Edukhabar
शनिबार, ०३ साउन २०८२
विचार / विमर्श

प्रश्न निर्माण :  कला र सीप

परीक्षा र मूल्याङ्कन शिक्षा सुधारको एउटा साध्य र साधन बन्नुपर्छ ।

शनिबार, ०३ साउन २०८२

प्रश्न र जीवन

प्रश्नले जीवनलाई समेट्नु पर्छ । त्यति मात्र होइन प्रश्न जीवन बन्नुपर्छ र परिणाममा गतिलो उत्तर पनि ।

दार्शनिक सुकरात भन्छन् 'प्रश्न नगरिएको जीवन जीउन योग्य हुँदैन । जीवनको ऊर्जा र प्राण  हो प्रश्न ।'

त्यस्तै जोन डिबे भन्छन्  'हामी अनुभवबाट होइन, अनुभवमाथि सोचेर र प्रश्न गरेर सिक्छौँ ।'

सोचेर प्रश्न गर्नु हाम्रो मुख्य काम हो। पाउलो फ्रेरे को तर्क छ  'साँचो शिक्षा जानकारी हस्तान्तरण होइन, चेतनाको निर्माण हो – जुन प्रश्न मार्फत सम्भव हुन्छ ।'

चेतना निर्माण नै आजको मुख्य विषय हो । चेतनाको स्तरले नै व्यक्तिको असली पहिचान खुल्छ । 

बेञ्जामिन ब्लूम भन्छन्  'सही उत्तरभन्दा राम्रो प्रश्न महत्वपूर्ण हुन्छ ।'

त्यसैले हाम्रो ध्याउन्न सधैँ असल प्रश्न निर्माणमा हुनुपर्छ, भन्ने ठहर साथ यो आलेख तयार पारिएको हो । 

कस्तो हुनुपर्छ प्रश्न ?

उत्तर दिनुभन्दा एक असल प्रश्न निर्माण गर्नु कठिन हुन्छ ।

यसो भनेर प्रश्न निर्माण नगर्ने पनि कुरै हुदैँन किनकी नयाँ ज्ञानको प्रस्थान्बिन्दु भनेकै प्रश्न हो । प्रश्न नगरेको भए यी सारा ज्ञान पत्ता लाग्ने नै थिएनन् । यति धेरै सिद्धान्त र आविष्कारहरू हुने थिएनन् ।

सारा आविष्कार र खोजको जग भनेकै जिज्ञासा अर्थात असल प्रश्नहरू हुन् । सोचको आधार पनि प्रश्नहरू नै हुन् । अर्थात् प्रश्नहरू सबथोक हुन् ।

बेञ्जामिन ब्लूमले प्रश्नले के मापन गरिन्छ भन्दा पनि विद्यार्थीलाई के सोच्न लगाइन्छ भन्ने कुरामा बढी असर गर्छ, भनेका छ्न् । उनले संज्ञानात्मक  उदेश्यहरूलाई ÷प्रश्नहरूलाई ज्ञान, बुझाइ, प्रयोग, विश्लेषण, मूल्याङ्कन, सृजनमा विभाजन गरेका थिए । त्यसलाई ब्लुम टेक्सोनोमी भनिन्छ । 

वास्तवमा परीक्षा र मूल्याङ्कन शिक्षा सुधारको एउटा साध्य र साधन बन्नुपर्छ । साँचो मूल्याङ्कन भनेको यथार्थ जीवनसँग सम्बन्धित कार्यको परीक्षण गर्नु हो, केवल याद गर्न लगाउने प्रश्नहरू होइनन् भन्ने ग्राण्ट वाईगिन्सको धारणा छ । तर हामीले औपचारिक परीक्षा उत्तीर्ण गर्न यस्ता प्रश्नहरूको सामना गरिरहेकै छौँ । गर्नेपर्ने हुन्छ । जोन डेवीले परीक्षा सिकाइको अन्त्य होइन, सोच्न र आत्ममूल्याङ्कन गर्न उत्प्रेरक हुनु पर्छ भनेका छन् । अर्थात् आत्माको सत्य पत्तालगाउन प्रश्न प्रयोग हुनुपर्छ । 

