Edukhabar
आइतबार, ०६ साउन २०८१
गुरुबा / गुरुआमा

‘मर्ज’ हुनै लागेको विद्यालयलाई उत्कृष्ट बनाउने यी ‘हेडसर’ [भिडियो सहित]

ती हेडसर जसले विद्यार्थी संख्याको ‘टार्गेट’ दिएरै बैठकमा घोषणा गरे : आउँदो शैक्षिक सत्रमा विद्यार्थी संख्या बढाउन सकिन भने मलाई जति दुर्गममा सरुवा गरिदिए पनि हुन्छ, म जान्छु ।

सोमबार, २४ असार २०८१

 पाल्पा - २०६८ सालको हिउँद सकिँदै थियो । त्यही समयको कुरा हो, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका जिल्ला उपाध्यक्ष कृष्ण बहादुर थापालाई शिक्षा समितिको एउटा बैठकमा संगठनको प्रतिनिधित्व गर्दै सहभागी हुनु पर्ने भयो । तत्कालिन जिल्ला शिक्षा अधिकारी विष्णु बहादुर द्वारेले सोही बैठकमा एउटा प्रस्ताव पेश गरे । तानसेन स्थित श्री देववाणी संस्कृत तथा साधारण मा.वि. अर्कै विद्यालयमा मर्ज गर्ने । द्वारेको उक्त प्रस्तावले थापा सरलाई भित्रै बाट चिमोट्यो ! 

बैठकमा छलफल चल्यो । संस्कृत स्कुल समाजको गहना हो, बन्द गर्नु हुन्न । विद्यार्थी नै नभए पछि कसरी चलाईराख्ने त ? छलफलमा सहभागी कोही भन्दै थियो ‘जसरी पनि चलाउने !’

तर, त्यो ‘जसरी पनि चलाउने !’ को कसरी भन्ने उत्तर कसैसँग थिएन ।  १२ जना शिक्षक थिए, रजिष्टरमा ४२ जना विद्यार्थी भए पनि नियमित विद्यालय आउने विद्यार्थी संख्या १५–१६ जना मात्रै थिए । 

२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा ६० सालमा सार्वजनिक भए पछि २०४६ साल देखिको अस्थायी शिक्षकको परिचय बदलिएर थापा सर गणितका स्थायी शिक्षक भएको पनि ८ बर्ष भईसकेको थियो । प्रभात माविमा कार्यरत थापा सरको बोल्ने पालो आयो, उनले कड्केर भने –‘देववाणी सुधार्ने जिम्मा मेरो भयो ।’ 

‘मैले यत्ति बोले पछि, बैठकमा सबै मुखामुख गर्न थाले । सबैले मै तिर हेरिराखेका छन्, द्वारे सर पनि एकोहोरो मलाई नै हेर्दै हुनुहुन्छ’ त्यो दिन सम्झदैं थापा सर भन्छन् ‘आउँदो शैक्षिक सत्रमा सय जना विद्यार्थी कटाउन सकिन भने मलाई जिल्लाको जति दुर्गममा सरुवा गरिदिए पनि हुन्छ, म जान्छु ।’ 

डेढ बर्ष पढाए पछि २०४६ सालको जनआन्दोलनमा लागेको निउँमा खुस्केको जागिर २०४९ फागुन १३ गतेबाट सोमादीको गंगा निमाविमा शुरु भएको थियो । ठिमुरेको नारायण माविमा पनि थापा सरले केही समय अस्थायी रुपमा शिक्षण गरेका थिए । आँखा कमजोर हुँदा समेत घरबाट तीन घण्टा पैदल दुरीमा त पढाउन ओहोर दोहोर गरेका थापा सरलाई दुर्गमको पीर हुने कुरै भएन ! त्यसैले उनका लागि आफ्नो वचन पुरा नभए दुर्गमको सजाँय भोग्न तयार भएको घोषणा नौलो थिएन । 

आफ्नै गाउँको विद्यालय बन्द हुन लागेको चिन्ताले हो वा शिक्षकको नेता हुँदा पनि विद्यालय बन्द भएको टुलुटुलु हेर्न नसकेर हो वा घर देखि टाढाको जागिर घर पायक नै पार्न मन लागेर हो थापा सरले अहिले सम्म पनि त्यो बैठकमा बोलेको : ‘देववाणी सुधार्ने जिम्मा मेरो’ भन्ने वाक्यको अर्थ खुट्याउन समय खर्चेका छैनन् । उनको समय विद्यालयको अवस्था सुधार्न मात्रै केन्द्रित छ । 

000

बैठकमा सहभागीले थापा सरलाई पत्याए । २०६० साल कात्तिक २५ गते स्थायी नियुक्ति लिएर मंसिर ८ गते हाजिर हुन पुगेको प्रभात माविमा यो कुरा कसरी भन्ने ? 

बल्ल पो थापा सरलाई चिन्ताले घेर्यो !

तत्कालिन एसएलसीमा सत प्रतिशत नतिजा निकाल्ने प्रभात माविमा भएको उन्नतीका एक खम्बा थापा सरलाई विद्यालयले विदा दिन्न भन्ने बल्ल पो हेक्का आयो !

२०६३ सालबाटै आँखामा आएको खराबीले विद्यार्थी माथि अन्याय गरेको पो छु कि जस्तो लागे पनि विद्यालय परिवारले विद्यालय छोड्न नदिएको घटना ताजै थियो । 

तै पनि उनले प्रभात मावि परिवारलाई आग्रह गरे, अनुरोध गरे । अरु कुराले त उनीहरुलाई छोएको थिएन, ‘घर नजिकै भए बिरामी छोरोको उपचारमा सजिलो हुने थियो’ भन्ने थापा सरको वाक्य पछि प्रभात परिवार केही बोल्न सकेन । 

अन्ततः त्यही बर्षको फागुन एक गते उनी सरुवा भएर देववाणी आए ।  यतिखेर सम्म विश्वविख्यात आँखा रोग विशेषज्ञ डा. सन्दुक रुईतसँग उपचार गराएर उनको दुबै आँखा ठिक भईसकेको थियो । 

000

अब, हेडसरका हैरानी शुरु भए । आउँदो शैक्षिक सत्रमा सय जना विद्यार्थी पुर्याउँछु भनेर 'फूर्ति' दिएको छ । कसरी पुर्याउने ? 

२०६९ सालको नयाँ शैक्षिक सत्र शुरु हुने वित्तिकै थापा सर र शिक्षकहरु रामजीवन ज्ञवाली, कमल काफ्ले, बलराम घिमिरेले सल्लाह गरे । हाम्रा छोराछोरी ल्याएर भर्ना गरौं । बोर्डिङ् स्कुलमा नर्सरीमा पढ्ने थापा सरले छोरीलाई कक्षा दुई मा र छोरोलाई कक्षा ५ मा भर्ना गरे । अरु शिक्षकहरुले पनि आफ्ना सन्तालाई यहीँ भर्ना गरे । 

‘तर, विद्यालयको खस्कदों रफ्तार देखेर हो वा यिनीहरुले त विद्यालय सुधार्ने भए भन्ने आरिसले हो केही मान्छेले हामीलाई राजनीति गर्न सजिलो हुन्छ भनेर आएका भन्न पो थाले’ ति दिन सम्झदैं थापा सर भन्छन्, ‘हामीले केही वास्ता गरेनौं, घर घर गएर बालबालिका भर्ना गर्न ल्याउन आग्रह गर्यौं, १५ दिनमा १७ जना जति नयाँ भर्ना भए ।’

तर आफ्नो लक्ष्य सय जना छ । थापा सरको टिमले सल्लाह गर्यो जिल्लाका विभिन्न गाउँबाट सदरमुकाम पढाउन राखेकाहरुलाई गाउँमा रहेका शिक्षकहरु मार्फत् छोराछोरीलाई देववाणीमा भर्ना गर्न भन्न लगाऔं ।  । यो उपायले काम गरयो, गाउँ गाउँमा रहेका आफ्ना शिक्षक साथीहरुको  आग्रह गाउँका अभिभावकले माने, जजसले सदरमुकाममा राखेर छोराछोरी पढाएका थिए, प्रायले देववाणीमा भर्ना गरे । विद्यार्थी संख्या त डेढ सय नाघ्यो ! 

