Edukhabar
सोमबार, १८ जेठ २०८३
विचार / विमर्श

बोधो बनाउने प्रविधिमा नियन्त्रण चाहिँदैन ?

हर्रो नपाउँदो, जाईफल धाउँदो एआई !

सोमबार, १८ जेठ २०८३

हामी सामाजिक सञ्जाल सबैथोक हो भन्न थालेका छौँ । नबुझी । त्यसैले भनिएको छ– नेपालीहरुको आईक्यु सम्पुर्ण एशियामा कमजोर छ । त्यसैले सामाजिक सञ्जालको गलत प्रयोग सफल हुँदो छ ।

सामाजिक सञ्जालले गलत लत बसालेर सिकाइमा असर परेका उदाहरण धेरै अध्ययनले दिन थालेका छन् । 

उदाहरण हेरौँ :

फिनल्याण्डको शिक्षा अग्रणी मानिन्छ । सर्वसुविधा सम्पन्न । विद्यालयमा नतिजा तुलनात्मक रुपमा कमजोर आउन थालेपछि उनीहरु पछाडि फर्कन थालेका छन् । स्मार्ट बोर्डको ठाँउमा ह्वाईट बोर्ड । राख्न थालेका छन् । ट्याबमा दिने कक्षाकार्य कापिमा दिन थालेका छन् । स्मार्ट बोर्डमा छोए हुन्थ्यो । सोँच्न पर्दैनथ्यो । सबै कुरा छोएर हुने भएपछि सोच्न नपर्ने भयो । घोत्लिन नपर्ने भयो । त्यसले बालबालिकालाई बोधो बनाउन थाल्यो । नसोची नघोत्ली कसरी विकास शुरु हुन्छ ? यो नतिजाले देखाउन थाल्यो । 

एउटा सवाल खडा भयो : बिज्ञान विकासका लागि कि विनासका लागि ?

अष्ट्रेलियाले १६ बर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगायो । 

स्वीडेनले मोबाईल प्रयोगलाई निरुत्साहित गर्न विद्यालयमा मोबाईल वर्जित गर्न थालेको छ । कसैले ल्याईहाले कक्षाकोठा बाहिरको लकरमा राख्ने प्रवन्ध गर्न शुरु गरिसकेको छ । 

फ्रान्सपनि त्यतै उन्मुख छ ।

अमेरिकाले अर्बौ डलर डिजिटल शिक्षामा  खर्च गरे पछिको अध्ययनमा नकारात्मक नतिजा प्राप्त गरेको छ । विद्यार्थीको सिकाइ स्तर खस्क्यो । समालोचनात्मक चेत हराउँदो भो । अनुसन्धानको सोँच हुँदै भएन ।

... गर्यो....दैलो पनि देख्यो !

हामी सामाजिक सञ्जाल सबैथोक हो भनेर मारामार गरिरहेका छौँ । बुझ्दै नबुझी । अध्ययनहरुले भनेका छन् ः यसको अधिक प्रयोगले १६ बर्षको बच्चालाई मुटु रोगी बनाँउदैछ । प्रेसर बढाँउदैछ । धैर्यता गुमाँउदैछ । चिडचिडाहट बढाँउदैछ । असामाजिक बनाँउदैछ । दुर्भाग्य ! हामी उतै उन्मुख छौँ ! त्यसको नियन्त्रण गर्ने कुरा गर्दा मात्र पनि हामी सडकमा आउन शुरु गर्छौ ! यो दुर्घटना उन्मुख कुरा हैन ? भीरबाट लड्नेलाई रामराम भन्ने त होला !

मैले छोरीलाई भनेँ –मलाई राम्रो प्रोजेक्ट प्रपोजल लेखिदेउन । छोरीले जवाफ दिईन् –के सम्बन्धि हो ? एआईलाई भन्नु बनाई दिन्छ । एकछिन गमेँ । के हो यो ? अब मलाई मानवीय सहयोग नचाहिने भयो ? मानव मानवको नाता टुट्दो हो ? म जाबो प्रपोजल लेख्न नजान्ने पनि जान्ने भई टोपल्ने हो ? यस्तै यस्तै प्रश्नले घेरे मलाई ।

एआईले कता घात गर्छ ? 