विशिष्टिकरण तालिकाको प्रयोग

विशिष्टिकरण तालिकाले उपयुक्त प्रश्नपत्रको निर्माण गर्न सघाउने मात्र होइन दिशानिर्देश समेत गर्ने हुँदा प्रश्न निर्माणमा यसलाई आधार लिनुपर्छ । तर धेरै जसो प्रश्न निर्माणकर्ताहहरू तालिका प्रती अनभिज्ञता प्रकट गर्छन् र अनिच्छा पनि । एक निश्चित समयावधि भित्र पाठ्यक्रम वा उद्देश्यअनुरूप विद्यार्थीका सिकाइ उपलब्धि मूल्याङ्कन गर्न सिकाइका तहअनुरूप प्रश्नहरूका निश्चित प्रकार र सङ्ख्या, अङ्कभार, समय जस्ता महत्त्वपूर्ण कुराहरू यसमा राखिने हुँदा प्रश्नपत्र निर्माणमा मार्गदर्शन गर्छ । त्यति मात्र होइन सिकाइ उपलब्धिको मूल्याङ्कनलाई प्रभावकारी रूपमा प्रयोग गर्न समेत  यसैले सघाउँछ । बेञ्जामिन ब्लुमले भनेका छन् ः विशिष्टिकरण तालिकाले शिक्षण परिणामहरूलाई विषयवस्तु क्षेत्रहरूसँग तुलना गरेर व्यवस्थित नक्सा प्रदान गर्छ, जसले सन्तुलित र वैध मूल्याङ्कन सुनिश्चित गर्छ । 

विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्नको लागि विशिष्टिकरण तालिकामा ज्ञान, बोध, व्यावहारिक सिप तथा उच्च दक्षता मापन गर्ने गरी प्रश्नहरू तहअनुसार निर्माण गर्ने प्रक्रियाको दिशानिर्देश  हुने हुनाले पनि तालिकाको प्रयोग सही रूपमा भएमा विद्यार्थीको सिकाइ अभिवृद्धिमा सहयोग पुग्न जान्छ ।

प्रश्न निर्माणको चार तह

यसमा बेञ्जामिन ब्लुमद्वारा प्रस्तुत संज्ञानात्मक क्षेत्रका तहहरू ज्ञान, बोध, प्रयोग र उच्च दक्षता (विश्लेषण, सश्लेषण, मूल्याङ्कन अर्थात् पछिल्लो संशोधित अनुसार सिर्जना) सँग सम्बन्धित रहेर  औपचारिक परीक्षामा सोधिने प्रश्न निर्माणको कला र सीप विकासको तरीका अर्थात् प्रक्रियाको व्याख्या गरिएको छ । 

प्रश्नपत्र निर्माण गर्दा प्रश्नलाई असल, मापनीय, वस्तुगत, सान्दर्भिक, प्रयोगिक, विश्वसनीय र वैध बनाउन धेरै नै आवश्यक हुन्छ । खासगरी प्रश्नले सही ढ्ङ्गले विद्यार्थीको ज्ञान, बोध, प्रयोग र उच्च दक्षताको मूल्यांकन गर्न  सक्नुपर्छ  ।

जसको लागि प्रश्नमा निश्चित क्रियापदहरूको प्रयोग गर्नुपर्दछ ।  प्रश्नमा प्रयुक्त शब्दहरू, वाक्यहरू झुक्याउने, दोहोरो अर्थ लाग्ने तथा अल्मलाउने प्रकृतिको हुनु हुदैँन । यहाँ प्रश्नपत्र निर्माण गर्दा कुन स्तरको हो ? प्रश्न निर्माणको उद्देश्य के हो ? के को परीक्षण गर्ने  र कस्ता क्रियापद प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने कुराको सउदाहरण प्रस्तुत गरिएको छ ।

क)  ज्ञान तह 

यसमा विषयवस्तुको ज्ञानलाई जोड दिइने हुनाले त्यस अनुरूपका क्रियापदहरू राखी प्रश्न निर्माण गर्नुपर्दछ । पढेको कुरा सम्झने, घोक्ने अर्थात याद गर्ने भन्ने सँग यो सम्बन्धित हुन्छ । ज्ञान तहको प्रश्नले पुनः स्मरण गर्ने, आधारभूत तथ्य र सूचना, सुत्र, मान्यता नियम, परिभाषा , जानकारी, शब्दावली, शाश्वत कुराहरू, तिथि मिति आदिको परीक्षण गरिन्छ ।
ज्ञान तहको परीक्षणका लागि प्रश्नमा परिभाषा दिनु, पहिचान गर्नु, वर्णन  गर्नु, मापन गर्नु, सूची तयार गर्नु, भन्नु, लेख्नु, चिन्नु,नाम दिनु, रेखाङ्कन गर्नु, उल्लेख गर्नु, पुनः स्मरण गर्नु जस्ता क्रियापदहरूको प्रयोग गर्नुपर्छ ।

उदाहरण : प्रकाशसश्लेषण प्रक्रिया  भनेको के हो ?

