Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

त्रिविको लापरवाही, विद्यार्थी एक रजिष्ट्रेशन तीन !

मंगलबार, १९ पुस २०७३

काठमाडौं - कुनै पनि विद्यार्थी कुनै एक विश्वविद्यालयमा उही संकायमा अध्ययन गर्दा उक्त संस्थामा उसको रजिष्ट्रेशन कति वटा हुन्छ ?

उत्तर सिधा छ – एउटा ।

तर देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा भने यस्तो नहुन पनि सक्छ !

शैक्षिक र प्राज्ञिक गतिविधिमा थिती विगारेको आरोप खेप्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना विद्यार्थी प्रति कति सम्म गैह्र जिम्मेवार छ भन्ने थाह पाउन मन भए तपाईले भेट्न सक्नु हुन्छ – विरेन्द्र बहुमुखि क्याम्पस, भरतपुर, चितवनका विद्यार्थी बिकाश बराललाई ।

विज्ञान संकाय अन्तर्गत भौतिक शास्त्रमा ३ वर्षे स्नातक तह उत्तीर्ण बराल त्यतिखेर झस्किए जतिखेर विदेश जाने प्रकृयाका लागि कन्सल्टेन्सीमा बुझाएको शैक्षिक प्रमाणपत्र  नक्कली भएको आशंका गरियो ।
उक्त आशंका अरु कुनै कारणबाट हैन, विश्वविद्यालय आफैंले जारी गरेको प्रमाणपत्रमा उल्लेख भएको र त्यस अघि नै उपलब्ध गराएको रजिष्ट्रेशन नम्बरको भिन्दा भिन्दै अंकका  कारण थियो ।

भरतपुर उपमहानगरपालिका–२१, गीतानगरका स्थायी बासिन्दा बरालले  स्नातक प्रथम वर्षमा रजिष्ट्रेशन फाराम भरेपछि प्राप्त गरेको र ट्रान्सक्रिप्टमा उल्लेख भएको नम्बर फरक फरक भएको बल्ल भेउ पाए ।
देशकै जेठो विश्वविद्यालयले यो हद सम्म लापरवाही गर्ला भन्ने कल्पना सम्म नगरेका बराल त्यतिखेर झन् चित खाए जतिखेर सक्कल बमोजिम नक्कल रजिष्ट्रेशन नम्बर पाउँ भनेर निवेदन दिदाँ अर्को नयाँ नम्बर प्राप्त भयो !

आफ्ना तीन वटा रजिष्ट्रेशन नम्बर मध्ये कुन सक्कली हो कुन नक्कली ! बराल आफैं रनभुल्लमा परेका छन् ।

सक्कल बमोजिम नक्कल रजिष्ट्रेशन नम्बर पाउँ भन्दै निवेदन दिएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट गत आईतबार प्राप्त रजिष्ट्रेशनको नम्बर ५–२–१९–६१२–२०११ छ ।

जबकी यो नम्बर यस अघि प्रथम बर्षमा फारम भरेपछि सन् २०१४ सप्टेम्बर १४ तारिखमा प्राप्त गरेको नम्बर ५–२–००१९–०६६३–२०११ र ट्रान्सक्रिप्टमा उल्लेख भएको (सबै भन्दा माथिको फोटो हेर्नुहोस्) ५–२–१९–६६५–२०११ भन्दा फरक छ ।

अब के गर्ने ? बरालसँग पनि उत्तर छैन ।

तर आफू अध्ययनरत क्याम्पसबाट सिफारिस लिएर तीन थरी त्रि.वि. दर्ताकार्ड नम्बर सहित फेरी परीक्षा नियन्त्रण कार्यालय, बल्खु धाउने सुरमा छन् उनी ।

‘जुन काम चार बर्ष अघि सकिएको हो, त्यही कामका लागि पटक पटक धाउनु पर्दाको मेरो दुःख र मानसिक पीडाको मूल्य कसले देला ?' उनी भन्छन्, 'चितवनदेखि काठमाडौं ओहोर–दोहोर गर्दा भोगको हैरानीको त कुरै छाड्नुस् ।'

प्रतिक्रिया