त्यस पछि थापा सर र उनको टिम विद्यार्थी सिकाइमा केन्द्रित भयो । पहिलो बर्ष २०६९ सालमा एसएलसीमा सहभागी भएका ३८ जना मध्ये १८ जना पास भए । विद्यालयको चर्चा शुरु हुन थाल्यो । २०७४ सालमा कक्षा १० को अन्तिम परीक्षा एसईईमा सहभागी विद्यार्थीको नतिजा ३.९५ जीपीए आए पछि त यो चर्चा जिल्ला व्यापी भयो । गत बर्ष पनि एसईईमा सहभागी विद्यार्थीको नतिजा अनुसार सामुदायिक तर्फ यो विद्यालय जिल्लामा सबै भन्दा अब्बल भयो । यस बर्ष एसईईमा सहभागी ७१ मध्ये ४४ जनाले ग्रेड प्राप्त गरे । ती मध्ये सबै भन्दा धेरै ३.८७ जीपिए ल्याएर जिल्लामा अब्बल रहने रेकर्ड कायमै राखेको छ । 

झण्डै मर्ज भएको विद्यालयमा अहिले झण्डै पाँच सय हाराहारी विद्यार्थी छन्, शिक्षक कर्मचारी गरेर ३० जनाको ठूलो र सहयोगी समूह छ । १८ जना दरबन्दीमा र १२ जना निजी श्रोतमा शिक्षक छन् । सरकारले दिने आर्थिक श्रोतबाट अपुग रकम जोगाड गर्न अभिभावक भेला गरेर हुने निर्णयका आधारमा रकम संकलन गर्ने चलन छ । 

‘दाताहरुले दिने चन्दाबाट उठेको रकम पनि विद्यार्थी सिकाइमै खर्च गरिन्छ ।’ थापाले भने ‘अब यस बर्षबाट विद्यालयमा कक्षा ११ पनि सञ्चालन गरिदैं छ । महिनाको ३० हजार रुपैंया तिरेर जग्गा भाडामा लिईसकेका छौं ।’ 

000

शिक्षक संगठनका जिल्ला उपाध्यक्ष हुँदा संयोगले गएको बैठकमा उठेको प्रसंगले श्री देववाणी संस्कृत तथा साधारण मा.वि. तानसेन, पाल्पाको प्रधानाध्यापक भएका कृष्ण बहादुर थापा हिजो आज कुनै पनि राजनीतिक दल र संगठनमा आवद्ध छैनन् । तर, शिक्षकहरु दलगत राजनीतिमा लाग्दा सामुदायिक शिक्षा ध्वस्त भयो भन्ने कुरासँग उनी सिधै असहमत छन्, सुन्नुहोस् थापा सरका कुरा  : 

000

एक जना हेडसरले चासो दिदाँ विद्यालय कसरी सुधार हुन्छ भन्ने उदाहरण बनेको छ देववाणी र यो उदाहरणको पात्र बनेका छन् थापा सर । 

त्यसैले त थापा सर निर्धक्क भन्छन् ‘मेरो क्लियर कुरो छ, शिक्षक नलाग्दा सम्म विद्यालय सुध्रन्नन्, त्यस पछि मात्रै सरकार, अभिभावक र विद्यार्थीको पालो आउँछ ।’ 

थापासर सँग गरिएको लामो कुराकानीको मुख्य अँश यो भिडियोबाट हेर्नु होस् :

 

कुराकानीकै दौरान हामीले थापा सरलाई सोध्यौं : सामुदायिक विद्यालय राम्रो बनाउन क कसले के के गर्नु पर्दो रहेछ ? 

संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको छ, शिक्षकका संघ संगठन  यो व्यवस्थाको विरोधमा छन्, त्यसो भए सार्वजनिक शिक्षा सुधारको लागी केन्द्रीकृत संरचना नै ठिक हो ? हो भने कसरी, हैन भने कसरी  .....

प्रतिक्रिया