Edukhabar
विहीबार, २६ चैत्र २०८२
गतिविधि

नयाँ शैक्षिक सत्रको पठनपाठन बैशाख २१ बाट, त्यस अघि पाँच काम गर्नु पर्ने

नयाँ शैक्षिक सत्रको कार्ययोजनाको सूची तय, कार्यान्वयन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई अनुरोध

विहीबार, २६ चैत्र २०८२

भक्तपुर - नयाँ शैक्षिक सत्रको पठनपाठन बैशाख २१ गतेबाट शुरु गरिने भएको छ । बैशाख १५ गतेबाट शैक्षिक सत्र शुरु गर्ने सरकारको निर्णय पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि कार्यक्रम तय गरेको हो । उक्त कार्यक्रम तय गरी कार्यान्वयन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई केन्द्रले अनुरोध गरेको छ । जस अनुसार बैशाख १५ गतेबाट भर्ना अभियान शुरु गर्ने र २१ गतेबाट पठनपाठन शुरु गर्ने तय गरिएको हो । 

यस बिचमा विभिन्न पाँच वटा कार्य गर्न पनि केन्द्रले अनुरोध गरेको छ । नयाँ शैक्षिक सत्रको कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण र तयारी गर्ने, विद्यालय सुधार योजना निर्माण र अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरु सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधार सम्बन्धी योजना निर्माण गर्न केन्द्रले भनेको छ । 

गत चैत २२ गतेको मन्त्रीपरिषद् बैठकले नयाँ शैक्षिक सत्र बैशाख १५ गतेबाट शुरु गर्ने निर्णय गरेको थियो । चैत २३ गते देखि साताको दुई दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने सरकारको निर्णय पछि परिवर्तित सन्दर्भमा शैक्षिक गतिविधि तय गर्न केन्द्रले निर्णय गरेको हो । उक्त सन्दर्भका आधारमा सबै स्थानीय तह र विद्यालयहरुलार्य समन्वय र सहजीकरण गरिदिन शिक्षा मन्त्रालयले केन्द्रलाई परिपत्र गरेको थियो । सोही आधारमा बिहीबार बसेको केन्द्रको बैठकले उक्त निर्णय गरेको निर्देशक डा. श्याम प्रसाद आचार्यले बताए । 
 

प्रतिक्रिया