यो शिर्षक चयनको श्रेय अमेरिकामा रहेर प्रवासी नेपाली विद्यार्थीलाई नेपाल र नेपाली चिनाउन लागि परेका डा. भोज बहादुर बलायरलाई जान्छ ।
सर नेपाल सरकारले बाहिर पठाउन 'नो अब्जेक्शन' दिन्छ ! जताजाने जाउ ! फर्केर आउ या नआउ ! को कहाँ छ ? हिसाव छैन ! कसले के गरिरहेको छ ? मतलब छैन ! हामी 'नेपाल नजानेलाई अब्जेक्शन' गरिरहेका छौँ !
उनले सजीलोसँग गहन कुरा भने । मन छोयो । आँखाको डिल रसायो । उनलाई देखाए । म घोरिएँ । नेपाल बुझेका उनी । पाठ्यक्रम विकास केन्द्रको वेबसाईटमा “प्रवास” पनि राखिदेउन भन्न गए । प्रवासी नेपाली विद्यार्थीलाई नेपाल चिनाउने प्रस्ताव पेश गरे । उनी हारे । मन त कुँडिएको हुँदो हो । तर हाँसे । त्यहि कुरा भन्दा पनि हाँसी रहेका थिए । असहमति जनाउन पनि हाँस्न सकिन्छ । रिसै देखाउन पर्दैन । ठुलो धन हो त्यो । तर हाँसोमा दुखाई थियो । गुनासो थियो । छटपटि थियो । बाहिर बसेर पनि देशका निम्ति केहि गर्ने हुटहुटी थियो । हाँस्दा पनि आँखाका डिल भिजेका थिए । अरठ्ठ परेको हाम्रो जिम्मेदार निकाय सम्झेर ।
ग्लोबल नेपाली पाठशाला टेक्ससमा नेपाली पढाउँछन् । पाठ्यक्रम लेखेका छन् । किताब लेखेका छन् । अभ्यास पुस्तिका लेखेका छन् । नेपाली सँस्कृतिको जगेर्ना खातिर । दन्ते कथा सुनाँउछन् । खोज्न हौस्याँऊछन् । नेपाल र नेपाली सँस्कृतिका धरोहर डा. चिन्तामणी योगी जस्ता गुरुहरु लगेर प्रवासी नेपाली विद्यार्थीलाई ध्यान, योग र आचरण सिकाँउछन् । सरकारले केहि गर्न पर्दैनथ्यो । त्यस्ता सामग्री बनाउनेहरुको लागि नेपाली आधिकारिक पोर्टलमा सानो ठाँउ दिए पुग्थ्यो । गुणस्तर जाँच्न सकिन्थ्यो । पहाड खस्नेवाला थिएन । पैसा लाग्दैनथ्यो । चाहिने भए दिनसक्थे । दिन्थे । टेबलमाथिबाट हाकाहाकी भन्न नसक्नेहरु टेबल मुनीबाट हात थापिरहेका छन् ! एयरपोर्टमा ! कताकता ! बेईज्यत ! नकचराहरु !
उनको मनसाय हो सँसारमा रहेका प्रवासी नेपाली विद्यार्थीलाई जोड्ने । सानो त्यान्द्रो देउ । डोरि दिन त तिम्रो औकातै छैन !
ब्रिटिसहरुले शासन साँघुरो हुँदै गए पछि सँसार कब्जा गर्ने उपाय रचे । भाषा । सँसार भरी केन्द्र खोले । यो नभई केही हुँदैन । भाष्य सिर्जना गरे । सफल भए । तर तितो सत्य अँग्रेजी नभए पनि युरोप राम्ररी चलेको छ । जापान चलेको छ । कोरिया चलेको छ । चल्छ । भाषा त केहि सिक्ने माध्यम मात्रै न हो । तर आफ्नो भाषा माध्यम मात्र हैन । सँस्कृति हो । आचरण हो । सभ्यता हो । अर्काको भाषा र सँस्कृतिमा हाम फाल्दा आगोमा पुतली हामफाले झैंँ हुने हो । आँफै सकिने हो । सकिन किन लागि परेको ? सरकारले सके ती कुरा आफै गर्ने हो । नसके गरेकालाई हौसला दिने हो । त्यति पनि सरकारले सोँच्न सक्दैन ? त्यहि कुराको आँखा खोल्न लागि परेका छन् उनी ।
स्वीडेनमा नेपाली पढाई रहेका सुर्य खत्री क्षत्रीले एक दिन एउटा प्रसँगमा भने : एउटा बच्चीलाई अर्कोसँग तुलना गरेँ । फलानो त यसरी पढ्छ । तिमी किन यस्ती ? ती बच्ची अर्को दिन स्कुल आईनन् । भोलि पनि आईनन् । एक हप्ता सम्म नआएपछि चिसो पस्यो ।
अभिभावकलाई फोन गरेँ : तिम्रो बच्चा किन स्कुल आँउदैन ?