ख) बोध तह 

कुनै पनि विषय अध्ययन गरेर, सुनेर वा पढेर बुझ्ने क्षमता वा सिप नै बोध गर्ने क्षमता हो । बोध तहको स्तरमा विद्यार्थीले निश्चित तथ्यहरू जान्ने, तिनलाई आफ्नो दिमागमा संगठित गर्ने र बुझाइलाई प्रमाणित गर्न ज्ञानलाई परिचालन गर्ने अपेक्षा गरिन्छ ।

यस्ता प्रश्नले विद्यार्थीको बोध क्षमताको परीक्षण गर्ने सक्नुपर्छ । यो तह ज्ञान तहको हासिल पछि प्राप्त हुन्छ ।

बोध तहको परीक्षणको लागि  प्रश्नको निर्माण गर्दा प्रश्नमा  अनुवाद गर्नु, छुट्याउनु, देखाउनु, छान्नु, सूचित गर्नु, रूपान्तर गर्नु, निर्णय दिनु, पुष्टि गर्नु, उदाहरण दिनु, व्याख्या गर्नु, तुलना गर्नु ,सारांश लेख्नु, अनुवाद गर्नु  जस्ता क्रियापदको प्रयोग गर्नुपर्छ ।

उदाहरण : प्रकाश संश्लेषण प्रक्रियाको महत्व देखाउनुहोस् ।

ग) प्रयोग तह 

प्रयोग तह व्यवहार र प्रयोगसँग सम्बन्धित हुन्छ । प्रयोग तह भनेकै व्यावहारिक प्रयोग हो जुन बालबालिकाले सिकेका अनुभवहरूलाई भिन्न परिस्थितिमा समेत प्रयोग गर्न सक्नु पर्छ । एउटा सन्दर्भमा सिकेको विषयवस्तुलाई मानसिक कृयाबाट संगठित र व्यवस्थित गरी नियम, सूत्र, सम्बन्ध वा सामान्यीकरणका आधारमा दिइएको सन्दर्भ अनुसार प्रयोग गर्न सक्नु पर्छ । सिकाइको स्थानान्तर गर्ने क्षमताको परीक्षण यस्ता प्रश्नले गर्दछ ।

प्रयोग तह भनेको सामान्य विचार, प्रक्रियाका नियमहरू वा सामान्यीकृत विधिहरूको अवधारणालाई विशेष र मुर्त परिस्थितिमा गरिने प्रयोग हो । यस्ता अवधारणाहरू प्राविधिक र सामान्य सिद्धान्त तथा विचारको रूपमा पनि हुन सक्छ ।
सामान्यतया, प्रयोग तहका प्रश्नमा PGMS समस्या  (P) को सही सामान्यिकरण (G) गर्दै उपयुक्त परिकल्पनाको चयन गरी सही विधि (M) प्रयोग गरेर समस्याको समाधान (S) मा पुग्नुपर्छ ।

प्रयोग तहको परीक्षणको लागि प्रश्नको निर्माण गर्दा  प्रयोग गर्नु , संगठित गर्नु , प्रदर्शन गर्नु , सम्बन्ध देखाउनु, परिक्षण गर्न, , समान्यीकरण गर्नु , स्थानान्तरण गर्नु, वर्गीकरण गर्नु , हल गर्नु , समाधान गर्नु जस्ता क्रियापदहरू प्रयोग गरिन्छ ।

उदाहरण : हरिया विरुवामा हुने प्रकाश सश्लेषण प्रक्रिया  प्रयोग द्वारा परिक्षण गर्नुहोस्  ।

