Edukhabar
सोमबार, १९ माघ २०८२
गतिविधि

शिक्षामन्त्रीको राजिनामा बारे प्रधानमन्त्रीको स्पष्टोक्ति

दुई चार वटा कानून बनाउन भन्नु भएको थियो ति कानून राम्रै थियो । तर यो छोटो समयमा उहाँलाई सहयोग गर्न हामीले सकेनौं : प्रधानमन्त्री कार्की

सोमबार, १९ माघ २०८२

काठमाडौं - शिक्षामन्त्री महावीर पुनले रिसाएर राजिनामा दिएको प्रधानमन्त्री सुशीला कार्कीले स्पष्ट पारेकी छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै कार्कीले शिक्षाका केही कानून बनाउन पुनले गरेको तयारी पुरा नभए पछि रिसाएर हिँडेको बताएकी हुन् । चुनावी सरकारका मन्त्रीहरु राजिनामा दिदैं आफैँ चुनावमा गएको भन्दै आलोचना भईरहेका बेला प्रधानमन्त्री कार्कीले उक्त कुरा व्यक्तिको अधिकारको विषय भएको बताएकी छन् । 

'पुन जी त रिसाएरै हिँड्नु भएको हो । दुई चार वटा कानून बनाउन भन्नु भएको थियो ति कानून राम्रै थियो । तर यो छोटो समयमा ती कानून बनाएर उहाँलाई सहयोग गर्न हामीले सकेनौं' उनले भनिन् 'त्यो कानुन मूलुककै लागि थियो तर हामीले सकेनौं । अनेक परिस्थिती हुन्छ सबै कुरो हुदैंन त्यसै कारण उहाँले राजिनामा गर्नु भयो ।' 

नियुक्त भएको एक सय २१ दिनमा गत माघ ६ गते शिक्षामन्त्री पुनले पदबाट राजिनामा दिएका थिए । छन् । जेन जी बिद्रोहको जगमा बनेको सरकारमा गत असोज ६ गते पुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीमा आएका थिए । 

मन्त्री पुनले अध्यादेश मार्फत् भए पनि शिक्षा ऐन जारी गर्ने भन्दै आन्तरिक कार्य गरिरहेका उनको सचिवालयका व्यक्तिहरुले बताउँदै आएका थिए । ऐन जारी गर्न नसकिने भए शिक्षा नियमावली संशोधन गर्ने उनको तयारी रहेको चर्चा थियो ।

तर यो तयारी पुरा नभए पछि पुनले उम्मेद्वारी दर्ताकै दिन राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् । आफूलाई रिस उठेर उम्मेद्वारी दिएको भन्दै पुनले सार्वजनिक अभिव्यक्ति दिदैं आएका छन् । 

राजीनामा दिएर चुनावमा होमिएका अन्य मन्त्रीबारे पनि प्रधानमन्त्री कार्कीले सकारात्मक टिप्पणी गरेकी छन् । सरकारमै बसेर चुनाव लड्ने भन्ने नहुने बारेमा आफूले पहिल्यै स्पष्ट पारेको स्मरण गर्दै उनले सरकारै छाडेर गइसकेको व्यक्तिका बारेमा निर्वाचन लड्न पाउने व्यक्तिको अधिकारका रुपमा उनले अथ्र्याएकी छन् ।   

'चुनावमा जान्छौ भने राजीनामा दिएर जाऊ बिदाइ गरिदिन्छु केही छैन भनेको थिएँ ।’ उनले भनिन् ‘राजीनामा दिएर जानेहरूसँग अहिले सम्पर्क पनि छैन, खादा ओढाएर बिदा गरेका हौँ, तिनीहरूले चिया मात्रै खाएर काम गरे ।'

गत भदौमा भएको जेन जी बिद्रोह पछि मुलुकको अवस्था सम्हाल्न प्रधानमन्त्री बनेकी कार्कीले जेन जी अगुवाहरुको दबाबमा मन्त्री बनेको पनि बताईन् । अहिले निर्वाचनमा भाग लिन गएका केही मन्त्रीहरु राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट निर्वाचन लड्न लागेको तर्फ लक्षित गर्दै सरकारलाई नै रास्वपाको हो भन्ने भाष्य प्रति असन्तुष्टि पनि व्यक्त गरिन् । निर्वाचन लड्नु व्यक्तिको आआफ्नो अधिकार भएको उनले दोहार्याईन् 

सदाचार नीतिसम्बन्धी प्रतिवेदनको छलफलका क्रममा कार्की पहिलो पटक संसद बैठकमा सम्बोधन गर्न पुगेकी थिईन् । लिखित सम्बोधनमा उनले आफूलाई परिस्थितिले वाध्य बनाएर यो ठाउँसम्म ल्याएको बताउँदै तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन गरी दलकै नेतृत्वमा बन्ने सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उल्लेख गरिन् । 

प्रतिक्रिया