मानिसले गर्ने काम मेशिनले गर्ने भएपछि धेरैको रोजिरोटि खोसिनेछ । यसले मध्यम र न्युन सीप भएकाहरु सबै विस्थापित हुनेछन् । स्वभावतः ति सँग आश्रित परिवारको आर्थिक अवस्था दयनीय हुनेछ । क्रयशक्ति घट्नेछ । यसले सिङ्गो समाजलाई प्रभाव पार्नेछ । पछाडि धकेल्नेछ ।

अल्गोरिदमको अर्थ नेपालीमा कलन विधि वा नियमवद्ध प्रकृया हो । यो कुनै पनि समस्या समाधान गर्न वा निश्चित कार्य पुरा गर्नका लागि पालना गर्नुपर्ने स्पष्ट र क्रमिक चरणहरुको समुह  (step–by–step instructions) हो ।  जसले ईनपुटलाई आउटपुटमा बदल्छ । Algorithmic Bias त्यतिबेला हुन्छ; जब मेशिनले अनुचित र भेदभावपुर्ण नतिजा बताँउछ । उदाहरणका लागि कुनै जाति वा भाषा विशेष सम्बन्धमा कमि कमजोरिलाई लिएर तयार भएको भाष्यलाई सम्पुर्णको कमजोरीको रुपमा प्रदर्शित गर्नसक्छ । जसले सम्पुर्णको प्रतिनिधित्व गर्दैन । तथ्याङ्कगत त्रुटीले नोक्सानी उन्मुख बनाउने खतरा रहन्छ । मानव अन्यायको खाडलमा गाडिन सक्छ । अबुझहरु त्यसैको हवाला दिएर सही भनेर कराउनेछन् । यसले ध्रुविकरण बढाउँछ । गलत सुचना सम्प्रेषण गर्छ । केहिको फाईदाका लागि सबैको गलत प्रयोग बढ्छ ।

नैतिक मुल्यमा ह्रास र व्यक्तिगत गोप्यता भङ्ग हुने सम्भावना बढ्छ । हामीले नेशनल आईडिका नाममा डाटा बेचीरहेका छौँ ! इम्बोस्ड प्लेटका नाममा डाटा बेचीरहेका छौँ । 

यसले सुरक्षा खतरा जन्माउँछ । गलत सुचना प्रवाह बढ्छ । यसले मेशिनको आँखाबाट मात्र हेर्छ । मानवीय मुल्य हराउँछ । मानव रोबोटिक हुन्छ । नाफामुखी हुन्छ । घोत्लन छोड्छ । खोजिगर्ने क्षमतामा ह्रास आउँछ । मानव अल्छि हुन्छ । धेरै मेशिनमा भरपर्न थाल्छ । मेशिनले काम नगरेको दिन के हुन्छ ? महँगो मुल्य चुकाउनु पर्नेछ । यो महँगो प्रविधि हो । गरिबले सक्दैन । यसमा ठुला जटिलता छन् । यसले धनीलाई झन् धनी र गरिबलाई झन् गरीब बनाउने सम्भावना बढ्छ । यसबाट थोरै व्यक्तिको हातमा सँसारको धेरै सम्पत्ति थुप्रिन्छ । असमानता चुलिन्छ । दाल रोटिमा अल्झिएको गरिब कहिले त्यो ठाँउमा पुग्छ ? हामीले त्यसैमा जोड दिएका छौँ ?  धेरै बुझेर कि नबुझेर ?

