Edukhabar
सोमबार, ३१ भदौ २०८१
खबर/फिचर

शिक्षकको दवाव पछि सत्ताधारी दलका सांसद प्रष्टिकरण दिन वाध्य !

संसदीय समितिमा सांसद ढकालले बोलेको ‘एक पटक शिक्षक सेवा आयोगको परीक्षा पास गरे पछि सँधै शिक्षक हुने व्यवस्था बदल्नु पर्ने’ तर्कको भिडियो सहित

शनिबार, १९ साउन २०८१

काठमाडौं - राजनीतिक दल आवद्ध शिक्षकहरुको दवावका कारण सत्ताधारी दल नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले आफ्नो अभिव्यक्ति माथि प्रष्टिकरण दिएका छन् । गत साउन नौ गते संसदीय समितिमा भएको विद्यालय शिक्षा विधेयक माथिको छलफलमा ढकालले ‘एक पटक शिक्षक सेवा आयोगको परीक्षा पास गरे पछि सँधै शिक्षक हुने व्यवस्था बदल्नु पर्ने’ तर्क गरेका थिए । शिक्षकलाई सेवामा राख्ने नराख्ने विषय विद्यार्थीको नतिजाका आधारमा तय गर्नु पर्ने उनको तर्क थियो । 

उनको उक्त अभिव्यक्ति सार्वजनिक भए पछि राजनीतिक दल आवद्ध शिक्षकहरुले व्यापक विरोध गरेका थिए । सामाजिक सञ्जालमा उनी माथि शिक्षकहरु व्यक्तिगत आक्षेपमै उत्रन थाले पछि शनिबार एक विज्ञप्ति निकालेर प्रष्टिकरण दिन उनी वाध्य भएका हुन् । उनी माथि शिक्षकहरुको कुन हद सम्म दवाव थियो भन्ने कुरा उनले जारी गरेको विज्ञप्तिमा उल्लेख तथ्यबाट पनि प्रष्ट हुन्छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन नौ गते बुधबार बसेको बैठकमा उनले उक्त अभिव्यक्ति दिएका थिए । 

पढ्नुहोस् : एक पटक आयोग पास हुँदैमा सधैँ शिक्षक हुने व्यवस्था गलत

तर, शनिबार जारी विज्ञप्तिमा ‘सात गतेको छलफल’ उल्लेख गरिएको छ । यसबाट पनि उनीमाथि शिक्षकहरुको दवाव कुन हद सम्म थियो भन्ने प्रष्ट हुन्छ । 

‘शिक्षा समितिमा अभिव्यक्त भनाईहरु समस्त शिक्षक वर्गलाई अपमानित गर्ने नियत नभई यस्ता समस्या विद्यालयमा सिर्जना भएको अवस्थालाई समेत नयाँ शिक्षा ऐनले सम्वोधन गर्नु पर्छ भन्ने आशय मात्रै भएको स्पष्ट पार्न चाहन्छु’ उनले विज्ञप्तिमा भनेका छन् । 

आफ्नो भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको समेत उनले विज्ञप्तिमा लेखेका छन् । 

आफूले बोलेको कुरा प्रति शिक्षकहरुको आपत्ति आयो त्यसैले विज्ञप्ति निकालेको उनले बताएका छन् । 

mp

'मैले संसदीय समितिमा पनि शिक्षकको मर्यादा राखेरै बोलेको थिएँ, तर त्यसमा शिक्षकहरुले आपत्ति जनाउनु भयो त्यसैले विज्ञप्ति निकालेको हुँ' उनले एडुखबरसँग भने 'तपाईहरुलाई के के लेख्दा हुन्छ भन्नुहोस् त्यही लेख्छु भनेको थिएँ, विज्ञप्ति निकाल्नुस् भन्नु भयो अनी निकालेँ ।' 

संसदीय समितिको छलफलमा सांसद ढकालले शिक्षक प्राध्यापकहरुको परीक्षा पाँच पाँच बर्षमा लिने र एक पटक आयोग पास गरे पछि आजिवन शिक्षक हुने प्रथा व्यवस्थापन गर्न नसक्ने हो भने शैक्षिक अवस्था सुधार गर्न नसकिने तर्क गरेका थिए ।   

‘एउटा विषय पढाएका शिक्षकले लगातार तीन बर्ष सम्म राम्रो रिजल्ट निकाल्दैन भने त्यो शिक्षकको बारेमा हामीले के गर्छौ ?’ प्रश्न गर्दै उनले भनेका थिए ‘लगातार पढाईरहेको छ तर तीन बर्ष सम्म रिजल्ट जिरो छ, फेरी पनि उ शिक्षक भएर विद्यालय गईराखेकै छ, त्यस कारण लगातार तीन बर्ष पढाउँदा पनि शिक्षकले आफ्नो विषयमा राम्रो रिजल्ट निकाल्न सक्दैन भने त्यस माथि के गर्ने हो ? यो विषय पनि विधेयकमा समेटिनु पर्छ ।’ 

आफ्नो अभिव्यक्ति दिदाँ उनले आफूले शिक्षकलाई अपमान गर्न नखोजेको बताउँदै शिक्षकहरुको बानी व्यहोराका बारेमा पनि चर्चा गरेका थिए । 

‘तर एउटा शिक्षक चौविसै घण्टा दारु खान्छ, तर पनि उ शिक्षक हो एउटा शिक्षकले विद्यार्थीको भविष्य बिगार्न त पाए न नी !’ उनले भनेका थिए । 

प्रतिक्रिया