Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
खबर/फिचर

प्रवेश परीक्षा पास त भएँ तर, पढ्न लाग्ने खर्च छैन !

विश्व एड्स दिवसका सन्दर्भमा एचआइभी संक्रमित प्रकाशको सफलताको कथा ...

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौ - दाङको बबहीमा जन्मिए । सल्यानको रानीकोट स्थित मामा घरमा बसेर साँवा अक्षर चिने । दाङबाट सल्यान जानुको कारण थियो–बुबा आमा दुबै एचआइभी एड्सले मृत्यु भएपछि मामा घरमा आश्रय !

मामाघरमा उनीहरुले आश्रय मात्रै होइन, पढ्ने मौका पनि पाए । बुबा भारतबाट फर्कंदा एचआइभी संक्रमित भएपछि जन्मिएका प्रकाश र मञ्जु भण्डारी (उनीहरुले आफ्नो पहिचान खुलाइदिन आग्रह गरेकोले नाम राखिएको हो) सल्यानको विद्यालयमा जाने थाले । 

विद्यालयमा खेल्दा प्रकाशको दाहिने खुट्टा भाँचियो । आाफन्तले उपचारको लागि नेपालगञ्ज लगे । त्यही बेला रगत परिक्षण गर्दा थाहा भयो–उनी पनि एचआइभी संक्रमित रहेछन् । उनको उपचार त भयो । तर, परिक्षण पछि खुलेको उनको पहिचानले परिवार र टोलछिमेकबाट पर बनायो । यतिसम्म विभेद भयो कि एचआइभी संक्रमित भन्ने थाहा पाएपछि टोलमा कसैको नजिक आयो भने ढुङगाले हानेर भगाउन समेत थाले । 

‘एक दिन त यसरी हानेको ढुङगाले बहिनीको निधारमा लाग्यो । अहिले पनि खत बाँकी छ’ प्रकाशले भने । दाजु बहिनी दुई वर्षको फरक छ । बुबाबाट आमामा सरेको एचआइभीले आमा बुबा त बिते । उनीहरुको बिचल्लीको समाचार छापिए पछि दाङका राजकुमार पुन र काठमाडौका उमा गुरुङको साथ पाए । प्रकाश र मञ्जुलाई आमा बुबा र आफन्तको माया कस्तो हुन्छ थाहा छैन तर, हुर्काउने, पढाउने पुन र गुरुङलाई भेटेपछि दोस्रो जीवन पाएकोमा भाग्यमानी ठान्छन् । त्यसैले प्रकाश र मञ्जुले राजुलाई ड्याडी र गुरुङलाई ममी भनेरै सम्बोधन गर्छन् । ‘उहाँहरुले हामीलाई जन्म नदिए पनि कर्म लिने ड्याडी ममी हुनुहुन्छ । हामीलाई जन्म नदिएर के भो त हाम्रो लालन पालन र राम्रो शिक्षा दिनु भएको छ’ प्रकाशले भने । 

उनले १२ कक्षा सके । डाक्टर बन्ने सानै देखिको सपना पुरा गर्ने अर्को क्षेत्रमा लाग्ने दोबाटोमा उनी छन् । चिकित्सा शिक्षा आयोगले यसपाली लिएको एमबीबीएसको प्रवेश परीक्षामा ६५.२५ प्रतिशत ल्याएर पास त भए । तर, छात्रबृतिमा पढ्ने अवसर पाएनन् । पैसा तिरेर स्वदेश र विदेशमा पढ्ने ढोका भने खुल्लै छ । 

‘डाक्टर बन्ने सपना देखेको थिएँ । ढोका पार गरेँ, तर, पढ्न लाग्ने खर्च छैन’ उनी भन्छन ‘हामीलाई हुर्काउने पढाउने ड्याडी ममी पनि पैसा तिरेर पढाउन सक्नु हुन्न । सबैको सहयोग पाए भने मैले एमबीबीएस पढ्न पाउने छु ।’ 

डाक्टर बनेर  एचआइभी संक्रमितहरुकै उपचारमा खटिने उनको लक्ष्य छ । ‘संक्रमित हुने बित्तिकै मरिन्छ । एकबाट अर्को व्यक्तिमा सर्छ भन्ने जुन हाउगुजी छ, यसलाई चिर्नु छ । आफुले गरेको मेहनत र उपलब्धी संक्रमितहरुलाई साट्नु छ त्यसैले पनि मैले एबीबीएस पढ्न चाहेको हुँ’ उनले भने । संक्रमितले जस्तो सुकै विषय पनि पढ्न सक्छन् भन्ने देखाउन पनि आफुले एमबीबीएस अध्ययन गर्न चाहेको उनले बताए । ‘पैसाको जोहो भयो भने स्वदेश वा विदेश जहाँ भएपनि पढ्न चाहन्छु’ उनले भने, ‘सहयोगी दाताको खोजी गरेका छौ ।’ 

