Edukhabar
मंगलबार, १२ साउन २०८३
गतिविधि

गोविन्द केसीको सत्याग्रह अन्त्य, शिक्षण अस्पताल सञ्चालन प्रक्रिया तत्काल अघि बढाइने

सहमतीमा सकृय सांसद भन्छन् : फेरि अनशन बस्नुपर्ने बाध्यता सिर्जना हुनु पक्कै पनि सुखद होइन । तर, अब उपरान्त देशमा त्यस्तो अवस्था आउन दिने छैनौँ ।

मंगलबार, १२ साउन २०८३

कैलाली - गेटामा शिक्षण अस्पताल सञ्चालन प्रक्रिया तत्काल अघि बढाइने लगायतका सात बुँदे सहमतीसँगै प्रा.डा. गोविन्द केसीको २४ औं सत्याग्रह अन्त्य भएको छ । सोमबार अबेर भएको सहमती अनुसार शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरि गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तिमा तीन सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ । 

चिकित्सा शिक्षा क्षेत्रको वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका केसीले गत विहीबार देखि आफ्नो २४ औं सत्याग्रह धनगढीमा शुरु गरेका थिए । सरकारद्वारा गठित वार्ता टोली र केसीबीच एमबिबिएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गर्ने सहमति भएको छ । 

विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ संशोधन प्रक्रिया बढीमा तीन महिनाभित्रै अघि बढाउन सरकार समक्ष प्रस्ताव पेस गर्ने सहमती पनि भएको छ । चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सिट निर्धारण गर्ने, निजी मेडिकल कलेजमा सिट संख्या नबढाइने, तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सिट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहने र छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने सहमती भएको छ । यसैगरी चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने कानुनी व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष पेस गर्ने र उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहित प्रतिवेदन बुझाउने सहमती भएको छ । विगतका सरकारहरुले केसीसँग गरेका सहमतिहरूको कार्यान्वयन अवस्थाको अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगका प्रतिनिधि रहने गरी तीन महिनाभित्र कार्यदल गठन गरिने र कार्यान्वयनको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति रहने सहमती पनि गरिएको छ ।

सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टिका संघीय सांसद पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमती पछि सांसद बलले यो सँगै सुदुरपश्चिमको सपना साकार हुने बाटोमा अघि बढेको दावी गरेका छन् । 

'म लगायत हामी सबैजना सुरुदेखि नै यस प्रक्रियामा सक्रिय थियौँ । पहिले डा. केसी सरका मागहरू लिएर म आफैँ आन्दोलनमा होमिने गर्थें । आज म सांसद हुँदा समेत उहाँ फेरि अनशन बस्नुपर्ने बाध्यता सिर्जना हुनु पक्कै पनि सुखद होइन' उनले भनेका छन् 'तर, अब उपरान्त देशमा त्यस्तो अवस्था आउन दिने छैनौँ ।'

सरकारी वार्ता टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल सहभागी थिए ।

सहमतीको पूर्ण पाठ :

GovindaKc_24_01
प्रा.डा. केसीसँग भएको सहमती
GovindaKc_24_02
प्रा.डा. केसीसँग भएको सहमती

 

प्रतिक्रिया