Edukhabar
शुक्रबार, ०५ असार २०८३
गतिविधि

कक्षा १२ को अन्तिम नतिजा सार्वजनिक

नतिजा अनुसार ६४ दशमलब १३ प्रतिशत परीक्षार्थी ग्रेडेड

शुक्रबार, ०५ असार २०८३

भक्तपुर - कक्षा १२ को अन्तिम नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ६४ दशमलब १३ प्रतिशत परीक्षार्थी ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  जस अनुसार नियमिततर्फ ६९ दशमलब ७५ र आंशिकतर्फ ४२ दशमलब ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ । दुबै वर्गको नतिजा अनुसार समग्रमा ६४ दशमलब १३ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका हुन् । 

नियमिततर्फ यस बर्ष तीन लाख ३२ हजार दुई सय ४१ र आंशिकतर्फ ८५ हजार नौ सय २९ गरी कुल चार लाख १८ हजार एक सय ७९ परीक्षार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ तीमध्ये नियमिततर्फ दुई लाख ३१ हजार सात सय ७० र आंशिकतर्फ ३६ हजार चार सय २० जना गरी कुल दुई लाख ६८ हजार एक सय ९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

परीक्षामा अनियमितता गरेको भन्दै बोर्डले ४० परीक्षार्थीमाथि कारबाही गरेको जनाएको छ । तीमध्ये ३० जना नियमित तर्फ र १० जना आँशिक तर्फका छन् । ३८ जनाको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ ।

नतिजा अनुसार सबै भन्दा धेरै २.८१ देखि ३.२० सम्म जीपीए ल्याउने ९४ हजार दुई सय ४९ जना विद्यार्थी छन् । ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार सात सय ८६, ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार आठ सय २१ छन् ।  त्यसैगरी २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार पाँच सय ९७, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार तीन सय आठ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या नौ जना रहेको बोर्डले जनाएको छ ।

12
class 12 result

परीक्षाफल बोर्डको वेबसाइट result.neb.gov.np र neb.gov.np,  नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np , एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

नतिजामा चित्त नबुझेका परीक्षार्थीले असार ६ गते देखि १२ गते सम्म पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्नेछन् । यसका प्रति विषय एक हजार रुपैयाँ शुल्क तोकिएको छ । 

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।

प्रतिक्रिया