Edukhabar
विहीबार, १० जेठ २०८१
गुरुबा / गुरुआमा

निजीमा लगानी गरेका हेडसर सुधार्दै छन् सामुदायिक

विहीबार, १८ कार्तिक २०७३

कपिलवस्तु – पाटन संयुक्त क्याम्पस ललितपुरका अंग्रेजी विषयका प्राध्यापक खेमराज खनालले आफ्ना दुई सन्तान राजधानीका गुणस्तरीय दावी गर्ने निजी विद्यालयमा पढाउन चाहेनन् । गृह जिल्ला कपिलवस्तुको जनता उच्च माध्यमिक विद्यालय पिपरामै पढ्छन् उनका सन्तान ।

जिल्लाका औसत सामुदायिक विद्यालयको तुलनामा जनता उच्च माविले गुणस्तरीय शिक्षा प्रदान गर्दै प्राप्त गरेको ख्यातीको साक्षी बनेका छन् खनाल सर । त्यसैले त उनी आफ्ना सन्तान यही विद्यालयमा भर्ना गरेर आफु भने राजधानी बस्दै आएका छन् ।

‘सामुदायिक भएर पनि विद्यालयले उल्लेखनीय प्रगती गरेको छ, त्यसैले दुई सन्तानलाई यहीँ भर्ना गरिदिएको छु’ खनाल भन्छन्, 'अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउँदै आएको छ, त्यसैले विद्यालय तहसम्म दुई सन्तानलाई यहीँ पढाउने निधो गरेको हुँ ।’  

देशभरका अधिकाँश सामुदायिक विद्यालयको गुणस्तर खस्केको अवस्थामा जनता उच्च माविमा के त्यस्तो फरक काम भयो र यो नतिजा आयो त ?

प्रश्न जति गम्भिर छ, उत्तर भने उति सारो जटिल छैन ।

किनभने विद्यालय सुधारमा आवश्यक साना तिना काम हुन थालेका छन् । विद्यालयको प्रशासनिक मियो अर्थात् प्रधानाध्यापक जिम्मेवार बने पछि शैक्षिक सुधार देखिने गरी भएको छ । जसको पुष्टि विद्यालयमा बढ्दो विद्यार्थी संख्याबाटै हुन्छ । ३ बर्ष अघिसम्म करिब ४ सय विद्यार्थी रहेको विद्यालयमा अहिले १५ सय विद्यार्थी अध्ययनरत छन् ।

'हामीले अरु धेरै गरेका त छैनौं, गर्नु पर्ने काम मात्रै गरेका हौं' विद्यालयमा भएको सुधारको जस आफू मात्रै नलिई प्रधानाध्यापक रमेश पन्थी भन्छन्, 'मैले त प्रधानाध्यापकको कुर्चिमा बसेर संयोजन मात्रै गरेको हुँ, विद्यालयका शिक्षक र विद्यार्थीको मेहनत अनी समाजको विश्वासले नै आज हामी यहाँ आईपुगेका हौं ।'

सबै भन्दा ठुलो कुरा त कर्तब्यवोध रहेछ । पन्थी हेडसरको कर्तव्य र जिम्मेवारी बोधले विद्यालयको शिक्षामा चमत्कारिक परिवर्तन देखिएको खनाल जस्तै अन्य स्थानीय अभिभावकको पनि बुझाई छ । नेतृत्वमा बस्ने व्यक्ति सदाचार र इमान्दार हुने वित्तिकै सुधार हुने रहेछ भन्ने उदाहरण बनेको छ पिपराको यो विद्यालय ।  

समाजको विश्वासले मात्र सामुदायिक शिक्षामा सुधार ल्याउन सकिने पन्थी सरको निष्कर्ष छ । बोलेर मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने बोधले आफूलाई झक्झक्याए पछि विद्यालय सुधारमा लागेको पन्थी सर बताउँछन् । शैक्षिक सुधारका लागि भौतिक संरचनाको भूमिका पनि उत्तिकै आवश्यक छ । त्यसलाई ध्यान दिँदै समय सापेक्ष शिक्षा दिन विद्यालय कटिबद्ध रहेको विद्यालयमा रहेको पुस्तकालय, विज्ञान, कम्प्युटर प्रयोगशाला सहित उचित भौतिक संरचनाको आधारले समेत पुष्टि गर्छ ।

आफैले अध्ययन गरेको विद्यालयमा ०५८ सालमा शिक्षक भएर भित्रिएका पन्थी ०६६ सालमा प्रधानाध्यापक हुन पुगे ।

‘आफैले अध्ययन गरेको स्कुलमा प्रअ हुँदा पनि मैले केही गर्न सकिन भने त धिक्कार हुन्छ, भन्ने भावना मनमा आयो’ शुरुका ती दिन सम्झदैं पन्थी सर भन्छन्, 'विद्यालय सुधारका लागि सबै भन्दा पहिले आफू विद्यालय प्रति कटिवद्ध हुनु पर्यो, त्यसैले मैले निजी विद्यालयमा गरेको लगानी बापतको शेयर फिर्ता लिएँ ।'

प्रअ हुनु अघिसम्म निजी विद्यालयका संस्थापक र लगानीकर्ता समेत रहे पनि सरकारको तलव खाएर निजीको संरक्षक हुन नैतिकताले नदिने ठहर गर्दै उक्त शेयर वापतको रकम फिर्ता गरेको उनी बताउँछन् । उनले आफुले मात्र शेयर फिर्ता गरेनन् बरु समकक्षी अन्य शिक्षकलाई पनि नैतिक जिम्मेवारी बोध गराउँदै शेयर फिर्ता गर्न लगाए ।

