Edukhabar
आइतबार, १८ जेठ २०८२
विचार / विमर्श

'टिचर' हैन, 'मेण्टर' बन

कति भरोसा गर्न सक्छौ आफुलाई ? आफैले जाँच । आफूले आफैलाई पास नगरे सम्म पासै भईन्न । मिल्छ भने अब यो आन्दोलन गर । 'आफैले आफैलाई जाँच्ने आन्दोलन' ।

मंगलबार, १३ जेठ २०८२

हावाले सिकाउँछ : कहिले सिरेटो हान्छ । कहिले हुरी । कहिले मन्द बतास त कहिले लु । कहिले तुफान । 

पानीले सिकाउँछ : कहिले भेल । कहिले आँधि । कहिले बाढी । कहिले कलकल । त्यसले बिर्सन दिँदैन । घोक्नै पर्दैन । टुप्पि बाँधेर !

हिँउले सिकाउँछ : कठ्याङ्ग्राएर, जमाएर । सितलता प्रदान गरेर । 

माटोले सिकाउँछ : उब्जाएर । तितो त्यहीँ । गुलियो त्यहीँ । टर्रो त्यहीँ । अमिलो त्यहीँ । विष त्यहीँ । अमृत त्यहीँ । 

छामेर मात्रपनि थाहा लाग्छ । सुँघेर मात्र पनि चिनिन्छ । चाटेर थाहा पाईन्छ । एकपटक हेर्न देउ न !

एकपटक चाख्न देउन कसलाई तितो मनपर्ला । करेला खाला । कसैले काउली । कसैले कोईरालो खाला । कसैले लप्सी । कसैले ब्यापार सोच्ला । कसैले कविता लेख्ला । छोडन । कति बाँधेर राखेको ? पशु पो बाँध्ने हो ।

सँधै चर्न जानेलाई दाम्लोबाट छोड्दा साधारण लाग्छ । त्यसैले सालिन हुन्छ । बँधुवा कहिले काँही दाम्लो चुडालेर फुस्क्यो भने सबैतिर नास गर्छ । मलखादो भत्काउँछ । भकारो भाँच्छ । बाँधेर राख्ने, डोर्याएर हिँडाउने, सयसले डोर्याएको घोडा कति दौडेला र ! रेडिमेड खाना दिने ! कसरी बातानुकुलित होला !?

बिहान उठ्नलाई पावर पोईण्ट देखाउने हो कि, उठाउने ? आमाबाबुलाई घर धन्दामा सघाउने कथा भन्ने कि, सघाउन लाउने ? सुचना दिएको कि ज्ञान ? सुचना कसरी ज्ञान हुन्छ र ! मेरो बाबु नानुलाई जाडो लाग्छ भनेर सिरक ओडेर प्रकृतिको कविता लेखाएर कसरी कवि बन्ला ! पासाङल्हामु बनाउन हिमाल चड्न सिकाउनु पर्ला नी ! हिमालको कथा भनेर पर्वतारोही कसरी बन्छ ?

छोरीलाई खितखिताउन नदिने । दौडिन नदिने । चुरिफुरि गर्न नदिने । सोझो गाई बनाएर पाल्ने । अनि चलाख हुन सकिन भनेर कसरी होला र ! डबल स्टाण्डर भएन ? एउटै गरन । जे गर्ने हो ।

हात्ति लस्केको देखाउ । मोडेल मस्केको देखाउ । कति खुशी हुँदो हो बच्चा । तिमीले त मस्केको हाउभाउ देखाउन पनि सक्दैनौ । थेसिस लेखाउँछौ । अनुकरणात्मक घोकाउँछौ ! अचम्म !

खाँबो र दलिन सिकाउँदैनौ । परपेण्डिकुलर र बेस सिकाउँछौ । पुल देखाउँदैनौ । हाइपटन्युज घोकाउँछौ । झुल देखाउँदैनौ । मुल देखाउँदैनौ । शुद्ध पानीको निबन्ध लेखाउँछौ । हाँस्नु कि रुनु !  एक पटक साँच्चै छोडेर हेरन । 'टिचर' हैन । 'मेण्टर' बनन ।

चुरोटको धुवाँको मुस्लो हावामा गोलो पारेर उडाउँदै चुरोट नखाउ भनिरहेका छौ तिमी ! बच्चो तिम्रो हर्कतमा हाँसिरहेको छ । तिमी बुझ्दैनौ ! मेरो बाबुलाई हिलो लाग्ला ! भनेर माटोबाट अलग्गै राखेर कृषि पढाएर के होला ! सफामा बस्नु पर्छ भने धुलो सफा गर्न जान्नुपर्छ कि ? धुलोलाई छि भन्न ? तिम्रो सँधै जिब्रोमै झुण्डिने “बिकासको नमुना जापानमा” ट्वाईलेट सफा गर्ने सहायक नै हुँदैन । बच्चाकै समय तालिकामा हुन्छ । कति बुझ्दैनौ ? कि बुझपचाई रहेका छौ ? त्यसैले छोड । तिम्रो सुचना धेरै भो । नबोल । जे गर्न पर्ने हो तिमीले पनि त्यहि गर । बस । सकियो । किन तालिम चाहियो ? आईस्टाईनले अरुसँग तालिम लिएर वैज्ञानिक भा’को हो र ?