त्यसो त कविता एआईले पनि लेख्छ । गित गाउँछ । संगीत भर्छ । भाषण गर्छ । गम्भिर निबन्ध लेख्छ । तथापी त्यो मेशिन हो । तर असली लेखक, कलाकार वा मानिस त्यो हो जो मुल्य बोकेर बाँच्छ । मुल्य र भावना बिनाको जीवन जिउनु भनेको एआई भईजानु हो । 

दाई ! एआई नहुनु न प्लिज !! – कवि रमेश क्षतिजको भाषा सापटि लिएको ।

एआईमा कता छ मुल्य ? आजको विद्यार्थी मुल्य र भावना बिनाको हुँदो छ । एआई हुँदो छ । पैसा छ । बाबु आमा सँगै छैनन् । वृद्दाश्रममा छन् । पैसा छ । छोराछोरिसँगै छैनन् । छात्रावासमा छन् । अर्काको देशमा भाँडा माझिरहेकाछन् ! पैसाका लागि । मन्दिर छ । स्तुति छैन । फेसबुकमा भ्युज बढाउनका लागि छ । हामीले पाठ्यक्रममा मानवियता मास्ने कुरा कता लेखेका छौँ र ! कि त्यस्तै लेखेको हो ? शिक्षाको सार मानवियता वृद्धि हैन ? कि शिक्षा लहड हो ?

चीनले ठुलो भौतिक प्रगति गर्यो । ठुलो बाटो । ठुला घर । त्यसको नाममा ठुलो नरसंहार पनि गर्यो । तियानमेन स्क्वायरमा । तर उसको विकास हेर्न सोचे जति पर्यटक आएनन् । किन कि त्यहाँ उसको सँस्कृति थिएन । मासिएको थियो । मानवियता ढलेको थियो । बाटोसँगै । बाटो त अरुका पनि राम्रा थिए । किन बाटो हेर्न आँउछ कोही ? त्यसैले अचेल बाजा खोज्न थालेको छ । गीत खोज्न थालेको छ । भेटेजति एकत्रित गर्न थालेको छ । साँस्कृतिक गाँउनै बनाएको छ । गेटै बनाएर । सिचियाच्वाङमा । प्राध्यापकलाई यस सम्बन्धि जिज्ञासा राखेको । जवाफ थियो–आफ्नो मासिएपछि कोहि नआँउदो रहेछ । त्यसैको खोजी हो ।

....के गर्यो.....दैलो पनि देख्यो !

हाम्रा विद्यार्थी कता जाने हो ? हामी कता जाने हो ?

विज्ञानले दिनानुदिन नयाँ खोजि गरिरहेको छ । तथापी यो मानव कल्याणको सट्टा विनासतर्फ उन्मुख छ । धनी झन् झन् धनी हुँदो छ । गरिब पिल्सँदो छ । प्राकृतिक स्रोत माथी ठुलाको एकलौटी रजाई छ । थोरैको हातमा धेरै हिस्सा कब्जामा छ । हैकम छ । कतै आवाज निस्के पनि जबरजस्ति दबिएको छ । साँच्चै गर्न खोजेकै यहि हो त ?

यस्तो बेलामा पनि हामी सतही छौँ । बजारमा जे हल्ला आँउछ त्यो सर्वाधिक सही भनिदिन्छौँ । त्यो नै निर्विकल्प भन्ठान्छौँ । हाम्रो समाज न्युनतम आधारभूत आवश्यकताको पनि परिपुर्ति नभएको ठाँउ हो । पानी छैन । बाटो छैन । बिजुली छैन । अस्पताल छैन । भएको पनि पुर्ण छैन । सर्वसाधारणलाई सिटामोल छैन । त्यति पनि दिन नसक्नेको पहिलो कर्तव्य एआई हो ? कागको पछि दौडने शिक्षाले यसै पनि हामीले हाम्रो आफ्नोपन गुमाउँदै छौँ । शिक्षाले आफ्नोपन बचाउने हो कि गुमाउने ? सबै विद्यार्थीका न्युनतम आधारभूत आवश्यकता पुरा गरेर विकासका आधार खडा गर्नु पर्नेले हतारमा गल्लीमा डबलडेकर कुदाँउछु भन्छ ! कसले पत्याँउछ ! धेरै मच्चिएको सरकार दश प्रतिशत शिक्षामा थच्चिएको छ ! 

हर्रो नपाउँदो, जाईफल धाउँदो एआई !

- बस्याल, शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।  

प्रतिक्रिया