Edukhabar
आइतबार, ०८ असार २०८२
खबर/फिचर

जहाँ स्थायी शिक्षक छैनन्, त्यही विद्यालय उत्कृष्ट !

शनिबार, ०५ फागुन २०७४

काठमाडौं - विद्यालयका १० जना शिक्षक कोही पनि स्थायी छैनन्, तर त्यही विद्यालयले नमूना सामुदायिक विद्यालयको सम्मान प्राप्त गरेको छ ।

शिक्षा पत्रकार समूहले आफ्नो १८ औं बार्षिकोत्सवका अवसरमा नमूना सामुदायिक विद्यालयका रुपमा रुपन्देहीको सियारी गाउँपालिका ७ स्थित त्रिवेणी आधारभूत विद्यालयलाई सम्मानित गरेको हो ।

कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा निमावी तहमा १ राहत, प्राथमिक तहका ४ जना राहत, बालविकासका २ कार्यकर्ता र निजी श्रोतका ३ गरी १० शिक्षक कार्यरत छन् ।

'हामीले त शिक्षकले गर्नु पर्ने काम गरेका हौं' सम्मान थापे पछि मख्ख पर्दै प्रधानाध्यापक मथुरा यादवले भने 'विद्यार्थीलाई नियमित विद्यालय पठाउनु पर्छ भन्ने कुरा अभिभावकलाई बुझाउने र हामी शिक्षकले नियमति पठन पाठन गर्ने वित्तिकै विद्यालय राम्रो हुँदो रहेछ ।'

'स्थायी भएपछि हाम्रो जागिर कसले खोस्न सक्छ र !' भन्ने शिक्षकहरुको मनोविज्ञानले सार्वजनिक विद्यालयहको पठन पाठन खस्केको फेला पारेको छनौट समितिका संयोजक समेत रहेका समूहका पूर्व अध्यक्ष हरी थापाले अनुभव सुनाए ।

'अस्थायी शिक्षक मात्रै भएको विद्यालय बरु तुलनात्मक रुपमा राम्रो फेला पर्यो' उनले भने, 'यादव सरको टिमले विद्यालयको पठन पाठन सुधारमा उल्लेख्य काम गरेकोले नमूना विद्यालयका रुपमा सम्मान गर्न सिफारिस गरेका हौं ।'

विद्यार्थी संख्या, उनीहरुको सिकाइ, शिक्षकहरुको लगाव र विद्यालयको वातावरण आदी सूचकाँकका आधारमा विद्यालय नमूना भएको निष्कर्ष निकालेको समूहले जनाएको छ ।

तराईको जिल्ला भन्ने वित्तिकै सुगम ठान्ने आम बुझाईका विपरित उक्त विद्यालय भएको स्थान सामाजिक आर्थिक रुपले निकै पिछडिएको छ ।

'समुदायको अवस्था, सामाजिक परिवेश र रहन सहन हेर्नु भयो भने रुपन्देहीको रोल्पा भन्न सकिन्छ' यादवले भने, त्यस्तो ठाउँमा आफ्ना सन्तान पढाउनु पर्छ भन्ने चेतना फैलाउनु नै निकै चुनौतीपूर्ण छ । यही चुनौतीपूर्ण अवस्थामा हामीले काम गरेको देखेर होला उहाँहरुले सम्मान गर्ने निर्णय गर्नु भएछ, यसले विद्यालय सुधार्न हामीलाई थप उर्जा दिएको छ ।'

२०६२ माघ १७ गते स्थापना भएको उक्त विद्यालयमा ४ सय ६८ विद्यार्थीलाई पठन पाठन गर्दै आएका यी शिक्षकहरुलाई चन्दा सहयोग जुटाएर धानिरहेको यादव सरले बताए ।

गरी खाने अर्थात् प्राविधिक शिक्षाको पठन पाठन गर्ने गरी विद्यालयलाई १२ कक्षा सम्म पुर्याउने लक्ष्य बोकेका यादव सर विद्यालयलाई अझै गुणस्तरीय बनाउने सपना रहेको बताउँछन् ।

'गुणस्तरीय विद्यालय भनेको के हो भन्ने धेरै कुरा त थाह छैन, तर मेरा विद्यार्थी निर्धक्क गरी खाने बन्न सकुन भन्ने चाहना छ' यादव सर भन्छन् ।

कार्यक्रममा ब्यवस्थापन समितिमा रहेर सामुदायिक विद्यालय सुधारमा उल्लेख्य कार्य गरेको भन्दै कमला मावि सिन्धुलीको ब्यवस्थापन समिति सदस्य देवी खड्का पोख्रेललाई पनि सम्मान गरिएको थियो ।
आफ्ना सदस्य स्व. तीर्थराज भुषालका नाममा समूहले स्थापना गरेको तीर्थराज भुषाल स्मृती शिक्षा पत्रकारिता पुरस्कारबाट बुटवलका पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा मन्त्री धनिराम पौडेल, काँग्रेसका नेता तथा पूर्व मन्त्री गगन थापा र एमालेका नेता रविन्द्र अधिकारीले सार्वजनिक शिक्षा सुधारको विकल्प नभएको भन्दै आफूहरु त्यस तर्फ प्रतिवद्ध रहेको बताए ।

शिक्षा सचिव मधुप्रसाद रेग्मीले संघीयता संगै शिक्षा प्रशासनमा देखिएको अस्पष्टतालाई उच्च राजनीतिक तहबाट चाँडै निराकरण हुने अपेक्षा राखेको बताए । कार्यक्रमका प्रमुख अतिथी योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका सवालमा चुनौतीबाट कसरी माथि जाने भन्ने बारेमा सबै तहबाट ध्यान दिनु आवश्यक रहेको बताए ।

यो पनि पढ्नुहोस् : शिक्षा पत्रकार समूहमा सुब्बाको नेतृत्व

प्रतिक्रिया