Edukhabar
आइतबार, १६ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रालय र महासंघको सम्बन्ध चिसिदैं : असहयोग गर्ने चेतावनी

मंगलबार, १२ पुस २०७३

काठमाडौं - आफूहरुसँग सम्वाद र सहमती तोडेर शिक्षा मन्त्रालय एक्लै अघि बढेको आरोप लगाउँदै यही रवैया रहे मन्त्रालयलाई असहयोग गर्ने शिक्षक महासंघले चेतावनी दिएको छ । अध्यक्ष केशव निरौलाको नेतृत्वमा मंगलबार शिक्षा मन्त्री धनिराम पौडेललाई भेट्न पुगेको महासंघको टोलीले शिक्षकका सवालमा मन्त्रालयका काम कारवाही प्रतिकूल भएको भन्दै आफूहरु असहयोग गर्न बाध्य भएको जनाएको हो ।

आफूहरुका कुरा सुनेपनि मन्त्री उति सारो गम्भिर नभएको आफूले पाएको निरौलाले बताए । 'मन्त्री महासंघलाई एक्ल्याएरै अघि बढ्ने ध्याउन्नमा रहे झै देखेँ, महासंघसँगको सम्बादलाई महत्व नदिएको हामीले ठहर गरेका छौं सोही जानकारी मन्त्रीलाई गरायौं' अध्यक्ष निरौलाले भने, 'सम्वादलाई अघि बढाउने की एक्लै जाने भन्ने कुरा तय गर्ने काम अव मन्त्री र मन्त्रालयको हो, हामीले सात दिन पर्खन्छौं भनेका छौं ।' 

सात दिन भित्र पनि मन्त्रालयले आफूहरुसँग छलफल नगरे बाध्य भएर आन्दोलनमा उत्रने निरौलाले धम्कि दिए । तर आन्दोलनको स्वरुप के हुने भन्ने बारेमा चाँडैनै तय गर्ने उनको भनाई छ ।

खास गरी शैक्षिक सम्वाद समन्वय समितिलाई निष्कृय बनाएर मन्त्री एक्लै अघि बढ्न खोज्दा समस्या भएको महासंघको तर्क छ । शिक्षक र शिक्षाका मुद्धाहरुका बारेमा महासंघसँग सहकार्य गर्दै काम गर्ने उद्धेश्यले ३ बर्ष अघि समिति गठन गरिएको थियो । तर, पछिल्लो समय आफूहरुलाई मन्त्रीले एक्ल्याउँदै लगेको महासंघले ठहर गर्दै मन्त्रीलाई भेटेरै असहमती जनाएको हो । आयोग पास गरेका उम्मेद्वारको पोष्टिङ् गर्दा कार्यरतलाई अन्याय नहुने गरी गर्नु पर्ने, उक्त समितिलाई सकृय बनाउनु पर्ने, नियमावली तत्काल जारी गर्नु पर्ने, लियन शिक्षकको समस्या समाधान गर्नु पर्ने गरी ५ विषयमा महासंघको टोलीले मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

यी मध्ये पनि शिक्षक सेवा आयोग उत्र्तीण उम्मेद्वारहरुको पदस्थापना प्रकृयामा मनलाग्दी गरेको विषयमा महासंघको गम्भिर आपत्ति छ । यकिन दरबन्दी नआएका जिल्लालाई थाती राख्दै मन्त्रालयले आयोग पास भएका उम्मेद्वारलाई पदस्थापना गर्ने प्रकृया शुरु गरेको छ । उक्त प्रकृया जिल्ला शिक्षा अधिकारीको मनमौजिले अघि बढ्न लागेको भन्दै महासंघले आपत्ति प्रकट गरेको हो ।

जिल्ला शिक्षाले दरबन्दी यकिन नगर्ने तर कार्यरत अस्थायी शिक्षकलाई भने हटाएर अन्याय गर्न लागेको भन्दै महासंघले आपत्ति जनाएको छ । पोष्टिङ् गर्दा कनिष्ठबाट पोष्टिङ् गर्नु पर्ने महासंघले बताउँदै आएको छ । 'शिक्षकको पोष्टिङ् गर्दा सामाजिक न्यायका हिसावमा हर्न जरुरी छ' टोलीमा सहभागी शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले भने ।

उपत्यकाका तीन र लमजुङ् जिल्लाबाट यकिन दरबन्दी नै नआउँदशिक्षा विभागले पदस्थापनाको प्रकृया शुरु गरेको छ ।

प्रतिक्रिया