Edukhabar
आइतबार, ०९ बैशाख २०८१
गुरुबा / गुरुआमा

खत्री सरको व्यस्तता : अक्सिजन लिँदै, शैक्षिक सामग्री बनाउँदै

शुक्रबार, २६ भदौ २०७७

भक्तपुर - नाकको दुई पोरामा पाइप घुसारिएको छ । कोठाको एक कुनाबाट आइरहेको अक्सिजनको पाइपलाई टाउकोको पछाडि, कानको माथिबाट ल्याइ नाकका प्वालमा छिराएर सजिलोका साथ बसिरहेका छन्, ताथलीका ध्रुब खत्री ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको खत्री टोलका ५६ वर्षका खत्री शिक्षक हुन् । दम रोगबाट पिडित उनी सोही वडाको देवी माविका निमावि तहका शिक्षक हुन् ।

कोठाको लो बेडमा बसेका उनको अघि टि टेबल छ । त्यही टि टेबलमा विभिन्न रंगीचंगी कागजका टुक्राहरु छन् । टेबलमा गम, स्केल, कैंची, ब्लेड इत्यादि सामानहरु छन् ।

टेबलमा, बेडमा छरिएका निलो, हरियो, रातो, बैजनी, पँहेलो रङका कागजहरुलाई उनी घरी पट्याउँछन्, घरी  स्केलले नाप्छन्, पेन्सिलले कोर्छन्, ब्लेडले विभिन्न आकार हुने गरी काट्छन्, कैंची चलाउँछन्, विभिन्न वस्तुका आकारहरु निकाल्छन् ।

त्यसरी आकार निकालेर काटेका कागजहरुलाई उनी मिहिनेतले जोड्छन्, अनि १५/२० मिनेटमै कुनै न कुनै रुप दिन्छन् ।

कागजलाई आकार मिलाएर काट्दै, गमले जोड्दै उनले विभिन्न फुलहरु बनाएका छन् । जनावरहरुको आकृति बनाएका छन् । चराचुरुङ्गीहरु बनाएका छन् । खेर गएका कागज, बाकसहरुलाई काटेर फूलदानी, कलमदानी बनाएका छन् ।

‘विश्वभर फैलिरहेको कोरोनाको कारण स्कुल बन्द छ, पढाउन पाएको छैन, पढाउन नपाए पछि मन छटपट हुन्छ, त्यही छटपटी कम गर्न यस्तै यस्तै सामानहरु बनाउने दिन बिताउने गरेको छु ।’ खत्री सर भन्छन् । 

हुन त उनको विषय गणित हो, तर परि आउँदा उनी अरु विषय पनि पढाउन पछि हट्दैनन् । अर्थात् उनको मुख्य ध्यान बालबालिकालाई सिकाउन मै केन्द्रित हुन्छ । त्यसैले त शिक्षणमा ३ दशकको अनुभव लिएका खत्री सर कोरोनाका कारण घरमै बसे पनि शिक्षण क्रियाकलापलाई सहयोग हुने क्रियाकलापमा व्यस्त छन् ।

‘बाहिर जाने कुरा भएन, अरु काम गर्न शरीरले दिँदैन, फेरि यो कोरोनाले म जस्ता रोगीलाई छिट्टै समाउँछ भनेका छन्, यही भएर पनि म कोठा भित्रै बसेर विभिन्न सामानहरु बनाउँछु, समय बिताउँछु’ उनले भने, ‘यसरी सामानहरु बनाउँदा आनन्द लाग्छ, यति मात्र हैन, आफूसँग भएको सीपको पनि पुनर्ताजगी हन्छ ।’

शिक्षणको क्रममा कागजका विभिन्न शैक्षिक सामग्री बनाउने तालिमबाट सिकेको सीपलाई विद्यालय खुल्दा प्रयोग गर्दै आइरहेका खत्री सर विद्यालय नखुल्दाको पीडा बिर्साउन आफूले बनाएका सामग्रीहरुले सहयोग पुगेको बताउँछन् । उनले बनाएका विभिन्न सामग्रीलाई उनले कोठाका भित्ताहरुमा सजाएका छन् । यति मात्र हैन, उनको सीपलाई छोरी गायत्री खत्रीले फेसबुक मार्फत् सामाजिक सञ्जालमा राखिदिएकी छन् ।

‘मान्छेहरु, घरमा बसेर के गर्ने, घरमा बस्दै गार्हो छ, समय विताउन गार्हो छ भनेर भन्छन्, तर ड्याडी एकदिन पनि चुप लागेर बस्नु भएको छैन, कागजबाट विभिन्न सामानहरु बनाउने गर्नु भएको छ, हामीलाई पनि सिकाउनु भएको छ ।’ छोरी गायत्रीले भनिन् ।

आफूसँग भएको सीपको दक्षता विकास गर्नका लागि अहिलेको समय उपयुक्त भएको बताउँदै खत्री सर कागजका ती सामग्रीहरु बनाए पछि मनै आनन्द हुने र घरमै रहेर पनि आफू कक्षा कोठामा बसी सिकाइ रहेको जस्तो आभाष हुने बताउँछन् । विभिन्न सिर्जनात्मक काममा रुचि भएका खत्री सर घरमै बसी सामग्री बनाएको जानकारी विद्यालयलाई पनि छ । विद्यालयका शिक्षकहरु कहिले काहिँ शिक्षक खत्रीकै घरमा गएर उनीबाट केही सिक्ने गरेका छन् । 

२०६० सालदेखि सामान्य दमबाट ग्रसित शिक्षक खत्री विगत २ वर्षदेखि भने दमबाट अलि बढी ग्रसित छन् । 

खत्री सरले घरमै बसेर, समयको सदुपयोग गरी बनाइएका ती सामग्रीहरुलाई अपनत्व ग्रहण गरी कक्षा शिक्षणमा प्रयोग गर्ने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले शिक्षकको सिर्जनशीलतालाई विद्यालयले संस्थागत रुप दिने योजना रहेको बताए ।

‘शिक्षकसँग त्यो खालको क्षमता र सीप हुनु शिक्षकको लागि मात्र हैन, विद्यालयको लागि पनि राम्रो कुरा हो, त्यसलाई हामी शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्छौं, प्रधानाध्यापक छुकांले भने अझ हामीले टोलटोलमा पुगेर गरिरहेको घरदैलोमा पनि ती सामग्रीलाई प्रयोग गर्न सक्छौं ।’ 

सरकारले नै अहिले वैकल्पिक सिकाइलाई मुलधार बनाउने भनिसकेको छ । खत्री सरको उक्त सीपलाई पनि सिकाइको एउटा विधिका रुपमा मूल्यांकनसँग जोडेर लग्ने उनको भनाइ छ ।

प्रतिक्रिया