सम्माननीय राष्ट्रपतिज्यू,
२०७२ को संविधानले हजूरलाई सांसदहरुसँग सर्वसम्मत एकजना जेन जी उमेर समूहको प्रधानमन्त्रीको उमेद्वार देउ भन्ने अधिकार छ । त्यति पनि गर्न सक्दैनौ भने संसद भंग गरिदिन्छु भनि दिनुस् । त्यति भए हजूरले संसद बचाउनु हुन्छ । संविधान बचाउनु हुन्छ । सडकबाट प्रधानमन्त्री छान्ने बाटो दिनुहुन्छ ।
माननीय दलका शीर्षस्थ नेताज्यूहरु,
देशका हर ब्यक्तिलाई दलमुखी बनाउने काम गरेर हजूरहरुले विष रोप्नु भएको थियो । त्यो विषवृक्षले गर्दा नेपालीहरु मोजाइक बनेनौं । यो अपराध स्वीकार्नुस् । आन्दोलनमा तोडफोड तथा आगजनी गर्ने गराउने काम हजूरहरुले सिकाउनु भयो । अहिलेको तोडफोड त्यसैको परिणति हो भन्ने कुरा पनि स्वीकार्नुस् । स्वस्फूर्त गैरदलीय जेन जीले नगरेको भए पनि अर्का जेन जीले नैं गरे । आगलागी तथा तोडफोडमा मौन, एक्स, वाई पुस्ता थिएनन् भन्ने कुरा फुटेजले नै भन्छ । यस्तोबेलामा राजनीतिक रुपले ठीक (पोलिटिकल्ली करेक्ट) बन्ने बानी छोडिदिनुस् । स्वीकार्नुस् यो सबै काम हजूरहरुले सिकाएको ध्वंशकै परिणति हो । यसबाट बचाउनका लागि आआफ्ना दलका सांसदहरुलाई तर, अनि, हैन एकस्वरले जेन जी उमेर समूहको एउटा संभाब्य सांसदलाई प्रधानमन्त्री बनाउन ह्वीप जारी गर्नुस् ।
तत्कालीन राजा ज्ञानेन्द्रसँग ५ वुँदे सझौता गरिएको थियो भन्ने कुरा साँचो हो भने त्यो कुरा जनमानसमा ल्याउनुस् । २०४७ को संविधान लागु गर्नका लागि बाटो खोल्नुस् । राजालाई पनि सांस्कृतिक वा संवैधानिक राजा बनाउनुस् । तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि भन्नुस् हामीसँग गरेको संझौता जनतालाई देखाउनुस् ।
माननीय सांसदज्यूहरु,
हजूरहरु देशको बन्ने कि दलको ? देशको बन्ने भए आजै भच्र्यूयल संवाद गरेर सर्बसम्मत गरेर जेन जी समूहको एकजना सांसदलाई प्रधानमन्त्रीको सिफारिस गर्नुस् । सम्माननीय राष्ट्रपतिलाई त्यसको जानकारी दिनुस् । दलकै नेताको इसारा कुर्नुहुन्छ भने तिनकै नियति भोग्न तयार हुनुस् । अथवा राजिनामा गरेर सांसदबाट जनता बनिदिनुस् ।
परिवर्तन उन्मुख जेन जीहरु,
हजूरहरुको आँट, र वलिदानले देशमा परिवर्तनको आशा देखिएको छ । यसका लागि करजोरी नमन छ । सहादत भएका युवामा हार्दिक श्रद्धाञ्जली छ । घाइते तथा विरामीमा शीघ्रस्वास्थ्यलाभको कामना छ । शोकसंन्तप्त परिवारमा समानुभूति छ । त्यति हुँदा हुँदै पनि देशमा संविधान छ । त्यसको जगमा टेकेरै समाधानको बाटो खोज्ने कुरा मात्रै गरिदिनुस् । २०७२ को संविधानमा टेक्ने भए पनि । २०४७ को संविधानमा टेक्ने भए पनि । सडकबाटै प्रधानमन्त्री यो हुनुपर्छ भन्ने भए पनि । दलमा बाँडिएर हाल शुरु भएको दलीय जेन जी अभ्यास बन्द गरिदिनुस् ।
भरोषाका धरोहर शैनिक महानुभावहरु,
हजूरहरुको हिम्मतले सधैं अशान्त नेपाल शान्त भएको छ । दलका शीर्षस्थ नेताहरु सुरक्षित छन । परिवर्तनमुखी जेन जीहरुसँग हजूरहरुको सौहार्दपूर्ण सम्वन्ध छ । यस निम्ति हजूरहरुमा करजोरी नमन गर्छाैं । हजूरहरुले पनि २०७२ को संविधान टेक्ने कि २०४७ को संविधान टेक्ने ? स्पष्ट अडान सार्वजनिक गरिदिनुस् । किनभने शैनिक शासनमा हजूरहरुको पनि विश्वास छैन भन्ने कुरा सबै नेपालीले राम्ररी बुझेका छौं । हजूरहरुले २०३६, २०४६, २०६२÷६३ को आन्दोलनमा यो नजीर देखाइसक्नु भएको छ ।
माननीय संविधानविद् तथा न्यायाधीशहरु,
देशलाई संकट पर्दा एउटै बोली बोलेर सबैलाई संवैधानिक निकास दिने काम गरिदिनुस् । बेलाबेलामा हजूहहरुले देखाएको दलीय भक्ति अब हामी चाहन्नौं । एउटै मुद्धामा भिन्नाभिन्नै निर्णय दिने अभ्यास अब खेप्तैनौं । सर्बसम्मत उपाय निकाली कानूनी उल्झनबाट अहिलेको संकट टार्ने प्रवन्धका लागि सांसद, राष्ट्रपति, तथा शैनिकहरुलाई एकमुखले सुझाव दिनुस् ।
धृष्टताका लागि क्षमा माग्दै विदा हुन्छु ।
प्रतिक्रिया