Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक परीक्षाका लागि आयोगको टोली सम्बन्धित क्षेत्रमा जान शुरु

मंगलबार, ३१ साउन २०७४

काठमाडौं - अस्थायी शिक्षकको परीक्षाका लागि आवश्यक सामग्री बोकेर शिक्षक सेवा आयोगको टोली सम्बन्धित क्षेत्रमा जाने क्रम शुरु भएको छ ।

परीक्षामा फेल भए पनि सुविधा पाउनु पर्ने भदौ ३ गतेका लागि तोकिएको परीक्षा सार्नु पर्ने लगायतका माग सहित आमरण अनसनमा बसेका शिक्षकका कारण परीक्षा सर्ने हो की भन्ने अन्यौल यथावत रहेका बेला आयोगले आफ्नो पूर्व निर्धारित कार्यतालिका अनुसार टोली पठाउन थालेको हो ।

पश्चिमाञ्चल क्षेत्रको लागि तोकिएको उपसचिव विरसिंह धामि नेतृत्वको टोली मंगलबार पोखरा तर्फ हिँडेको छ ।

पोखरामा बुधबार दिउँसो १ बजे जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष,  निरीक्षक, आयोगको टोली र परीक्षासँग सम्बन्धित  अन्य सरोकारवालाहरु बिच अभिमूखिकरण कार्यक्रम राखिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने समन्वय समितिको उक्त कार्यक्रमका लागि प्रजिअ तारानाथ अधिकारीको समय मिलाएरै तय गरिएको कास्किाका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले जानकारी दिए ।
सोही कार्यक्रमका लागि धामी नेतृत्वको टोली मंगलबारै हिँडेको हो ।

पोखरा आसपासका २४ वटा केन्द्रमा परीक्षा सञ्चालन हुने छ । पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका करीव ४३ सय अस्थायी शिक्षक परीक्षामा सहभागि हुँदै छन् । परीक्षा केन्द्रको अवस्था अवलोकन सहित अभिमूखिकरणको आवश्यक तयारी सकिएको ढकालले बताए ।

'विभिन्न जिल्लाबाट परीक्षार्थी शिक्षकहरु पोखरा आईसकेका छन्, हामीले परीक्षाको आवश्यक पूर्व तयारी सकिसकेका छौं' ढकालले भने, 'अब भोलीको अभिमूखिकरण पछि सबै आआफ्ना केन्द्रमा गएर परीक्षालाई मर्यादित र सफल बनाउन जुट्ने छन् ।'

यसैविच आयोगले मंगलबारै झापाका परीक्षा केन्द्रका लागि आवश्यक उत्तरपुस्तिका पठाईसकेको छ । काठमाडौं, कञ्चनपुर र बाँकेका लागि आवश्यक उत्तर पुस्तिका सहित परीक्षा सामग्री पठाउने अन्तिम तयारी भएको आयोगका एक कर्मचारीले बताए ।

यस अघि अनसनमा बसेका अस्थायी शिक्षकसँग शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितीमा लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने गरी गत असार ९ गते भएको ४ बुँदे सहमती कार्यान्वयन गर्न आन्दोलनरत अस्थायी शिक्षकको माग छ । मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको उक्त वार्ताको क्रममा औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको थियो । यसअघि परीक्षा वा सुविधा रोज्नु पर्ने ऐनमा व्यवस्था गरिएको थियो । यो सहमतिमा परीक्षामा अनुतिर्ण भएपनि सुविधा पाउने प्रावधान राखिएको छ । तर उक्त सहमतीमा भदौ ३ मा हुने परीक्षाका बारेमा केही उल्लेख गरिएको थिएन ।

सोही आधारमा आयोगले आफ्ना कार्य जारी राखेको हो । ऐनमा भएको ब्यवस्था अनुसार आफूहरुले कार्य गरेको भन्दै परीक्षा सार्ने बारे आयोगले विमती जनाउँदै आएको छ ।

'शिक्षा ऐनमा भएको ब्यवस्था अनुसार हामी परीक्षाको तयारीमा जुटेका हौं, यो पहिल्यै तोकिएको कुरा हो’ एडुखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष ताना गौतमले भने, 'यो एक दुई जनाको हितका लागि गर्न खोजिएको काम हैन, बहुसंख्यक अस्थायी शिक्षकको हितमा भएको काम हो, त्यसैले हामी हाम्रो काममा जुटिरहेका छौं ।’

शिक्षा ऐन आठौं संशोधनमै एक बर्ष भित्र परीक्षा लिने व्यवस्था गर्नु पर्ने प्रावधान अनुसार आयोगले विज्ञापन गरेको हो । सुविधा छाडेर परीक्षा रोजेका १५ हजार ६ सय ९७ जना अस्थायी शिक्षक परीक्षाको तयारीमा जुटिरहेका छन् ।

आयोगका अनुसार सुविधा त्यागेर परीक्षा रोज्ने १५ हजार ६ सय ९७ मध्ये १० हजार ४ सय ३२ जनाले प्रावि, २ हजार ७ सय ९७ निमावि र २ हजार ४ सय ६८ जना माविका अस्थायी शिक्षक छन् ।

प्रतिक्रिया