने दिन, सुरुमा भर्ना सप्ताह किटानी गरिनुपर्छ । सो को कार्यान्वयन कडाईका साथ अनुगमन निरीक्षण हुनैपर्छ । शिक्षण संस्थाको विदा अन्य सरकारी कार्यान्वय सरह बनाएर जान सकिन्छ । अनावश्यक बिदा गरेर शिक्षक अर्कै व्यवसाय गर्न जाने, विद्यार्थी खेलेर हिड्ने अझ खराब संगत हदै विकृति विसंगतिको शिकार बनेर जीवन नै जोखिमपूर्ण लथालिङ् बनाउने, उता शिक्षा प्रशासनका कर्मचारी भने काम नपाएर गफ गरेर दिन बिताउने यस्तो संस्कारबाट हाम्रो शिक्षा कहिले माथि उठ्ने ?

मान्छे नबसेको घर चाडै पुरानो र भत्केर जाने हुँदा हाम्रा शिक्षण संस्थाहरुको आयु पनि कमजोर हुनाको अर्को कारण यस्तै लामो बिदा हुन्  । विद्यालय कलेजका कम्प्युटर लगायतका ल्याबका सामग्री लामो समयसम्म प्रयोग नहुँदा बारम्बार मर्मत गर्नपुर्ने भर्इ व्ययभार थपिने अर्को समस्या छ । यस्ता अनकौं समस्या र नकारात्मक अवस्थाबाट सुधार गरी अपेिक्षत उपलब्धि हासिल गर्न यहाँ पहिलो थालनी विदा संयोजन र व्यवस्थापन नै हनुपुर्छ । त्यस पछि अरु धरेै शैक्षिक विसंगतीलाई हल गरेर अग्रगती दिने बारे स्पष्ट गर्न सक्दछ ।

(लामिछाने वंशगोपाल उच्च मावि मकवानपुरका प्राचार्य हुन् ।)

प्रतिक्रिया