घ) उच्च दक्षता तह  

यसमा ज्ञान, बोध र प्रयोग भन्दा उच्च दक्षता र व्यावहारिक समस्या समाधान गर्ने सिप र क्षमतासँग सम्बन्धित प्रश्नहरू निर्माण गर्नुपर्छ । यस तहमा ज्ञान ,बोध र प्रयोग पछि हासिल हुने सिप तथा क्षमताहरूको परीक्षणको लागि प्रश्नहरू निर्माण गर्नुपर्छ । विशिष्टिकृत तथा नयाँ परिस्थितिमा वा सन्दर्भमा ज्ञानको प्रयोग गर्ने, नयाँ तथा सिर्जनात्मक विचार दिनसक्ने क्षमताको परीक्षण गर्न उच्च दक्षताको प्रश्न सोधिन्छ ।  यसमा प्रश्न निर्माण कर्ताले विश्लेषण ,संश्लेषण र मूल्याङ्कन अर्थात्  सिर्जना सम्बन्धि  प्रश्नहरू निर्माण गर्नुपर्छ । कुनै पनि संगठित विषयवस्तुलाई त्यसका विभिन्न खण्डमा विभाजन गर्न वा खण्ड खण्डमा रहेको विषयवस्तुलाइ एकीकृत गर्न सक्ने र समस्याको समाधान मात्र नभइ त्यसको प्रभाव मूल्याङ्कन गरी तुलना, विश्लेषण, रचना तथा निष्कर्ष निकाल्न सक्ने क्षमता र जीवनसँग जोड्ने सीप नै उच्च दक्षता अन्तर्गत पर्दछ ।

सन्दर्भ (Context ), अवधारणा (Concept ), योग (Connection), सञ्चार (Communication), तुलना (Compare), फरक (Contrast),  गणना (Compute ) , समालोचना (Criticize), गर्दै सिर्जना (Creation) गरी निष्कर्ष (Conclude)  निकाल्ने क्षमता (Capacity ) उच्च दक्षता अन्तर्गत पर्दछ ।

खासमा कुनै पनि दुई वा दुईभन्दा बढी सम्बन्ध बीच परिकल्पना, प्रमाण वा निष्कर्ष निकाल्न, तार्किक विचारहरूको पहिचान, कारण र प्रभाव मूल्याकंन गर्न र सम्बन्ध तथा क्रमहरू बीचको भिन्नता समानता पत्ता लगाउन यस्ता प्रश्नले सक्नुपर्छ ।

उच्च दक्षताको परिक्षणको लागि प्रश्न निर्माण गर्दा प्रतिपाद गर्नु, परिवर्तन गर्नु, संगठन गर्नु, प्रदर्शन गर्नु, खोज गर्नु, सुधार गर्नु, व्याख्या गर्नु, तयार गर्नु,योजना बनाउनु, सम्बन्ध देखाउनु, समाधान गर्नु, विभाजन गर्नु, फरक देखाउनु, तुलना गर्नु,एकीकृत गर्नु,छनोट गर्नु, विस्तार गर्नु, निर्माण गर्नु, पुनर्लेखन गर्नु, सारांश लेख्नु, विवेचना गर्नु, आलोचना गर्नु, विश्लेषण गर्नु, समीक्षा गर्नु, पुष्टि गर्नु, मूल्याङ्कन गर्नु, छलफल गर्नु, चित्र बनाउनु, सिर्जना गर्नु , निर्देशन गर्नु, जस्ता उच्च तहका क्रियापदहरू प्रयोग गरिन्छ ।

उदाहरण : प्रकाश सश्लेषण प्रक्रिया बन्द हुँदा मानव जीवनमा हुने परिवर्तन विश्लेषण गर्नुहोस् ।

अर्थात्  मानव जीवनमा प्रकाश सश्लेषण प्रक्रियाको महत्व मूल्याङ्कन गर्नुहोस् ।

यहाँ कतिपय अवस्थामा एउटै क्रियापद धेरै तहमा प्रस्तुत  भएको छ । त्यो क्रियापदले विभिन्न स्तरहरुलाई निर्धारण गर्छ जस्तो कि व्याख्या गर्नु, फरक देखाउनु भन्ने जस्ता क्रियापद बोध, प्रयोग र उच्च दक्षता तिनै तहमा हुनसक्छन् । यहाँ  सामान्य तथा गहिराइको अर्थमा प्रयुक्त भएको हुनुपर्छ । तल्लो तहको कक्षामा प्रयोग तहको प्रश्न माथिल्लो तहको कक्षामा बोध मात्र पनि हुनसक्छ । सानो कक्षामा बोध भएको प्रश्न ठूलो कक्षामा ज्ञान हुन सक्छ भने सानो कक्षामा उच्च दक्षता भएको प्रश्न  माथिल्लो कक्षाको लागि प्रयोग मात्र पनि हुनसक्छ ।

