काठमाडौं - प्रारम्भिक बालविकास केन्द्र (ईसीईडी) लाई प्राथमिकतामा राखेर काठमाडौं महानगरपालिकाले शिक्षा बजेट तर्जुमा गरेको छ । सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बालविकास केन्द्र (ईसीईडी)लाई थप गुणस्तरीय बनाउने आइतबार बसेको नगरसभाको १७ औं अधिवेशनमा नगर प्रमुख बालेन्द्र शाहले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
'बालबालिकाको समग्र विकासका लागि प्रत्येक सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बालविकास केन्द्र स्थापना गरिने छ' नीति तथा कार्यक्रम पेश गर्दै शाहले भने 'बालापनको रक्षा भविष्यको सुरक्षा कार्यक्रम मार्फत् बाल संरक्षण प्रणालीको स्थापना गरी बाल अधिकारको सुनिश्चितता गर्ने, हिंसामा परेका र संरक्षण आवश्यक भएका बालबालिकाका निमित्त अस्थायी केन्द्र निर्माण गरिने छ ।'
महानगर भित्र ८७ वटा सामुदायिक विद्यालय छन् । जेलमा रहेका तीनवटा विद्यालय बाहेकका सबै विद्यालयमा प्रारम्भिक बाल कक्षा सञ्चालनमा रहेको महानगर शिक्षा शाखासँग तथ्यांङ छ । यी केन्द्रका लागि संघीय अनुदानबाट जम्मा ९३ जना सहयोगीको कोटा उपलब्ध हुँदै आएको छ । यसले धेरै संख्या भएका विद्यालयका कक्षा सञ्चालन प्रभावकारिता नभएको ठहर गर्दै महानगरले आफ्नै श्रोतबाट थप एक सय १३ जना सहयोगी नियुक्त गरेको छ । केही विद्यालयका प्रारम्भिक बाल कक्षामा तीन सय जना सम्म बालबालिका रहेको महानगर शिक्षा शाखासँग तथ्यांङ्क छ ।
विद्यालय शिक्षा सुधार गर्ने हो भने प्रारम्भिक कक्षा देखि नै लगानी र उचित व्यवस्थापन गर्नु पर्ने विभिन्न अध्ययनहरुले निष्कर्श निकालेका छन् । प्रायः कक्षा १० मा पुगे पछि मात्रै ध्यान दिने क्रमका कारण बालबालिकाको सिकाइ दिगो नभएको भन्दै आलोचना भईरहेका बेला देश कै राजधानी रहेको पालिकाले प्रारम्भिक बाल शिक्षालाई नै प्राथमिकतामा राखेको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शााहले समुन्नत र सभ्य समाज निर्माणका लागि आवश्यक कार्य गर्ने बताउँदै सामुदायिक विद्यालयमा स्पोर्टस एकेडेमी, डिजिटल कक्षा, स्टिम शिक्षा र उद्यमशीलता क्लब स्थापना गर्ने नीति घोषणा गरेका छन् । साथै अपागंता, अटिज्म र फरक क्षमता भएका विद्यार्थीका लागि विशेष संरक्षण केन्द्र र पहुँच अनुकुल पुर्वाधार निर्माण गरिने बताउँदै उनले समग्र शैक्षिक सुधारका कार्यक्रम ल्याईने बताए ।
सार्वजनिक पुस्तकालय र खुला अध्ययन केन्द्र स्थापना गरिने नीति उल्लेख गर्दै उनले बालबालिकाको स्वास्थ्य र पोषणलाई प्रथामिकता दिदैं पोषण युक्त आहारको नियमित व्यवस्था, शिक्षक क्षमता अभिवृद्धि बाल मैत्री पुर्वाधार निर्माण, अभिभावक सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालनमा ल्याईने बताए ।
त्यस लगत्तै नगर उप प्रमुख सुनिता डंगोलले नगरसभामा बजेट पेश गर्दै बजेटले विद्यालय शिक्षा प्रणाली सुधारलाई प्राथमिकता दिएको उल्लेख गरिन् । उनले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैंयाको बजेट नगरसभा बैठकमा पेश गरेकी थिईन् ।
बजेट प्रस्तुत गर्नु अघि नगर उप प्रमुख डंगोलले समयमै नीति तथा कार्यक्रम पेश गर्न नसकेकोमा क्षमा यचना गरिन् । महानगरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नगर प्रमुख शाह बिच काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृतिको विषयले बढाएको चिसो सम्बन्धका कारण असार १० गते सार्वजनिक गर्नु पर्ने बजेट आईतबार बल्ल सार्वजनिक गरिएको हो । गुरागाईंमाथि प्रक्रिया नै पूरा नगरी उक्त टावर निर्माणको नक्सा स्वीकृत गरिदिएको आरोप छ । तर प्रमुख शाहको दावी विपरित संघीय सरकारको प्रभावमा गुरागाईंले महानगरको जिम्मेवारी नछाडेको शाहको बुझाई छ । स्थानीय र संघीय सरकारको आआफ्नो अडानका कारण महानगरको बजेट १९ दिन पछि बल्ल सार्वजनिक भएको हो ।
नगर प्रमुख र प्रशासकीय अधिकृत बिचको असहज सम्बन्धकै कारण गत शुक्रबार बसेको ४० औं कार्यपालिका बैठकले बल्ल बजेट ल्याउने निर्णय गरेको थियो ।
आगामी असार ३२ गते बस्ने नगर सभा बैठकले गत बर्षका प्रगाति समीक्षा एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तय गरिएको छ ।
प्रतिक्रिया