Edukhabar
विहीबार, २० बैशाख २०८१
खबर/फिचर

कक्षा ११ को परीक्षा फेरी पनि सर्ने

विहीबार, २८ बैशाख २०७४

भक्तपुर - स्थानीय चुनावका कारण यस अघि नै एक महिना पछिलाई सारिएको कक्षा ११ को परीक्षा फेरी पनि सर्ने भएको छ । परीक्षा सारिएको मिति दोश्रो चरणको निर्वाचन लगत्तै पर्ने भएकोले ब्यवस्थापन गर्न नसक्ने भन्दै परीक्षा बोर्डले मिति सार्ने गृहकार्य गरेको श्रोतले जनाएको छ ।

'अघिल्लो दिन चुनाव हुने केन्द्रहरुमा भोलीपल्टै परीक्षा सञ्चालन गर्न सक्ने अवस्थै रहन्न, त्यसैले मिति सार्न बोर्डले आन्तरिक तयारी गरिरहेको छ' बोर्डका एक कर्मचारीले भने, 'तर कहिले गर्ने भन्ने बारेमा अहिल्यै भन्न सकिन्न ।'

एक महिना अघिनै हुनु पर्ने परीक्षा दोश्रो चरणको चुनाव अघिनै गर्न सकिने भएपनि बोर्डमा नियन्त्रक समेत नभएकोले झन् धेरै अन्यौल भएको छ । कक्षा १२ को परीक्षा ब्यवस्थि तगर्न नसको भन्दै यस अघिका नियन्त्रकलाई निष्कासन गरे पछि बोर्डको परीक्षा विभाग कामचलाउ रुपमा मात्रै सञ्चालन हुँदै आएको छ ।

अपडेट : राष्ट्रिय परीक्षा बोर्डले खाली रहेको परीक्षा नियन्त्रकमा डम्बरकुमार बतासलाई नियुक्त गरेको छ । नयाँ नियन्त्रकको नियुक्ति सँगै कक्षा ११ को परीक्षा सञ्चालन मुख्य चुनौती देखिएको छ । नियुक्ति सँगै उनले कक्षा ११ को परीक्षाका बारेमा पनि एडुखबरसँग कुरा गरेका छन् ।  'बल्ल कार्यभार सम्हालेको छु, के कसरी गर्ने भन्ने बारेमा बोर्डमा छलफल गरेर मात्रै औपचारिक निर्णय गर्ने छौं' नवनियुक्त नियन्त्रक बतासले भने, 'चुनाव अघि गर्न त सकिदैंन, तर पछि कहिले गर्ने भन्ने बारेमा अहिल्यै भन्न सक्ने अवस्था रहेन ।'

पुरा खबर पढ्नुहोस् : नियन्त्रकमा बतास, परीक्षाको गिर्दो शाखलाई मर्यादित बनाउन चुनौति

परीक्षाका बारेमा एक दुई दिनमै निर्णय गर्ने बोर्डका सदस्य सचिव डा. डिल्लि रिमालले बताए । 'हामी एक दुई दिनमै परीक्षा बोर्डको बैठक राखेर यसबारेमा निर्णय गर्छौ' उनले भने, 'दोश्रो चरणको निर्वाचन मितिका बारेमा निर्वाचन आयोगसँग परामर्श गर्न हामीले सचिव ज्यूलाई आग्रह गरेका छौं, उहाँले उता छलफल गरेपछि हामी बोर्ड बैठक बसेर मिति तय गर्छौ ।'

सरकारले दोश्रो चरणको चुनावको मिति घोषणा गरे पनि राजनीतिक दलहरु बिच मितिका बारेमा अझै सहमती बनिसकेको छैन । त्यसैले एक पटक निर्वाचन आयोग सँग छलफल गरेर मात्रै निर्णय गर्ने बोर्डले तयारी गरेको हो । अहिले सम्म के गर्ने भन्ने बारेमा बोर्डका पदाधिकारी नै अन्यौलमा छन् ।

यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गर्नु पर्ने भएको हो ।

कक्षा १२ को परीक्षा भने बैशाख २२ गते नै सकिएको छ  ।

प्रतिक्रिया