काठमाडौ - पहिलो दिनमा कुनै एउटा औपचारिक निर्णय गर्ने शैलीलाई रोक्दै नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले पदवहाली गरेका छन् । पद तथा गोपनीयताको सपथ खाएपछि मन्त्रालय पुगेर कुनै एक टिप्पणी फाईलमा मन्त्रीले 'सदर' हस्ताक्षर गर्ने शैली कायम छ । पदवहाली गरेकै दिन कुनै एउटा निर्णय गर्नै पर्ने वा टिप्पणीमा हस्ताक्षर गर्नै पर्ने भन्ने कुनै वाध्यकारी व्यवस्था छैन । यद्यपी मन्त्री नियुक्त भएपछि पहिलो निर्णय भन्दै कर्मचारीले तयार पारेको टिप्पणी फाईलमा मन्त्रीले 'सदर' हस्ताक्षर गर्ने शैली कायमै छ ।
आफूले यस्तो शैलीलाई नपच्छ्याउने पोखरेलको शन्देश पछि कुनै पनि फाईल तयार नपारेको मन्त्रालयका उच्च अधिकारीले बताए ।
'फाईलमा हस्ताक्षर गर्नै पर्छ भन्ने केही छैन, विस्तृतमा बुझौंला अनी काम गरौंला भन्ने मन्त्रीको शन्देश प्राप्त भएको थियो' ती अधिकारीले भने 'त्यही अनुसार हामीले परिचय र ब्रिफिङ्को सेड्युल मात्रै तयार पारेका थियौं ।'
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ खाए लगत्तै शिक्षा मन्त्रालय पुगेका मन्त्री पोखरेललाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरु चुडामणि पौडेल र रामआधार साह लगायतका कर्मचारीले माला र गुच्छा सहित स्वागत गरेका थिए । कार्यकक्षमा केही बेर बसे पछि बैठक कक्षमा प्रस्तुत ब्रिफिङ्मा उनी सहभागी भए । शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शिवकुमार सापकोटाले शिक्षा क्षेत्रमा तत्काल सुधारका एजेण्डाका बारेमा प्रस्तुती दिएका थिए । विद्यालय क्षेत्र, टिभेट, चिकित्सा शिक्षा, उच्च शिक्षा, विज्ञान तथा प्रविधि र विविध गरी ६ शिर्षकमा केन्द्रित रहेर एजेण्डा प्रस्तुत गरे । उनको प्रस्तुतीमा नीतिगत विषय सम्बोधन गर्न विद्यालय तह र उच्च शिक्षाको छाता ऐन निर्माणको विषय प्राथमिकतामा थियो ।
उनको प्रस्तुती पछि मन्त्री पोखरेलले 'पाईपलाईन'मा भएका कानूनका मस्यौदाहरुलाई प्राथमिकतामा राख्दै निरन्तरता दिने बताए । शिक्षामा बजेटको विषय र विद्यालय एवं विश्वविद्यालयमा जारी दलगत राजनीतिक प्रभावलाई अन्त्य गर्न आफू केन्द्रित हुने उनले बताए ।
'विश्वविद्यालय र विद्यालय क्षेत्रमा जारी दलगत राजनीतिक गतिविधिलाई अन्त्य गर्नु पर्ने छ' उनले भने 'नेपालको शिक्षालाई विश्वस्तरीय प्रतिस्पर्धामा पुर्याउने गरी काम गर्नु पर्ने छ ।'
शिक्षा क्षेत्रका लागि विनियोजित बजेट कम भएको बताउँदै उनले अहिले बजेट निर्माणका लागि धेरै तयारी भईसकेकोले यसै बर्ष सबै कुरा समेट्न नसके पनि आगामी आर्थिक बर्षलाई केन्द्रमा राखेर काम गर्ने बताए ।
'अहिले शिक्षा क्षेत्रका लागि पुग नपुग १० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको छ, यो पुग्दो हैन भन्ने मेरो बुझाई हो' उनले भने 'यो पालि नै सकिन्छ सकिन्न समय थोरै छ, तर आउँदो बर्ष बजेट वृद्धि गर्ने हो ।'
अहिले धेरै बोल्नु भन्दा पनि काम गर्ने बेला भएको बताउँदै उनले आफूले शिक्षा क्षेत्रमा काठमाडौ महानगरपालिकामा रहँदा गरेको काम प्रभावकारी भएको स्मरण गरे । उक्त मोडललाई देशै भरी लैजाने पनि उनले बताए ।
'तीन बर्ष महानगरमा बसेर शिक्षा क्षेत्रमा उर्जा र उत्साह सहित गरिएको काम सबै पालिकामा रिप्लिकेट गर्ने हो' उनले भने ।
विवेकशील अभियानबाट सामाजिक काममा संलग्न पोखरेल प्रधानमन्त्री बालेन्द्र शाह महानगरको मेयर हुँदा शिक्षाको विज्ञ सल्लाहकारका रुपमा कृयाशिल थिए ।
जेनजी बिद्रोहको जगमा भएको निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टि र शाह बिच समझदारी भएसँगै पोखरेल काठमाडौ क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका थिए । उनले नेपाली कांग्रेसका महमन्त्री प्रदीप पौडेल र एमालेका नेता ईश्वर पोखरेललाई पराजित गरि संसदीय राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् ।
उनलाई युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी तोकिएको छ । शिक्षा लगत्तै उनले युवा तथा खेलकुद मन्त्रालयमा पुगेर पदवाहली गरे । मन्त्रालयको संख्या घटाउने रास्वपाको नीति अनुसार अहिले भएका विभिन्न २२ मन्त्रालयमा प्रधानमन्त्री बालेन्द्र शाह सहित १५ जना मन्त्रीलाई बाँडफाँट गरी जिम्मेवारी तोकिएको छ । अहिले एउटा मन्त्रीको भागमा पारिएका थप मन्त्रालयहरुलाई पनि एउटैमा गाभ्ने गरी रास्वपाले तयारी गरेको जनाईएको छ ।
प्रतिक्रिया