Edukhabar
बुधबार, ०६ फागुन २०८२
गतिविधि

छोरा छोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने प्रतिज्ञा

शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिने

बुधबार, ०६ फागुन २०८२

जनकपुर - प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसले कुनै पनि नेपालीले आफ्ना छोरा छोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने प्रतिज्ञा गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार दिउँसो आयोजित प्रतिज्ञा सभामा कांग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरुले घोषणा पत्रको रुपमा भिजन १० सार्वजनिक गरेका हुन् । उक्त भिजन १० को बुँदा नम्बर ६ मा शिक्षाका विषय समेटिएको छ । 

'हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होईन राष्ट्रको सबैभन्दा महत्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुने छ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट बञ्चित हुने छैन' उक्त बुँदामा भनिएको छ 'शारीरिक पोषण पूरा भएका नानीबाबुहरुमा सिकाइको क्षमता बढ्छ । त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ ।'

सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल विताउन पाउने उल्लेख गर्दै उक्त बुँदामा प्रि प्राईमरीदेखी विश्वविद्यालय सम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरु विद्यार्थीको सिर्जनशीलता र नवप्रवर्तनको उच्चतम् प्रयोग र प्रोत्साहन हुने केन्द्र हुने उल्लेख छ ।  

'जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधाररित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउने छ' उक्त बुँदामा भनिएको छ ।

प्रतिज्ञापत्रमा प्रस्तुत सिद्धान्त, नीति र आगामी पाँच बर्षका लागि भएको र यी कार्यक्रमहरु पाँच बर्ष भित्रै हासिल हुन सक्ने लक्ष्य नभएको स्विकार गर्दै कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रको भिजन १० कांग्रेसले बनाउन चाहेको सुन्दर नेपालको तस्बीर भएको उल्लेख गरेको छ । 

सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसले २७ बुँदामा प्रतिज्ञा गरेको बताए । देश एक्लैले कसैले बनाउन नसक्ने भन्दै उनले टीम नेपालको अवधारणा अनुसार आफूले काम गर्ने बताए । उक्त टीम नेपालमा वडा तह देखि, एमाले, रास्वपा, नेकपा सहितका दल र धार्मिक लगायतका संघ संस्थाहरु समेत जोडेर देश निर्माण गर्ने बताए । बदलिएर आएको कांग्रेसले अबको पाँच बर्ष जिम्मा लिएर काम गर्न आएको बताए । 

थापाले प्रतिज्ञा पत्रमा उल्लेख विषय माथि खुल्ला छलफल गर्ने कार्यक्रम तय भएको उपसभापति शार्मले बताए । बिहीबार दिउँसो काठमाडौको राष्ट्रिय सभागृहमा प्रश्न लिएर आउन सामाजिक सञ्जाल मार्फत् थापाले सार्वजनिक आह्वान गरेका छन् । 

१० भिजनको पहिलो बुँदामा सम्मानित भएर बाँच्न पाउने नेपाल निर्माण गर्ने, दुई मा सपना देख्न सक्ने नेपाल बनाउने उल्लेख छ । यस्तै बुँदा नम्बर तीनमा सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल बनाउने कांग्रेसको प्रतिज्ञा छ । यस्तै बुँदा नम्बर चारमा पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल बनाउने, बुँदा नम्बर ५ मा ओखती र ओत दिने नेपाल बनाउने प्रतिज्ञा छ । यस्तै बुँदा नम्बर सातमा बेथिती र हैरानीमुक्त विधिको शासन भएको नेपाल बनाउने, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल निर्माण गर्ने कांग्रेसको प्रतिज्ञा छ । 

प्रतिक्रिया