हिमाली जिल्ला बझाङ स्थित जयपृथ्वी बहुमुखी क्याम्पसले 'उच्च शिक्षामा नवप्रर्वतन अवस्था, अवसर र चुनौतीहरुको खोजी' शिर्षकमा गरेको राष्ट्रिय सम्मेलन क्याम्पसको प्राज्ञिक यात्रालाई उजागर गर्ने प्रस्थान विन्दु बनेको छ । भौगोलिक रुपमा कठिन उच्च पहाडी र हिमाली जिल्लाहरुले भोग्ने चुनौतीका बिच सम्पन्न उक्त सम्मेलन केवल औपचारिकतामा मात्र सिमित रहेन । क्याम्पस स्थापनाको झण्डै साढे चार दशक लामो समय व्यतित हुँदै गर्दा गत जेठ १६ - १७ गते आयोजित उक्त सम्मेलन मार्फत कयौं स्थानीय र राष्ट्रिय सन्देश सञ्चार भएका छन् । भौगोलिक रुपमा सुगम तथा सुविधा सम्पन्न ठाउँहरुमा यस्ता सम्मेलनहरुको आयोजनालाई सामान्य मानिएला तर, विपन्न बस्तीहरुमा हुनु अपवाद र असामान्य नै ठानिन्छन् । यो सम्मेलनले प्राज्ञिक समुदायका निम्ति एउटा ऐतिहासिक सन्देश दिन सफल भएको छ ।
विश्वविद्यालय अनुदान आयोग सहित स्थानीय सरकार र व्यवसायीहरुसंगको साझेदारीमा सम्पन्न भएको सम्मेलनले प्राज्ञिक मात्र नभएर सामाजिक सहकार्यको समेत सन्देश प्रभाव गरेको छ ।
यो लेख राष्ट्रिय सम्मेलनको प्राज्ञिक सन्देश र स्थानीय सरकार सहित समुदायसंगको सहकार्य संस्कृतिका बारेमा केन्द्रित छ ।
प्राज्ञिक संस्थाहरुको पहिचान, विकास र समृद्धि मूलतः प्राज्ञिक गतिविधिहरुसंग जोडिन्छ । यहाँ प्राज्ञिक गतिविधि भन्नाले उद्देश्यमुलक तवरले आयोजना गरिने सेमिनार, गोष्ठी, प्रशिक्षण, सभा, बैठक, सम्मेलन, आदि सहित अध्ययन र अनुसन्धान, लेखन तथा प्रकाशन समेतलाई बुझाँउछ । समग्रमा प्राज्ञिक गतिविधि मार्फत चलनचल्तिमा रहेको ज्ञानको परिक्षण, नयाँ ज्ञानको खोजी, उत्पादन, सम्पादन तथा वैद्यता प्रदान गरी सम्प्रेषण गर्ने गरिन्छ । विश्व दुनिँयामा प्राचिन समयदेखि होजो आजसम्म जे जति ज्ञानको उत्पादन र भण्डारण भएको छ, त्यो सबै विश्वविद्यालय र मातहतका शैक्षिक निकायहरु मार्फत सञ्चालन हुने विविध गतिविधिहरुबाट सम्भव भएको कुरा निश्चित छ । एउटा शैक्षिक संस्थाका रुपमा यो क्याम्पसले पनि उच्च हिमाली जिल्ला बझाङको आगनीबाट एउटा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरेर देशैभर प्राज्ञिक सन्देश प्रवाह गरेको छ । बझाङ सहित देशैभर र केही नेपाल बाहिरका समेत गरेर झण्डै दुईसय बढी प्राज्ञ, अनुसन्धाता, स्कलर, जनप्रतिनिधि आदिको उपस्थिति र प्रयासमा सम्मेलनका लागि तय गरिएको शीर्षक र थिम अन्तर्गतका दर्जनौं आयाम र मुद्दाहरुमा विज्ञहरुबाट विचार तथा कार्यपत्र प्रस्तुती तथा छलफल भएका छन् । बिशेषतः शिक्षामा नवप्रवर्तन, डिजिटलाईजेसन र सहकार्यका बारेमा प्रस्तुतिहरु मुखरित थिए ।
साँच्चै शिक्षामा नवप्रवर्तनका लागि प्रविधि, साझेदारी र सहकार्यको आवश्यकताका बारेमा सम्मेलन बिशेषतः केन्द्रित रह्यो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तको 'मौलिक र स्थानीय ज्ञान र उच्च शिक्षामा अनुसन्धानको महत्व' लक्षित प्रस्तुतिबाट आम सहभागिहरुले नवप्रवर्तनको दैलो उघारे । अनुसन्धानका माध्यमबाट नेपालका पहाडी र हिमाली (बिशेषतः सुदूरपश्चिम) भेगमा भर्जिन स्वरुपमा रहेका मौलिक सम्पदा र ज्ञानलाई प्रशोधन र प्रवोधीकरण गरी प्रयोगमा ल्याउन सके त्यसले नेपालको विकास र समृद्धिमा अतुलनीय योगदान पुर्याउने बारेमा गहन छलफल भयो ।