०००

१२ कक्षा सकिए पछि एमबीबीएसको प्रवेश परीक्षा दिनकै लागि नागरिकता बनाउन उनी जन्मथलो दाङ गए । ‘हामी जीवितै भएकोमा आफन्तहरु आश्चर्यमा परे । बुबाको नामको सम्पति खोज्दा बुबाले त्यो बेलै बिक्रि गरिसकेको बताए । हामीले अरु केही भनेनौँ नागरिकता बनाइदिनुस् भन्यौँ । बहिनी र मेरो नागरिकता बनाएर फर्कियाँै’ प्रकाशले भने । 

मञ्जु अहिले १२ कक्षामा पढ्दै छिन् । सात वर्षको हुँदा उनीहरु गाँउ छाडेर हिडेका थिए । 

‘सबैले विभेद गर्न गर्न थालेपछि हामी गाँउ छाडेर काठमाडौ आयौँ । हामी संक्रमित हौँ भन्ने पहिला परिवारमा थाहा भयो । छिमेकीले थाहा पाए । त्यस पछि त खेल्ने बेलामा हामी एक्लै भयौँ । अरुले हामीलाई हेर्दै कानेखुसी गर्न थाले’ २२ बर्षिय प्रकाशले भने ‘हामीले पाएको दुःखको बारेमा समाचार आएपछि हामीलाई ड्याडी ममीले उद्धार गरेर ल्याउनु भएको हो ।’ त्यसबेला बहिनी ५ वर्षकी थिइन् । अहिले १८ वर्षकी भइन । उनी १२ कक्षामा पढ्छिन् । १२ कक्षासम्म पढ्दा उनले आफु संक्रमित भएको खुलेनन् । 

‘सानोमा काठमाडौ ल्याएपछि विद्यालय भर्ना नलिएको हामीलाई थाहा थियो । त्यसैले हाम्रो लागि ड्याडी ममीले छुटटै स्कूल खोल्नु भयो’ प्रकाशले भने ‘१२ कक्षासम्म पढ्दा प्रिन्सिपल सरलाई थाहा थियो । अरुलाई हामी संक्रमित हौँ भन्ने थाहा थिएन । हामीले भनेनौँ किनभने हामी माथि विभेद हुन सक्थ्यो ।’ 

प्रकाशसंगै बैतडीको मञ्जु चन्द, दाङका बिरबहादुर खड्काले पनि १२ कक्षा सकाए । बिरबहादुर गाउँ फर्किए तर, प्रकाशले गाउँमा टिक्ने बाटै देखेनन् । 

‘अब जे गर्छु संक्रमितको लागि गर्ने हो । सकेसम्म एमबीबीएस पढ्छु नभए पनि बीएस्सी पढेर केही गर्छु,’उनले भने । 

राजकुमार र उमाले एचआइभी संक्रमित प्रकाश र मज्जु जस्तै २७ जनालाई हुर्काउन बेबी लाइफ होम सञ्चालन गरेका छन् । उनीहरु एचआइभी सफलता शिक्षा सदनमै १० कक्षामा पढ्छन । त्यस भन्दा माथिल्लो कक्षा पढ्न मात्रै अन्यत्र जान्छन् । १२ कक्षा पास भएसंगै प्रकाश सफलता एचआइभी स्कूलको नौ कक्षासम्मका शिक्षक पनि हुन् । उनी बढेसंगै राजु र उमालाई पनि शिक्षकलाई दिनु पर्ने तलबको केही भार कम भएको छ । विद्यालयमा पढाउन अर्को शिक्षक खोज्नु पर्ने र आर्थिक बोझ पनि कम भएको छ । 

००० 

प्रकाश हरेक दिन एक चक्की एआरटी खान्छन् । नियमित स्वास्थ्य जाँच गराउँछन् । स्वास्थ्यमा कुनै समस्या नभएको उनले बताए । संक्रमित भए भन्दैमा चिन्ता गर्ने, बेलैमा स्वास्थ्य उपचार नगराउने, औषधि नखाने हो भने रोगले थप गाँज्ने उनको बुझाई छ  । 

‘हामी अस्पतालमा जाँदा देख्छौ । कतिपयले ओपिटी कार्ड अस्पतालमै छाडेर जान्छन् । समाजले थाहा पाउँछन् र छिछि दुरदुर गर्छन् भन्ने चिन्ता हुन्छ’ उनले भने । 

- हरेक बर्ष डिसेम्बर १ का दिन मनाईने विश्व एड्स दिवस शुक्रबार विभिन्न कार्यक्रम साथ विश्वभर मनाईदैं छ । ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ दिवस मनाइँदैछ - सं. 

प्रतिक्रिया