काठमाडौ - भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्ध जेन जीले सुरु गरेको विद्रोह भड्किएर भएको असामान्य अवस्थाका कारण बन्द भएको शैक्षिक गतिविधि विस्तारै लयमा फर्कदैं छ । गत भदौ २३ बाट शुरु भएको विद्रोह पछि शैक्षिक संस्थाहरु बन्द गरिएका थिए । आईतबारबाट विद्यालयहरु खुलेका छन् । कतिपय विद्यालयले अनलाईनबाट आफ्ना विद्यार्थीलाई 'काउन्सिलिगं' पनि गरेका छन् । आईतबार विद्यालयमा आएका विद्यार्थीसँग शिक्षकहरुले गफगाफ गरेर बालबालिकाको मन भुलाउँदै छन् ।
सोमबारबाट शैक्षिक गतिविधि नियमित गर्ने अधिकाँश विद्यालयहरुको तयारी छ । अधिकाँश स्थानीय सरकारहरुले पनि विद्यालय खोल्न र शैक्षिक गतिविधि शुरु गर्न परिपत्र गरिसकेका छन् । निजी विद्यालय सञ्चालकहरुका संगठनहरुले पनि शैक्षिक कृयाकलाप नियमति गर्न आह्वान गरिसकेका छन् ।
तर, विभिन्न विश्वविद्यालयहरुले भने अब छठ पछि मात्रै पठनपाठन शुरु गर्ने निर्णय गरेका छन् । विद्यार्थी, शिक्षक तथा कर्मचारी आवतजावतमा असहज देखिएको भन्दै विश्वविद्यालयहरुले यस्तो निर्णय गरेका हुन् । पूर्व प्रकाशित परीक्षा तथा अन्य परीक्षा सञ्चालनका लागि विश्वविद्यालको पठनपाठन सुचारु भएपछि मात्र सूचना प्रकाशन गर्ने विश्वविद्यालयहरुले जनाएका छन् ।
जेन जी विद्रोहमा ज्यान गुमाउनेहरुको संख्या अहिले सम्म ७२ पुगिसकेको छ । उक्त विद्रोह भड्किएर भएको विध्वंस पछि छिरेको हुलले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन सहित अन्य सार्वजनिक सम्पत्ति र दलका कार्यालय सहित नेताहरुका घरमा समेत आगजनी गरेको थियो । दलका नेताहरु संलग्न भएका वा उनीहरुको लगानी रहेका निजी विद्यालयमा पनि उक्त भिडले आक्रमण गरेर क्षती पुर्याएको थियो ।
सोही विद्रोहको जगमा मुलुकमा नयाँ सरकार गठन भएको छ । विद्रोहको पाँच दिन पछि, शुक्रबार अबेर सुशीला कार्कीले प्रधानमन्त्रीको पद सम्हालेसँगै जनवीवन विस्तारै सामान्य अवस्था तिर फर्किएको छ । संसद बिघटन भएको छ । आउँदो फागुन २१ गते मध्यावधि निर्वाचनको मिति तय भएको छ ।
प्रतिक्रिया