धेरै जसो शिक्षकहरूले उच्च दक्षताको एक अङ्कभार भएको प्रश्न निर्माण गर्न कठिन भएको महसुस गर्नुभएको हुनसक्छ । मूल सन्दर्भको प्रश्नबाट उप प्रश्नहरू ज्ञान, बोध, प्रयोग हुँदै आएको अवस्थामा त्यही लिङ्क गरी उच्च दक्षताको प्रश्न सोध्न सकिन्छ ।  यदि मूल प्रश्न कै रुपमा सोध्नुपर्ने भएमा जस्तो कि प्रकाश संश्लेषण प्रक्रिया र मानव जीवनको सम्बन्धलाई एक वाक्यमा स्पष्ट गर्नुहोस् भन्ने प्रकारले पनि प्रश्न निर्माण गर्न सकिन्छ ।
अर्थात् यहाँ सजिलैसँग बुझ्नको लागि एक एक अंकभारका चारै तहका नमूना  प्रश्न निर्माण गरिएको छ।

ज्ञान तह : जीवनोपयोगी सीप भनेको के हो ?

बोध तह : जीवनोपयोगी सिपको एउटा महत्त्व लेख्नुहोस् ।

प्रयोग तह : दैनिक जीवनमा जीवनोपयोगी सिपको एउटा प्रयोग लेख्नुहोस् ।

उच्च दक्षता तह : दैनिक जीवनमा जीवनोपयोगी सिपको आवश्यकतालाई एक वाक्यमा स्पष्ट गर्नुहोस् ।

प्रश्नहरू केवल स्मरणको लागि नभई विद्यार्थीको बुझाइ, प्रयोग, विश्लेषण, मूल्याङ्कन र सिर्जनात्मक क्षमताको परीक्षण गर्नका लागि हुनुपर्छ ।

निष्कर्ष

प्रश्न निर्माण एउटा सिर्जनात्मक कला र वैज्ञानिक सीप हो, जसले विद्यार्थीको वास्तविक सिकाइ स्तर मूल्याङ्कन गर्न मद्दत गर्दछ । यस प्रक्रियामा विशिष्टिकरण तालिका, प्रश्न म्याट्रीक्स, रूजु शुचि आदिले मार्ग दर्शकको रूपमा कार्य गर्छन् ।

सिकाइका चार तहहरू : ज्ञान, बोध, प्रयोग र उच्च दक्षता परीक्षणको लागि उपयुक्त क्रियापदहरू प्रयोग गरी मापनीय, वस्तुगत, वैध र सन्तुलित प्रश्नहरू निर्माण गर्न सकेमा मूल्याङ्कन प्रभावकारी हुन्छ । ज्ञान तहको प्रश्नले सिकेको कुरा स्मरण गरी उत्तर दिने, बोध तहको प्रश्नले सिकेको ज्ञानलाई संगठित गरी आफ्नो बुझाई प्रस्तुत गर्ने, प्रयोग तहको प्रश्नले आफूले सिकेको ज्ञान र बोधको प्रयोग गरेर समस्या समाधान गर्ने र उच्च दक्षताले विशिष्टिकृत  तथा नयाँ परिस्थिति अर्थात् सन्दर्भमा ज्ञानको प्रयोग गर्ने क्षमताको परीक्षण गर्ने कला तथा सिपको अपेक्षा राख्दछ्न् ।

यसैले आजैदेखि प्रत्येक शिक्षकले सिकाइको गुणस्तर वृद्धि गर्न र सिकाइ उपलब्धि मापनका लागि विशिष्टिकरण तालिका र सिकाइका तहहरू सम्बन्धि गहिरो समझ तथा सीप विकास गरेर प्रश्न निर्माणको कला र सीपमा दक्ष हुनु अत्यावश्यक  छ ।

पाण्डे, श्री सुनपकुवा माध्यामिक विद्यालय उर्लाबारी –०२, मोरङका शिक्षक हुन् । 

प्रतिक्रिया