सम्मेलनकै उद्देश्यको सेरोफेरोमा नेपाल सरकारका पूर्व सचिव डा. लवदेव अवस्थीले 'उच्च शिक्षामा सहकार्यको अवस्था, आवश्यकता र चुनौती'का बारेमा आफ्नो प्रस्तुति राख्दै विश्वविद्यालयको दायरालाई थप फराकिलो पार्न 'मल्टिभर्सिटी' तर्फ अगाडि बढ्नुपर्ने बारेमा सुझाए । त्यतिमात्र हैन नेपालमा हालसम्म विद्यमान रहेको कक्षाकोठा केन्द्रित पढाई लेखाईको स्वरुप नै पुरानो भएकाले कक्षाकोठा बाहिर निस्केर सिकाइको दायरालाई फराकिलो पार्नुपर्ने कुरा समेत उनको प्रस्तुतीको विषय थियो । सहर्कायको संस्कारबाट मात्र विश्वविद्यालय स्तरीय शिक्षा समृद्ध हुनसक्ने भएकाले राज्यका विभिन्न निकाय तथा देश विदेशका विश्वविद्यालयहरुसंग सहर्काय गर्दै ज्ञानको दायरा फराकिलो पार्न सकिने बारेमा समेत उक्त प्रस्तुति केन्द्रित रह्यो।
सम्मेलनकै सेरोफेरोमा अमेरिका स्थित युनिभर्सिटी अफ म्यासाचुशेट्सका वैज्ञानिका डा. विष्णु जोशीले उच्च शिक्षामा कृतिम बौद्धिकता (एआई)ले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा आफ्नो प्रस्तुति राखे । यसबाट समेत सहभागीहरुले एआईको प्रयोग, दुरुपयोग र चुनौंतिका बारेमा बुझ्ने अवसर पाए । सम्मेलनमा अन्य बिशेष प्रस्तुतीहरु सहित प्यानल छलफल र झण्डै दुईद र्जन बढी कार्यपत्रहरु विभिन्न विज्ञ र अनुसन्धाताहरुबाट प्रस्तुत भए ।
समग्रमा सबै प्रस्तुती मार्फत सम्मेलनको मूल शिर्षकमा आधारित विभिन्न आयामहरुका बारेमा अनुसन्धानमुलक विचारहरु अभिव्यक्त भए । एउटै सम्मेलनबाट विविध विधामा आधारित (शिक्षा, मानविकी, कृषि, प्रविधि, भाषा, इञ्जिनियरिङ, आदि) कार्यपत्रहरुको प्रस्तुतिहरुबाट शिक्षामा नवप्रवर्तनको सोधखोज गरी घनिभूत बिचार विमर्श भयो। समग्रमा यी बिभिन्न प्रस्तुतीहरु मार्फत दुर्गम हिमाली जिल्ला बझाङबाट हामी राष्ट्रियस्तरको प्राज्ञिक सन्देश विश्वभर सम्प्रेषण गर्न सफल भएका छौं । सम्मेलनकै दौरान क्याम्पसद्वारा प्रकाशित अनुसन्धानमुलक जर्नलको पहिलो अंक समेत सार्वजनीक गरियो । यसले समेत सम्मेलनको गरिमा र औचित्यलाई थप उजागर गरेको छ ।
सम्मेलनको अर्को महत्वपूर्ण कुरा त के भने त्यो सम्मेलनको स्वामित्व आयोजक क्याम्पसले मात्र लिएन, विश्वविद्यालय अनुदान आयोग सहित बझाङका १२ वटै स्थानीय तह र व्यवसायीहरुले समेत लिए । सम्मेलनको आयोजना क्याम्पसले गरेता पनि समाजका सबै निकाय, क्षेत्रले अपनत्व लिनु आफैंमा सम्मेलन सफलताको सूचक हो । अझ उदाहरणीय कुरा त के भने स्थानीय तहका प्रमुखहरुकै उपस्थितिमा आगामी सहकार्यको कार्यदिशा तय गर्ने गरी विज्ञहरुसंग सार्वजनिक बहससमेत सञ्चालन भएको छ । स्थानीय सरकारसंग जयपृथ्वी क्याम्पसको सहकार्यको यात्रा यो सम्मेलनबाट आरम्भ भएको छ, आगामि दिनमा यसको अर्थपूर्ण निरन्तरता हुने निश्चित छ । त्यसैगरी यो सहकार्यको यात्रा बझाङका स्थानीय व्यवसायीहरुसंग पनि निरन्तर रहने नै छ ।
यस क्षेत्रको ज्ञान, सीप र स्थानीय सरकार तथा व्यवसायीरुसंग भएको अर्थतन्त्रलाई मन्थन गराएर विद्यालय र उच्चशिक्षालाई नवप्रवर्तन, विकास तथा समृद्धितर्फ मुखरित गराउने यो पहिलो कदम बनेको छ । समग्रमा शैक्षिक संस्थाहरुले समुदायलाई तथा समुदायले शैक्षिक संस्थाहरुलाई हातेमालो गर्दै अगाडि बढ्दा राम्रो हुने कुराको शन्देश सम्मेलनले दिएको छ ।
सम्मेलनमा प्रस्तुत भएका बिचारहरुलाई सम्मेलन देखि सम्मेलनसम्म मात्र सिमित गर्ने सोच छैन, ती सम्पूर्ण बिचारलाई चिन्तन मनन् सहित व्यवहारमा लागु गर्ने तर्फ क्याम्पस अग्रसर छ । समग्रमा सम्मेलनको सेरोफेरोमा उठान भएका बिषयबस्तुको सदुपयोग र कार्यान्वयनमा क्याम्पस केन्द्रित हुने छ । सम्मेलन सम्पन्न भएसंगै तात्कालिक ध्यान त्यसको दस्तावेजीकरण र अभिव्यक्त बिचारको कार्यान्वयनमा छ । त्यस पश्चात अर्को कदम भनेको अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको तयारीमा जुट्ने हो ।
जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुर, बझाङ्गका सहायक क्याम्पस प्रमुख बोहरा, उक्त सम्मेलनका संयोजक हुन् ।
प्रतिक्रिया