पानीको भेलमा लछारपछार नभै ढुङ्गो कसरी शालिकग्राम बन्छ ? जिउँदो माछा मात्र एण्टिकरेण्ट पौडिन सक्छ । मरेको माछा धारले जता लग्यो उतै हो । के बनाउन खोजेको ? निक्र्यौल गर । आफैँ बुझकी छौ । कासमु भर्दा कार्यमुलक अनुसन्धान त गरेका छौ नी ! के समस्या छ ? थाहा भो होलानी ! कासमुका लागि फोटोकपी सेण्टरबाट ल्याएको त हैन होला कार्यमुलक अनुसन्धान ? बढुवा हुने बेला भो होला ? अनुसन्धान पनि त मनग्यै भए होलान् ! बच्चाको अवस्था के छ त ? कति बच्चा चिन्छौ ? बच्चाको बाबुआमाको हालत थाहा छ ? घर पहिलो पाठशाला हो भनेका हैनौ ? कस्तो छ त बच्चाको पहिलो पाठशाला ? के जानेको छ त बच्चाले पहिलो पाठशालामा ? नाना, छाना र माना के छ त बच्चाको ? साँचो उत्तर देउ । उत्तर दिन सकेनौ भने बच्चा हैन तिमी फेल भयौ । बढुवा हुँदैनौ । म शँकालु छु ।  माफ गर । तिमीहरु सबै उस्तै छैनौ । साँच्चै लडिरहेका, मरिरहेकालाई सलाम छ । “तिमी” सम्बोधनमा तिम्रो आपत्ति होला । तर मलाइ तपार्इँ, हजुर बनावटी लाग्छ । तिमीसँग मेरो बनावटी नाता छैन । दिलै देखिको हो । अन्यथा भए माफ पाँउ ।

आन्दोलनबाट के पायौ ? थाहा छैन । तिमीले मागेको पाएपछि बच्चाको सिकाइ अटोमेटिक बढ्छ भनेका हौ । कसरी बढाँउछौ ? योजना छ ? कि बिर्सियौ ? लोक हाँस्ला ! वचनको पक्का हुनुपर्छ भन्थे बुढापाका । कि कुरा मात्रै हो ? तिमीले जितेजस्तो सोचेका छौ । तर मलाई तिमी फसेजस्तो लाग्छ । नफस । तिमी नफसे म खुशी हुन्छु ।

तिम्रो आन्दोलनमा कक्षाकोठा सुधार थिएन । दुर्गम गाँउको पराले छाप्रे स्कुल पक्की बन्ने कहिले हो ? त्यो थिएन । प्रविधिको माग थिएन । एउटा वच्चाले खा’को अर्को हेरिरहेको छ किन ? भन्ने थिएन । तिम्रो बच्चाको अभिभावक अनपढ छ । तिमीलाई थाहा थियो । उ नसुध्रि उसको बच्चा सुध्रिदँैन । त्यो पनि थाहा थियो । तिम्रो आन्दोलनमा त त्यो कुरा थिएन त ! कसरी सुधार्छौ ? 

तिमी त पाईण्ट भएन भनेर गित गायौ । जुत्ता भएन भनेर नाच्यौ ! बिदा पुगेन भन्यौ ! ति सबैकुरा मेरा भन्दा तिम्रै राम्राछन् । महशुस नगरेर हो । मेरो न बस्ने ठेगान छ न खाने । मैले बिसौबर्ष आमाको हातले पकाएको खान पाईन । सेवा निवृत्त पछि मात्र आमाले पकाएको खाना भेटेँ । मैले बिसौँ बर्ष आमालाई ज्वरो आँउदा तातोपानी दिन पाईन । तातेको टाउको सुमसुम्याईदिन पाईन । त्यसको पनि त मुल्य होला ! तिमी आफ्नै बारीको उब्जनी आमाको हातले पस्केको खाएका छौ । त्यसको मुल्य तिमीले बुझेनौ । वस्तुको मुल्य अभावमा थाहा हुन्छ । कि बहकियौ ?

बहकिएर गुरु भँईदैन । बहकिनेलाई सिधा बाटो देखाउन सक्ने भएपछि बल्ल गुरु भईन्छ । तिमी गुरु हुन मैले सिकाएर हुँदैन । तिमी आँफैले खोज्नुपर्छ । अर्काले छाता ओढाइदिएर सँधै ओभानो हुन सकिँदैन । कुनै दिन छाता ओढाउनेले आँफैतिर ढल्कायो भने तिमी लुछुप्पै हुन्छौ । त्यसैले भरोसा अरुलाई नगर । पहिले आफुलाई गर । कति भरोसा गर्न सक्छौ आफुलाई ? आफैले जाँच । आफूले आफैलाई पास नगरे सम्म पासै भईन्न । मिल्छ भने अब यो आन्दोलन गर । 'आफैले आफैलाई जाँच्ने आन्दोलन ।' त्यसपछि तिमी कसैको दैलोमा जानै पर्दैन । अरु नै तिम्रो गोडामा आँउछन् ।

तितो भो करेली, टिपि देउ बेलौती । मुखले बोले बाईलो हुन्छ, झिम्काईदेउ परेली ।

बस्याल शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् । 

प्रतिक्रिया