काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीले आफ्नो सीमा नबुझेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । आफू संविधान कानून विधि र प्रकृयाका अधिनमा रहेका भन्दै ओलीले केसी सुप्रीम हुन खोजेको भन्दै शान्त स्वरमा कटाक्ष गरेका छन् ।
संसदमा शुक्रबारबाट शुरु भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाको प्रश्नको उत्तर दिदैं ओलीले हरेकले आफ्ना सीमा बझ्नु पर्ने, कानून पालना गर्नु पर्ने र संविधान कानून विधि र प्रकृयाका अधिनमा छौं भन्ने स्मरण गर्नु पर्ने बताए ।
'पृथ्वी पनि गुरुत्वाकर्षणको सिद्धान्त अनुसार सौर्य मण्डल घुम्न बाध्य छ भने हामी पनि विधि विधान तौर तरिका प्रणाली र प्रकृया भन्दा बाहिर फरक वा सुप्रीम हुन हुँदैन' ओलीले भने 'एक जना अनसन बसे पछि देशै बन्द हुने , तर्कले काम गर्ने, कानूनले काम नगर्ने ? आवश्यकताका औचित्यका मार्ग अबरुद्ध हुने ? व्यक्तिको अनसन सर्वोच्च हुने ?'
सम्पूर्ण जनताको सार्वभौम सत्ता प्रयोग गर्ने सार्वभौम संसद भउको बताउँदै ओलीले संसदको अधिकार, संसदको सार्वेच्चता, सार्वभौम जनताको अधिकार प्रति संसदको विधि निर्माणमा स्वतन्त्र रहेको भन्दै बहुमतका आधारमा विधेयक पारित गर्ने जनाउ पनि दिएका छन् । विधि निर्माणमा संसदलाई बाध्य पार्न नसकिने उनले बताए ।
'जहाँ सम्म सरकारले गरेको सम्झौताको पक्ष छ, सम्झौता सत्य निरुपण हैन. सम्झौता तत्कालिन परिस्थितीको उपज हो र त्यस परिस्थितीले निर्माण गरेको तत्कालिन आवश्यकता' ओलीले भने 'सरकारले संसदमा ऐन प्रस्तुत गरेको छ
संसदमा प्रधानमन्त्रीको बहुमत छ भन्नुको अर्थ संसदको सार्वेच्चता र गरिमालाई थिचोमिचो गर्न चाहँदैन संसदलाई आदेश दिन सक्दैन, आदेश पालना गर्छ, सरकारले गरेको सहमती संसदले कार्यान्वयन गर्छ ।'
यस अघि थापाले प्रधानमन्त्रीकै बचनले १५ औं सत्याग्रह स्थगित भएको स्मरण गराउँदै डा. केसीको ९५ प्रतिशत माग पुरा भैसक्यो केही मात्रै बाँकी हो जस्ता रकमी कुरामा, जाली कुरामा कुतर्कमा नअलमलिई संसदीय प्रकृयाबाट नै सम्झौताको हुवहु हुने गरी विधेयक पारित गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
'समितिले सहमतीको कुरा बदल्यो समितिको कुरालाई सरकारले चाह्यो भने संसदले सजिलै संग बदल्न सक्छ, यस्तो किन नगर्ने ?' प्रश्न गर्दै थापाले भनेका थिए 'विषय विधेयकको हैन संसदको प्रकृयाको हैन प्रधानमन्त्रीको बचनको हो, प्रधानमन्त्री व्यक्ति हैन संस्था हो, यहाँ चिन्ता गोविन्द केसी ढल्लान् भन्ने हैन चिन्ता प्रधानमन्त्री संस्था प्रतिको विश्वास गल्र्यामगुर्लुम ढल्ला भन्ने हो, विश्वासलाई जोगाउने की ढल्न दिने ?'
चिकित्सा शिक्षाको बेथिती विरुद्ध केसीले १० दिन अघि इलाममा सत्याग्रह शुरु गरे पनि सरकारले कुनै चासो दिएको छैन । उनको स्वास्थ्य गम्भिर भए पछि सामाजिक क्षेत्रका अगुवाको आग्रहमा उनलाई गएराति काठमाडौं ल्याईएको छ ।
पढ्नुहोस् : सत्याग्रहको ९ दिन सम्म पनि बेवास्ता, सामाजिक क्षेत्रका अगुवाको पहलमा रातारात काठमाडौं
प्रतिक्रिया