उत्तर आयो : तिमीले बच्चालाई अर्कोसँग तुलना गरे छौ । त्यो उसलाई मन परेन । स्कुल नजाने भन्यो । कर गर्न मिलेन । उनी अवाक भए । बच्चा सहित स्कुल आउन अनुरोध गरे । अभिभावकसँग । आफुले नेपाली तालले पढाएको महशुस गरेँ, र माफी मागेँ । त्यो बच्चा नियमित भयो । हाम्रो शिक्षकले त्यसरी सोँच्छ ?
सोँच्छ, तर नगन्यले !
विगत ४० बर्षदेखि फ्रान्समा नेपाली सँस्कृतिको जगेर्नामा लागि पर्नु भएका हेमन्त उपाध्याय जसलाई नेपाललाई फ्रान्समा चिनाउने मसिहा नै भने पनि हुन्छ ।
उनले भने : सरकारलाई केहि मतलव छैन । नेताहरु जान्छन् । खान्छन् । हिँड्छन् । सँसारै थाहा भएजस्तो गर्छन् । काम के गर्छन् ? कसैलाई थाहा छैन । सँस्कृतिको जगेर्ना खातिर गर्न सकिने कुरा अनुरोध गर्यो । हुन्न भन्दैनन् । गर्न पनि गर्दैदनन् । देशको दुत जागिर खान्छ । खान्छे ! फर्कन्छ !
बाहिर बसेर देश खोज्नेहरु धेरै छन् । यि त प्रतिनिधि पात्र मात्र हुन् । तिनीहरुको खोजी भएन । गरेका कामको प्रशँसा भएन । सहयोग भएन । “सय थुकी सुकी, हजार थुकी नदि ।” भन्छन् । सँसारमा देश चिनाउन एउटाले गरेर हुँदैन । तर एउटाले गरेको कुराको हिसाब सरकारसँग हुन्छ भन्ने विश्वास नागरिकमा हुनुपर्छ । मेरा पछाडि सरकार छ । हुनुपर्छ । म एक्लो छैन । हुनुपर्छ । हात बटिनुपर्छ । जङ्गलमा एउटा अगुल्टोको साहारामा हिँडेको व्यक्तिलाई विश्वास हुन्छ । जङ्गली जनावरले आक्रमण गरे, अगुल्टोले हान्छु । तर साँच्चै बाघै आए !
खान्छ । त्यसले काम गर्दैन । खासमा । तथापी विश्वासै विश्वासमा उसले जङ्गल पार गर्छ । डरवाट निस्कन्छ । सरकार सलेदो बन्नुपर्छ, नागरिकको । कतै लाल्टिन बन्नुपर्छ । बिजुली बन्नुपर्छ । कतै त त्यान्द्रो मात्र पनि भईदिए पुग्छ । बस् छ भन्ने हुनुपर्यो । तर कहाँ छ सरकार ? 'नानी कति नाच्छिन् भन्ने खुट्टी देखेर चिनिन्छ ।' भन्थे बुढापाका । त्यस्तै भैसक्यो !
शिक्षामै फर्कौँ,
हामीलाई लाग्छ, हामीले नेपाली जानेका छौँ । कसैले सिकाउनु पर्दैन । घमण्ड पनि होला । तर प्रवासीलाई सिकाउने तरिका उनीहरुको परिवेश अनुरुप हुनुपर्छ । सामग्री त्यस्तै । तरिका त्यस्तै । यी बिषयमा भिजेकाहरुलाई नेपाल प्लेटफर्म दिए पो सँसारको नेपाली जोडिन्छ । अप्ठेरो तोडिन्छ । एक ठाँउको तरिका अर्कोसँग नमिल्न सक्छ । त्यो सञ्चार हुन्छ । दायरा बढ्छ । अनुसन्धान बढ्छ । अनि पो बढ्छ हाम्रो सँस्कृति । भाषा । भेष ।
१९९८ तिरको कुरा हो । म फ्रान्सेली केन्द्रमा भाषाको विद्यार्थी थिएँ । नबुझेको कुरा सोध्ने बानी । फ्रेञ्च नआउने । टुटे फुटेको अँग्रेजीमा प्रश्न सोध्थेँ । प्रोफेसर जमार्क थिए । मेरो प्रश्न सुनेपछि चस्मालाई नाकको डाँडिमा ल्याउँथे। मलाई घुर्थे। जवाफ दिँदैनथे । भोली सोध्यो । त्यहि गर्थे । एक दिन रिसै उठ्यो । प्रश्न गरेँ । किन उत्तर नदिएको ? अब उनले प्रश्न गर्नथाले ः तँ कुन भाषाको मान्छे ? नेपाली । कुन भाषा पढिरहेको छस् ? फ्रेञ्च ।
कुन भाषामा प्रश्न सोधिरहेको छस् ? अँग्रेजी !
