काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब देखि विद्यार्थीले गरेका अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिभा तथा योगदानको पनि अङ्क प्राप्त गर्ने समाचार छ । विश्वविद्यालयले देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई औपचारिक रूपमा शैक्षिक अङ्कभार (एकाडेमिक क्रेडिट) मा समावेश गर्ने नीति बनाएको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीका अनुसार विद्यार्थीले सामाजिक सेवा, विपद् व्यवस्थापन, खेलकुद, ललितकला, विज्ञान–प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा व्यवस्थापन जस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेमा त्यसको मूल्याङ्कन गरी शैक्षिक प्रमाणपत्रमै अङ्कका रूपमा समावेश गरिनेछ ।
प्रत्येक क्याम्पसमा राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा विज्ञान, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता कार्यक्रमका संयोजकहरूले हरेक सेमेष्टरमा विद्यार्थीको सहभागिता, संलग्न समय (घण्टा) तथा कार्यसम्पादन सम्बन्धी आधिकारिक अभिलेख पेश गर्नुपर्ने व्यवस्था गरिएको समाचारमा उल्लेख छ । ती विवरणहरू त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट प्रमाणीकरण र स्वीकृत गरिने समाचारमा जनाइएको छ । त्यसको लागि विद्यार्थीका सम्पूर्ण गतिविधि, सहभागिता घण्टा र प्राप्त क्रेडिट अङ्क अभिलेख गर्न केन्द्रय डिजिटल प्रणाली विकास गरिने समाचारमा उल्लेख छ ।
त्यस्तै त्रिविका सबै केन्द्रीय विभागमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई शिक्षण सहायक वा अनुसन्धान सहायकका रूपमा नियुक्त गरी विश्वविद्यालय भित्रै सेवा गर्ने अवसर प्रदान गर्ने नीति पनि अघि सारिएको समाचार छ ।
त्रिविमा परीक्षा सम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौँ नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गर्दै परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वारमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा धर्ना सुरु गरेको समाचार छ ।
त्रिभुवन विश्वविद्यालयमा नेकपा निकट अखिल क्रान्तिकारीले लगाएको ताला प्रशासनको सहयोगमा खुलेपछि क्रान्तिकारीका त्रिवि अध्यक्ष दिनेश ऐरले भौतिक आक्रमण गर्ने धम्की दिएको पदाधिकारीहरूले गुनासो गरेको समाचार छ । त्रिविले शुल्कका सम्बन्धमा सहमति अनुसार शुल्क पुनरावलोकन कार्यदल गठन गरी काम अघि बढाएको हुनाले विद्यार्थीका माग सम्बोधन गर्ने चरणमा रहेको उपकुलपति दिपक अर्यालको भनाई समाचारमा समेटिएको छ ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको ६ वटा समूहका लागि स्टार्टअप विजनेस अनुदान सम्झौता गरिएको समाचार छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी अनुदान प्रदान गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीको ३ देखि ५ जनासम्मको समूह बनाएर नवीनतम व्यवसायका लागि अनुदान दिइएको समाचारमा उल्लेख छ ।
शिक्षाविद् केदारभक्त माथेमाले नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयको डिग्री प्राप्ति गर्नु शिक्षाको अन्त्य नभई ज्ञानको नयाँ चरणको सुरुवात मात्र भएको बताएका छन् । खुला विश्वविद्यालयका विद्यार्थी बढी परिपक्व, जिज्ञासु र स्वअध्ययनशील हुने भएकोले दूरशिक्षा पद्धतिले मानिसमा आत्मअनुशासन र जीवनभर सिकिरहने चेतना विकास गर्ने उनले बताएका छन् । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री सुशीला कार्कीले खुला तथा दूर सिकाइ मार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन विश्वविद्यालयले प्रयास गरिरहेको बताएकी छिन् ।
नेपाल विश्वविद्यालय र भारतको प्रतिष्ठित विश्वविद्यालय इण्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी) बैंगलोरबिच प्राज्ञिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको समाचार छ । दुई संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र अन्य शैक्षिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा माघ २९ देखि आगामी फागनु १ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । ‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्याण्ड, दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिका लगायत १२ देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धनकर्ता तथा विद्यार्थी गरी तीन सय भन्दा बढी सहभागी हुने समाचारमा उल्लेख छ ।
काठमाडौँ महानगरपालिकाको ८७ सार्वजनिक विद्यालयमा विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि भर्ना हुन आउने नयाँ बालबालिकाको संख्यामा वृद्धि भएको छ । सरस्वती पूजाका दिन महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार एक सय १५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरिएको समाचार छ । यसरी अक्षरारम्भ गर्नेहरूमा पाँच सय २५ जना छात्रा र पाँच सय ९० जना छात्र छन् । समाचार अनुसार गतवर्ष नौ सय ७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए ।
सिन्धुपाल्चोकमा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिकामा पढाउने शिक्षक जितराज गिरी पक्राउ परेका छन् । १२ वर्षीया विद्यार्थीलाई दुव्र्यवहार गरेको भन्दै शिक्षकविरूद्ध उजुरी परेको समाचारमा उल्लेख छ ।
धनसूदन चौलागाईले गोरखापत्रमा बालबालिकाको अन्तर्निहित प्रतिभा प्रष्फुटनको अवसर सिर्जना गर्न शिक्षक मुख्य सहजकर्ता हुनुपर्ने र त्यसको लागि शिक्षण पेशामा सक्षम र दक्ष जनशक्ति आकर्षित गरी तिनको प्रतिभाको पूर्ण उपयोग गर्न सकिएमा मात्र शिक्षालाई गुणस्तरीय बनाउन सकिने लेखको सार छ ।
प्रा.डा. एकारत्न आचार्यले गोरखापत्रमा पाठ्यक्रमलाई महत्व नदिइ बढी मेहनत गरेर पठनपाठन गरे तापनि पाठ्यक्रमको गाम्भीर्यता अनुकूल विद्यार्थीलाई शिक्षण गर्न नसक्दा राम्रो नतिजा नआएको लेखेका छन् । लेखमा शिक्षकले विद्यार्थीलाई जीवनका हरेक क्रियाकलापमा नङ र मासुको जस्तो सम्बन्ध रहेको बुझाउनु पर्ने, शिक्षकले पढाउँदा विषयगत तथ्य व्यावहारिक र सामाजिक परिवेशमा आधारित बनाउनु पर्ने उनले सुझाव दिएका छन् ।
प्रा.डा. बालमुकुन्द रेग्मीले गोरखापत्रमा देशको व्यवस्थापन क्षमता, आवश्यकतालाई एकातिर पन्छाएर लहड र हचुवाको भरमा सार्वजनिक सम्पत्ति खर्च गरी जथाभाबी स्कुल कलेजदेखि विश्वविद्यालयसम्म खोल्ने विकृति बढेको लेखमा उल्लेख छ ।
साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ माघ १० देखि १६ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका सामग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया