Edukhabar
मंगलबार, २५ कार्तिक २०८२
खबर/फिचर

शिक्षक महासंघ भन्छ पेशागत आन्दोलनलाई राजनीतिक संलग्नताको रुपमा नबुझ्नु

विभिन्न राजनीतिक दल निकट शिक्षक /कर्मचारी संघ संगठनहरु आवद्ध महासंघ भन्छ पेशागत आन्दोलनलाई राजनीतिक संलग्नताको रुपमा अथ्र्याउनु र बुझ्नु उचित हुँदैन ।

मंगलबार, २५ कार्तिक २०८२

काठमाडौ - राजनीतिक दल आवद्ध शिक्षक, कर्मचारी संघसंठनलाई मान्यता नदिने शिक्षामन्त्री महावीर पुनको निर्णय पछि शिक्षक कर्मचारी आवद्ध संघ संगठनले आपत्ति जनाउने क्रम जारी छ । विभिन्न राजनीतिक दल निकट शिक्षक संघ संगठनहरु आवद्ध नेपाल शिक्षक महासंघले पेशागत आन्दोलनलाई राजनीतिक संलग्नताको रुपमा अथ्र्याउनु र बुझ्नु उचित नहुने भन्दै मन्त्रीको उक्त निर्णय प्रति आपत्ति जनाएको छ ।  

महासंघ जहिले पनि पेशागत आन्दोलनमा मात्रै संलग्न भएको भन्दै अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा पेशागत आन्दोलनको संलग्नता र ट्रेड यूनियन अधिकारको उपयोगलाई राजनीतिक संलग्नताको रुपमा अथ्र्याउनु र बुझ्नु उचित नहुने उल्लेख गरिएको छ । 

'राजनीतिक संलग्नताको आवरणमा संविधान प्रदत्त श्रमिकको ट्रेड यूनियन अधिकार उपयोग माथि धावा बोल्ने वा वाधित गर्ने प्रयत्न नगर्न आग्रह गर्दै कहीँ कतैबाट यस्ता प्रयत्न भएमा नेपाली शिक्षक कर्मचारीले सहन नगर्ने कुरा समेत सम्बन्धित सबैमा जानकारी गराउछौं' विज्ञप्तिमा भनिएको छ । 

नेपाल शिक्षक महासंघ नेपाली शिक्षक कर्मचारीको हकहित प्राप्ति र संरक्षण तथा नेपालको विद्यालय शिक्षाको उन्नयनका लागि सकृय पेशागत संस्था रहेको उल्लेख गर्दै महासंघमा आवद्ध सम्वद्ध संस्थाहरु शिक्षक कर्मचारीका पेशागत मागमुद्दा र शिक्षाको विकासको पक्षमा पैरवी र पक्षीकरणका लागि खडा भएका पेशागत संस्थाहरु भएको विज्ञप्तिमा उल्लेख छ । 

यस अघि नेकपा एमाले निकट शिक्षकहरु आवद्ध नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षामन्त्रीको निर्णय प्रति आपत्ती जनाउँदै राजनीतिक अधिकारका लागि जस्तो सुकै मुल्य चुकाउन तयार रहेको धारणा सार्वजनिक गरेको थियो ।  

सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनीतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थी र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर उक्त निर्णय गरिएको मन्त्री पुनले बताएका छन् । अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार भएको स्मरण गराउँदै पुनले यस विषयमा सर्वाेच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु हेनै पनि आलोचकहरुलाई आग्रह गरेका छन् । 

यी सामग्री पनि पढ्नुहोस् : 

दल आवद्ध शिक्षक, कर्मचारी संघसङ्गगठनलाई मान्यता नदिने निर्णय 

शिक्षामन्त्रीको स्पष्टोक्ति : पार्टीको संरक्षणमा विद्यार्थी माथि खेलवाड गर्न पाईने छैन

प्रतिक्रिया