कसरी मिल्यो ? कि फ्रेञ्चमा सोध्नुपर्यो । कि नेपालीमा । मेरा आँखा खुले। भाषा सिक्ने तरिकाको । भाषाको मायाको । उनी मेरा साथी भए । त्यसपछी भोली सोध्ने प्रश्न फ्रेञ्चमा कण्ठ गरेर जान्थेँ । नभए नेपालीमै सोध्थेँ । एकदिन सँगै कफी खाउँ भने । तिमीहरु आफुलाई सानो ठान्छौ । त्यो गलत हो । आफ्नो भाषा सँस्कृतिलाई “प्रथम” ठान्नु पर्छ । तिमीहरु भाषा सँस्कृतिमा धनी छौ । तिमीहरुको गीताको पुष्पक बिमान पढेर युरोपले बिमान बनायो । पढ्न त तिमीहरुले पहिला पढ्यौ । तर पढेर भ्याए पछि फुल राखेर ढोग्यौ । रातो कपडाले बेर्र्यौ । फेरी ढोग्यौ, र भारमा राख्यौ । भोली त्यहि तरिका दोहोर्यायौ । त्यसको अर्थ केलाउन कोशिस गरेनौ । खोजेनौ । हामीले खोज्यौँ । त्यसैले खोज । तिमीहरु धनी छौ । पहिलो पटक हामी गरिब छैनौँ । मानसिकता गरिब हो । महशुस गरेँ ।
सँसार जित्न चाहन्छौ भने पहिले जितको कल्पना गर । हारको हैन । धनी हुन चाहन्छौँ भने गरिबी मानसिकता तोड । एक दिनको घटना हो ः बेलायती विद्यार्थीलाई नेपाली पढाँउदै थिएँ । खाजा ब्रेकमा अन्तरङ्ग कुरा भए । घरका । परका । तिम्रो घरमा कोकोछन् ? सँगै बस्छौ ? उत्तरमा “हामी त गरिब छौँ ।” बाट शुरु गरेँ । गाँउमा सानो घर छ । वारी छ । अलीकति खेत छ । एउटा दुहुनो भैँसी । एक हल गोरु । र, एउटा गाई छ । दुईवटा बाख्रा छन् । हामी सगोलमा बस्छौँ । खासै केहि छैन । तिमीहरु जस्तो धनी छैन ! विट मारेँ । मेरो जवाफमा उनीहरु अवाक भए । अलपत्र परे ।
उनले भने : तिमिहरु त जमिन्दार हौ, हाम्रो त १६ १६को सानो फ्लाट छ । अरु केहि छैन । कोही आफन्त सँगै छैन । कसरी हामी धनी ? मेरो आँखा दोस्रो पटक खुल्यो । अचेल कुनै सेतो छाला देख्ने बित्तिकै धनी र विद्वान मान्ने मानसिकताबाट माथी उठेको छु ।
देशको शीर माथी उठाउन मसिना कुरामा ध्यान पुर्याउन सक्नुपर्छ । राज्यले । एउटा नो अब्जेक्शनको कागजको टुक्रा दिएपछि सकियो ? सकिँदैन । सकिनु हुन्न । देशका निम्ति कसले कहाँ के गरिरहेको छ ? एकएक नागरिकको हिसाव हुनुपर्छ । प्रजातन्त्रमा । तब न नागरिकमा सरकार भएको अनुभुति हुन्छ । हौशला हुन्छ । केहि गर्ने जोस र जाँगर पलाउँछ । दुबईमा ट्वाईलेट सफा गर्ने नेपाली छ भने हार्वडमा प्रोफेसर नेपाली छ भन्ने कुरा दुवईले विश्वास गर्दैन । ज्यामी सम्झिन्छ । सबै नेपालीलाई । आमाले आशिर्वाद दिँदा सधै भन्नुहुन्छ ः आफ्नो शीर सँधै उचाहुने काम गरेस् । कसैसँग हात थाप्न नपरोस् । दिन सक्ने भए । साउ अक्षर नचिनेकी हाम्री आमाको जत्ति पनि सुद्धि छैन ! सरकारको ? संसारको बजारमा कुन तहका मान्छे पठाउने ? नीति चाहिँदैन ? कसले देशको ईज्जत बढाएको छ ? कसले मासेको छ ? सही र गलत गर्नेहरुको खोजी हुनुपर्दैन ?
‘अब्जेक्सन फर नो अब्जेक्सन’
“धान कटेर भ्याईयो, फाटे फाट मायालु .....
रेमिटेन्समा नाच्न पाएपछि सबै सकियो ?”
बस्याल, शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।
प्रतिक्रिया