शेयर फिर्ताको निर्णय निकै चुनौती पूर्ण थियो  । किन भने सामुदायिक विद्यालयको शिक्षा सुधार भयो भने आसपासका निजीको व्यापार सुक्थ्यो । पन्थी सरले त्यो चुनौती स्विकार गरे । विद्यालयमा शुरु शैक्षिक सुधार र गतिविधि मात्रै हैन भौतिक विकासले अभिभावकको साथ पाए । जुन साथ उनका लागि गतिलो 'रक्षा कवच' बन्यो ।

विद्यालय सुधारका लागि म भन्दा पनि हामी र हाम्रो भन्ने मन्त्र कार्यरुपमा पनि लागु भयो । विद्यालय शिक्षकको मात्रै, वा अभिभाकको मात्रै वा विद्यार्थीको मात्रै रहेन सबैको रह्यो समग्र समाजको बन्यो । सबैको विद्यालय बनाउने अभियानको  संयोजनकारी भुमिकामा प्रस्तुत भए पन्थी सर ।

अनी शुरु भयो विद्यालयको पुर्नजीवनको यात्रा ।  

शैक्षिक वातावरण सुधारका लागि अतिरित्त कक्षा सञ्चालन गर्नु पर्ने थियो, त्यसमा लागि आर्थिक स्रोतको जोहो प्रवन्ध अर्को चुनौती थियो । विद्यालयमा १८ शिक्षकलाई सरकारी तलव प्राप्त भए पनि बाँकी ४० जना निजी स्रोतका शिक्षक छन् । उनीहरुको तलव वेतनमा मासिक करिब ३ लाख रुपैयाँ खर्च हुन्छ । यसका लागि आवश्यक श्रोत चुनौती थियो । पन्थी सरलाई समाजको एउटा तप्काले साथ मात्र हैन श्रोतको खोजिमा पनि सघायो ।

त्यसका लागि विद्यार्थीबाट उठाईने केही शुल्कले ठूलो भरथेग गरेको छ । १ हजार विद्यार्थीसँग औसत मासिक ३ सय रुपैंया शुल्क लिएर अंग्रेजी माध्यमबाट विद्यालयले अध्यापन गराउदै आएको छ । ५ सय विद्यार्थी पूर्णत निः शुल्क अध्ययन गर्छन् । कक्षा ११ र १२ मा विज्ञान संकाय समेत सञ्चालन भएको विद्यालयमा ४ वटै संकायको अध्यापन हुँदै आएको छ ।

विद्यार्थी शुल्कबाट नपुग श्रोतको भरथेग दानदातव्यबाट संभव भएको छ । त्यसका लागि विद्यालयले अपनाएको पारदर्शीता नै मुख्य कारण हो । श्रोतको हिनामिना नगर्ने र खर्च आम्दानी पारदर्शी राख्ने हो भने समाजले पत्याउँदो रहेछ भन्ने उदाहरण पन्थी सरले भोगिरहेका छन् ।

त्यसो त विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको तथा श्रोतको अपचलन भएको भन्दै कसैले पोल लगाईदिएकै आधार पन्थी सरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउन नपरेको हैन ।

विद्यालयको शिक्षामा आएको गुणस्तर सुधारको कार्यक्रमलाई सरकारी निकायले जस दिनुको सट्टा सजाय दिएको नमिठो अनुभव मनमा भएपनि जिम्मेवारी र कर्तव्यबाट विचलित नभएको पन्थी हेडसर बताउँछन् ।

‘भ्रष्टाचारी धाउने अख्तियारमा धाउनु पर्दाको पीडा कसरी व्यक्त गर्न सक्छु र ? शिक्षामा गरिएको सुधारको एउटा फल अख्तियार धाउदा पाएँ' पन्थी सर मनको तितो पोख्दै भन्छन्, 'राम्रो गर्नेलाई हत्सोहित बनाउनेहरुले मेरो घर परिवारलाई समेत धम्काए ।'

कुनै बेला सामुदायिक विद्यालयमा सन्तान भर्ना गराउन नाक खुम्चाउने समाजका नवधनाढ्य वर्ग समेत हिजो आज जनता उच्च माविमा सन्तान पढाएकोमा गर्व गर्छन् । नजिकैका निजी विद्यालयमा सन्तान पढाउँदै महंगो शुल्क तिर्दा गर्व गर्नेहरु अहिले बदलिएका छन् । यो परिवर्तन देख्दा पन्थी सर अख्तियार धाउँदाको पीडा भुल्छन् ।

यो उपलब्धिले उनलाई शाहस मात्रै थपेको छैन, थप कर्तव्यपरायण हुन हौस्याएको पनि छ ।

सामान्यतया ग्रामिण समाजमा 'हुदाँ खाने' र 'हुनेखाने' वर्ग छन् । हुँदा खाने वर्गलाई संरक्षण गर्दै हुँदा खाने वर्गको मनजित्ने काम शिक्षकले गर्नसक्ने हो भने सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न सकिन्छ भन्ने उदाहरण पन्थी सरले प्रमाणित गरेका छन् ।  

विद्यालयको मूल मन्त्र छ – जुन कुनै हालतमा शिक्षाको गुणस्तर खस्कन नदिने । त्यसैले त गणित* विषयका शिक्षक पन्थी हेडसर आफू प्रशासनिक मात्रै हैन अध्यापनमा पनि सकृय छन् ।

* सच्याईएको - सं.

प्रतिक्रिया