Edukhabar
सोमबार, २४ बैशाख २०८१
खबर/फिचर

परीक्षा बोर्ड अध्यक्ष सिफारिस समितिमा बस्न अस्विकार

बुधबार, १५ मंसिर २०७३

काठमाडौं - त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले बस्न नमानेपछि राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष सिफारिसका लागि आवश्यक सर्च कमिटि गठन प्रकृया अलपत्र परेको छ । शिक्षा मन्त्री धनिराम पौडेलले त्रिपाठी सहित त्रिविका पूर्व रजिष्टार महेन्द्र सिंहलाई सर्च कमिटिमा राख्ने तयारी गरेका थिए ।

उनीहरु दुवै जना माओवादी निकट मानिन्छन् । सोही अनुसार मन्त्रालयले फाईल तयार गरे पनि अन्तिम समयमा त्रिपाठीले आफू बस्न नसक्ने बताए पछि सर्च कमिटि नै अलपत्र परेको हो ।

आफ्नो केही प्राविधिक कठिनाईका कारण उक्त समितिमा बस्न नसकेको त्रिपाठीले एडुखबरलाई बताईन् ।

'मन्त्री ज्यूले सर्च कमिटीमा बस्न आग्रह गर्नु भएको हो, मैले मन्त्रीलाई सघाउनु पनि पर्ने हो' उनले भनिन्, 'तर मेरा केही प्राविधिक कठिनाई छन्, यसबारेमा मन्त्रीलाई भेटेरै बताउँछु भन्ने सोचीरहेकी छु ।'

उनले कस्तो खाले प्राविधिक कठिनाई हो भन्ने बारेमा भने केही बताउन चाहिनन् ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तिमा एक जना महिला सहित शिक्षा मन्त्रालयले मनोनित गरेका २ सदस्य रहेको समितिले अध्यक्षको नाम सिफारिस गर्ने शिक्षा ऐनमा ब्यवस्था छ ।

बोर्डको अध्यक्षका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त र शिक्षा तथा परीक्षा सम्बन्धि क्षेत्रमा कम्तिमा १२ बर्षको अनुभव भएको ब्यक्ति हुनु पर्ने शिक्षा ऐनमा ब्यवस्था छ ।

ऐन आएको ५ महिना भईसक्दा पनि परीक्षा बोर्डमा पदाधिकारी नियुक्त गर्न नसकेको भन्दै मन्त्रीको आलोचना हुँदै आएको छ ।

गत असार १५ गते शिक्षा ऐनको आठौं संशोधन जारी भएको भोलीपल्ट तत्कालिन मन्त्री गिरिराजमणि पोखरेलले पदेन उपाध्यक्ष रहेका शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई कार्यवहाक अध्यक्ष बनाएर बोर्ड सञ्चालन गरेका थिए । सदस्य सचिवका रुपमा मन्त्रालयकै सहसचिव डा. लवदेव अवस्थिलाई नियुक्त गरेपनि उनी सचिवमा बढुवा भएपछि बोर्ड उतिबेलै अलपत्र परेको थियो ।

अहिले बोर्डका सदस्य सचिवमा मन्त्रालयका सहसचिव सूर्य गौतम कार्यरत छन् ।   

प्रतिक्रिया