Edukhabar
मंगलबार, २० माघ २०८२
गतिविधि

बालबालिकासँगको सम्बन्धबारे अभिभावकसँग विद्यालयको छलफल

के बालबालिकाले आफ्ना अभिभावकसँग मनमा लागेका कुरा सहजै भन्न सक्छन् ? कि अभिभावक र बालबालिका बिचको सम्बन्ध टाढिदैं गएको छ ?

मंगलबार, २० माघ २०८२

भक्तपुर - आफ्ना बालबालिकासँग आफ्नो सम्बन्ध कस्तो छ ? के बालबालिकाले आफ्ना अभिभावकसँग मनमा लागेका कुरा सहजै भन्न सक्छन् ? कि अभिभावक र बालबालिका बिचको सम्बन्ध टाढिदैं गएको छ ? 

यस्तै यस्तै प्रश्न र अवस्थाका बारेमा चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित देवी माध्यमिक विद्यालयले आफ्ना अभिभावकसँग छलफल गरेको छ । असल अभिभावकत्व विषयमा भएको छलफलमा परामर्शकर्ता कमल सिलवालले बालबालिका र अभिभावक बिचको दैनिक व्यवहारका बारेमा मिहिन ढंगले केलाए । छलफल, अभिभावकहरूका आफ्नै व्यवहार, आफ्नै पारिवारिक अभ्यास र आफ्नै यथार्थसँगको प्रतिविम्बमा केन्द्रित गरिएको थियो । 

'बच्चा चुप लागोस् भनेर मोबाइल दिने हामी नै पछि गुनासो गर्छौँ कि मेरो बच्चा मसँग बोल्दैन' सिलवालले यसो भन्दै गर्दा  सहभागि अभिभावकलाई आत्ममूल्याङ्कनको क्षणमा पुर्याएको थियो । 

बालबालिकाको हुर्काईमा विद्यालय र घरको भूमिकालाई स्पष्ट पार्दै सिलवालले भने 'विद्यालय परीक्षणशाला हो भने घर वास्तविक प्रयोगशाला हो । शिक्षकले मार्गदर्शन गर्नुहुन्छ, तर बालबालिकाको चरित्र, अनुशासन, व्यवहार र मानसिक स्वास्थ्य मुख्यतः घरमै निर्माण हुन्छ ।' 

अंक, परीक्षा र प्रतिस्पर्धामै सीमित सोचले बालबालिकालाई अनावश्यक दबाबमा पार्ने र उनीहरूको आत्मविश्वास कमजोर बनाउने उल्लेख गर्दै उनले अभिभावकहरूले अञ्जानमा गर्ने गम्भीर त्रुटिका रूपमा तुलना गर्ने प्रवृत्तिलाई औँल्याए ।

'छिमेकीको छोरा, मामाघरको छोरी वा सामाजिक सञ्जालमा देखिने बालबालिकासँग तुलना गर्दा आफ्ना बालबालिकाको आत्मबल क्रमशः क्षीण हुँदै गएको पत्तै पाईँदैन' उनले भने 'यस्तो तुलनाले तत्काल देखिने समस्या नभए पनि दीर्घकालीन रूपमा बालबालिकाको सोच, निर्णय क्षमता र व्यवहारमा गहिरो असर पर्ने गरेको छ ।' 

त्यसैगरी, डर, धम्की र कुटपिटलाई अनुशासनको माध्यम ठान्ने सोच बदल्न शिक्षक र अभिभावक दुवै पक्ष गम्भिर बन्नु पर्ने बताउँदै सिलवालले समस्या समाधानको उपाय बालबालिकालाई सजाय नभएकोमा जोड दिए । 

'डरले बालबालिका केही क्षणका लागि शान्त त हुन्छन्, तर सच्चिदैनन्' उनले भने ।  

संवाद, समझदारी र विश्वासबाट मात्र दीर्घकालीन सुधार सम्भव हुने उनको जोड थियो । 

devi_BHKT_parents
'असल अभिभावकत्व' विषयमा विद्यालयमा भएको छलफल

अन्तरक्रियात्मक विधिबाट सञ्चालन गरिएको अभिभावक अभिमुखीकरणमा अभिभावक शिक्षाको अभावमा कैयौं बालबालिकाहरू विद्यालयका साथै आफ्नै घरमा दबाबपूर्ण जीवन बिताउन बाध्य भएको समेत निष्कर्श प्रस्तुत गरिएको थियो । यसलाई न्यूनीकरण गर्न बालबालिकाका पहिलो शिक्षकका रूपमा रहेका आमाबाबुलाई सिकाइ र बालबालिकाको मनोविज्ञानबारे कक्षा सञ्चालन गर्नुपर्ने विषय पनि कार्यक्रममा उठेको छ । 

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै विद्यालयलाई समस्या पर्दा नभई आफ्ना सन्तानको शैक्षिक र व्यवहारिक प्रगतिबारे बुझ्न पनि अभिभावकहरू नियमित रूपमा विद्यालयसँग सम्पर्कमा रहनु आवश्यक रहेको बताए । 

चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यातले शिक्षाको गुणस्तर सुधार विद्यालयको मात्र दायित्व नभई घर, विद्यालय र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गरे । कार्यक्रममा विव्यस पदाधिकारी, अभिभावक शिक्षक संघका पदाधिकारी, सल्लाहकार, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता कार्यक्रम आत्ममन्थन र  जिम्मेवारीको बोध गर्न सहयोगी भएको र आफ्नै भूमिकालाई पुनः मूल्याङ्कन गर्ने र बालबालिकासँगको सम्बन्धलाई नयाँ दृष्टिले हेर्ने अवसर भएको प्रतिक्रिया दिए ।

विद्यालयले अभिभावक उत्प्रेरणा कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया