Edukhabar
आइतबार, २२ असार २०८२
विचार / विमर्श

बिचरा प्रअ !

कुनै शिक्षकले काम नगरेको आधारमा कारवाहि गर्ने कुनै अधिकार प्रअसँग छैन । एक्लै भुटभटिएर मात्र कसरी विद्यालय राम्रो हुन्छ ?

आइतबार, २२ असार २०८२

विद्यालय राम्रो हुन नेतृत्व राम्रो हुनुपर्छ । निर्विवाद कुरा हो । प्रअले के के भ्याउनु पर्छ ? बिश्लेषण नगरी “प्रअले गरेन त्यसैले यस्तो भा’को” ! भन्न सजिलो छ । 

हामीले बहाना बनायौँ । सधैँ । आफु पन्छिन खोज्यौँ । अरुलाई दोष थोपरेर पानी माथिको ओभानो हुने कोशिस गरिरह्यौँ । विद्यालयको सही अवस्था कहिल्यै केलाएनौँ । योजनाले यथोचित सम्बोधन गरेनौँ । राम्रो “म” । कोदाली “तँ” ! 
यो प्रवृत्तिले कसरी उठ्छ शिक्षा ? शिक्षा नउठी समाज कसरी उठ्छ ? बहस त  भैरहेकै छन् ! तर कता ? कतै आधारभुत आवश्यकता पनि छैन । कतै चिल्लो पार्न थालिएको छ । पहुँचको आधारमा ! समानुपातिक वितरण एकादेशको कथा जस्तो भएको छ । लक्ष्य बिनाका योजनाले कहाँ पुगिन्छ ? कुहिरो काग झैँ हिडेर गन्तव्यमा पुगिन्छ ? 

“हिँड्दैछ। पाईला मेट्दैछ”! 

जिम्मेवार भनाउँदोले भारी सभामा शिक्षकलाई उडाँउछ ! सँस्कार कहिले शुरु हुन्छ ? हामी कता जाँदैछौँ ? आदर पाउन आँफैले आदर शुरु गर्नुपर्छ । भन्न सजिलो छ । गरेर पार लगाउन गाह्रो छ । यस आलेखमा प्रअको अवस्था केलाउन खोजिएको छ ।

पहिलो प्रअ

सर तपाई  आएपछि विद्यालयमा के प्रगती भो ? प्रश्न । 

म जिम्मेवारी लिएर आँउदा बिहान हाजिर गर्यो । अस्पतालको काम । नगरपालिकाको काम । बजारको काम गर्यो । फर्केर चार बजेतिर हाजिर गर्यो । घर गयो । टिफिनको नाममा बाहिर गयो । नफर्के पनि भयो । बच्चा पनि त्यस्तै । नपढाए खुशी हुने ! त्यस्तो थियो । म आएपछी दश बजे भित्र पस्नुपर्ने । चार बजेसम्म बाहिर जान नपाउने । खाजा पनि क्याण्टिनमै खानुपर्ने सम्म बनाएको छु ।

अभिभावक शिक्षा दिनुपर्यो भनेर खबर गरेको ४० प्रतिशत उपस्थित भए ! कुनै बच्चा दुई दिन लगातार अनुपस्थित भो भने आँफैले किन नआएको भनेर अभिभाबकलाई फोन गर्ने चलन शुरु गरेको छु । के भन्छ अभिभावक थाहा छ ? मेरो बच्चा स्कुल नआएर तिमीलाई किन टाउको दुख्यो ?! अब भन्नुस् म कहाँवाट शुरु गरौँ ?

पुस्तकालय छ ? 

त्यो त छ । तर त्यहाँ कोहि जाँदैनन् । धुलो बसेको छ । कसैले हात बटाँउदैनन् । जागिर खान्छन् । भन्यो भने राजनीति गर्न खोज्यो भन्छन् ! १५ मिनेट चाँडै र १५ मिनेट ढिलो सम्म बसेर दैनिक अवस्था मुल्याङ्कन गरौँ । योजना विश्लेषण गरौँ, भनेको ५ मिनेट पनि दिँदैनन् । कहाँबाट शुरु गर्ने ?

दोस्रो प्रअ 

कुनै समयको कुरा पङ्तिकार एउटा विद्यालयको अनुगमनमा थियो । बाहिरबाट सर्सति हेर्दै जाँदा एउटा खाली कक्षामा दुई जना शिक्षक कुहिनोले टेकेर ढल्किएर मोबाईल चलाउँदै थिए । मलाई देखेर अप्ठेरो माने जस्तो त गरे । तर, थप वास्ता गरेनन् !

प्रअको चेम्बरमा गएँ । घटना बताएँ । 

सर मैले धेरै सम्झाई सकेँ । अब थाकेर भन्न छोडेँ । अर्कोतिर शिक्षक अनुपस्थित भएर कक्षा खाली छ ! यो कक्षा हेरिदेउन भन्दा अतिरिक्त भत्ता माग्छन् । नीजि स्रोतको शिक्षक धान्न समस्या भएको बेला कहाँबाट भत्ता दिने ?! सरकारलाई बिषयगत दरबन्दि छ छैन थाहा छैन ! त्यो व्यवस्थापनको कुनै चासो छैन । शुल्क उठाए कारवाही हुन्छ ! भन्छ ! जिम्मेदारी भन्ने चिज पनि हुँदैन ? निर्देशन दिन गएको आँफै अवाक भएँ ।

तेस्रो प्रअ

सर तपाईँ यति मिहनेत गरिरहनु भएको छ । तर विद्यालयको गुणस्तर परिमार्जन किन भएको छैन ? बिद्यालय व्यवस्थापन समिति सर्वदलीय छ । दलहरुलाई बाँडीचुँडी । व्यवस्थापन अध्यक्ष पार्टिको हिसाबले डिल गर्छन् । शिक्षकहरु पार्टिमा बाँडिएका छन् । राम्रो गर्न खोजे पनि हात बटाँउदैनन् । हरेक ठाँउमा पार्टि ल्याँउछन् । 

शिक्षकहरुको दैनिक योजना डायरी छ ? 

डायरी त छ । कसैले योजना बनाँउदैनन् ! आज हजुर आँफै हेर्नुस् । के लेखेकाछन् ? 

हेर्दा अधिकाँशको केहि नलेखेको पाईयो । 

सर मलाई कहिलेकाँहि अति छटपटि हुन्छ । केहि गर्न खोज्यो । कसैले सहयोग गर्दैन । सम्बन्धित ठाँउबाट नियमित अनुगमन हुने भए केहि फरक पथ्र्यो । त्यो पनि छैन । आज हजुरले डायरी माग्नु भो । भोली पनि परिक्षण हुन्छ भन्ने लागे बनाँउथे । हजुर गएपछि जस्ताको तस्तै हो । आफ्नो ठाँउको स्कुल । छोड्न पनि सकिँदैन । केहि गर्न पनि सकिँदैन । बचन मात्र खाने हो । अडिट गर्ने मान्छैले आफुले भने जति रकम नपाएपछि सबै बेरुजु लेखेर गयो ! आफ्नो जेथावाट तिरीरहेको छु । यो मसिनो कुरा । कसैले पत्याउँदैन । कुनै शिक्षकले काम नगरेको आधारमा कारवाहि गर्ने कुनै अधिकार प्रअसँग छैन । एक्लै भुटभटिएर मात्र कसरी विद्यालय राम्रो हुन्छ ? 

मन्त्रालयको सोच के हो ?

शुल्क नलिने आदर्श कुरा हो । चकलेटी कुरा हो । हाईसाउण्डिङ छ । तर व्यवहारमा सबै विद्यालयमा विषयगत दरबन्दि छ ? छैन । सबैमा कम्प्युटर छ ? छैन । सबै बच्चाले खाजा खान्छन् ? खाँदैनन् । सबै विद्यालयको न्युनतम भौतिक व्यवस्थापन छ ? छैन । 

कहिले हुन्छ ? 

थाहा छैन ! 

८–१० सम्म विद्यालय चलेको छ । ५ सम्मले खाजा पाँऊछ । अरुले हेरिरहने ? यी कुराको प्रत्याभुति नभै निःशुल्क भरेर मात्र हुन्छ ? स्पष्ट छ । कि राज्यले हेरिदिनु पर्यो, कि शुल्क उठाउन दिनुपर्यो । हामी द्वेध चरित्रका भयौँ ।
अर्को पाटो– प्रअ ले केहि गरेन भन्ने हो भने उसलाई अधिकार दिएर हेर्नुप¥र्यो । के गर्न सक्दो रहेछ ? अनिमात्र थाहा हुन्छ । कति गर्न सक्छ ?

अनुगमन सन्यन्त्र खै ? कसरी मनोबल उठ्छ ? 

त्यो परको कुरा । 

४० प्रतिशत पालिकामा शिक्षा हेर्ने शिक्षा सेवाको अधिकारी नै छैन ! कसरी अनुगमन हुन्छ ? नियमित अनुगमन नभै कसरी वास्तविकता थाहा हुन्छ ? वास्तविकता थाहा नभै कसरी परिमार्जन शुरु हुन्छ ? राज्यको शिक्षा सुधार्ने ठेक्का एक्लो प्रअको मात्र हो ? यसको सिधा अर्थ हो– शिक्षा कसैको प्राथमिकतामा छैन ।

कुराले देश बन्दैन । 

माथिका उदाहरण तिन वटा जिल्लाका नमुना मात्र हुन् । प्रअले के के गर्ने हो ? छाना चुहिएको टाल्न दाता खोज्ने कि ! कक्षा अवलोकन गर्ने कि ! तलबको माग फारम बोकेर कार्यालय धाउने कि ! कम्प्युटर खोज्न हिड्ने कि ! खालि कक्षा लिने कि ! अभिभावक शिक्षा दिने कि ! दललाई मिलाउन हिँड्ने कि ! आफ्नो नियमित कक्षा कतिबेला लिने ? जिम्मेदार निकायले यो सबै सोच्न पर्छ कि पर्दैन ?

“पाडो कराएपनि मैँ माथी ! पाडी कराए पनि मैँ माथी !” जस्तो भयो प्रअ ! 

उनीहरुको सुनुवाई नभै शिक्षाको गुणस्तर सुधारको सुरुवात हुन सम्भव छैन । विद्यालयमा न्युनतम चाहिने कुराको प्रत्याभुति दिलाउ । विद्यालयको भौतिक व्यवस्थापनका खातिर भौँतारिने अवस्थावाट प्रअलाई  छुट्कारा दिलाउ । दबाब मुक्त बनाउ । क्षमता बढाउ । अधिकार बढाउ । अनुगमनको स्थायी सन्यन्त्रको विकास गरी परिचालन गर । पुरस्कार र दण्डको मापदण्ड बनाउ । त्यति भए केहि शुरु होला । अन्यथा अरुलाई दोष लगाएर पन्छिने प्रवृत्तिले कसरी सुध्रिन्छ र ! 

“बिचरा प्रअ”लाई दोष लगाएर केहि हुनेवाला छैन ।

बस्याल शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् । 

प्रतिक्रिया