Edukhabar
मंगलबार, १२ साउन २०८३
गतिविधि

पूर्व शिक्षामन्त्री श्रेष्ठको निधन

श्रेष्ठको नेतृत्वमा गठित आयोगबाट प्रस्तुत प्रारम्भिक प्रतिवेदनको समेत स्वामित्व ग्रहण गरेर नयाँ आयोगले प्रतिवेदन तयार पारेको थियो ।

मंगलबार, १२ साउन २०८३
फोटो : एडुखबर अर्काईभ ...

काठमाडौ - पूर्व शिक्षामन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ । नेपाली कांग्रेसका नेता श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचार भईरहेको थियो । केही समयदेखि ललितपुरको जावलाखेल स्थित हेलियस अस्पतालमा उपचाररत उनको सोही अस्पतालमा निधन भएको हो ।

जेनजी बिद्रोह पछि पार्टिमा देखिएको तिव्र ध्रुविकरणका बेला श्रेष्ठले विशेष महाधिवेशन पक्षमा आफूलाई उभ्याएका थिए । कांग्रेसका सभापति गगन थापाले केही दिन अघि मात्रै उनलाई आउँदो बैठकबाट औपचारिक रुपमा वरिष्ठ नेता बनाउने निर्णय गर्ने सार्वजनिक गरेका थिए । 

स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित श्रेष्ठ कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको गठवन्धन सरकारमा २०७४ साल जेठ २४ गते शिक्षा मन्त्री भएका थिए । २०७४ भदौ १९ मा उनकै अध्यक्षतामा सरकारले उच्च स्तरीय शिक्षा आयोग गठन गरेको थियो । व्यवस्था सहित देशको संरचना बदलिएको अवस्थामा तदनुकुल शिक्षा नीति अख्तियार गर्न भन्दै आयोग गठन गरिए पनि आयोगमा स्वार्थ समूहका व्यक्ति राखिएको भन्दै आलोचना भएको थियो । श्रेष्ठले प्रारम्भिक तह देखि उच्च शिक्षा सम्मको नीति तय गर्न भन्दै गठन गरेको आयोग शुरु देखि नै विवादीत भएको थियो । दलको भागबण्डामा, आफ्ना निकटका कार्यकर्ता र निजी विद्यालय सञ्चालकहरुलाई राखेर गठन गरेको भन्दै उनको आलोचना भएको थियो । 

पढ्नुहोस् : शिक्षा आयोगको संरचनामै विमती, हुलले काम नगर्ने तर्क

शिक्षा आयोग भंग गर्न सांसदको माग, भन्छन् - आयोगमा माफियाहरु !

शिक्षा आयोग की भारदारी सभा ?

कांग्रेस सहित तत्कालिन माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सहितको गठबन्धन सरकार ढलेसँगै उनी शिक्षामन्त्रीबाट हटेका थिए । उक्त आयोगले तोकिएको समयमा काम नसके पछि सरकारबाट बर्हिगमन हुँदै गर्दा मन्त्री श्रेष्ठले आयोगको समय ४ महिना थप गराएका थिए । उक्त समय पनि २०७५ जेठ १९ गते सकिए सँगै पुरानो आयोग निस्कृय भएको भन्दै त्यस पछि मन्त्री भएका माओवादीका गिरिराजमणि पोखरेलको अध्यक्षतामा २०७५ असार ४ गते नयाँ आयोग गठन गरिएको थियो । नयाँ आयोगले श्रेष्ठ  नेतृत्वमा गठित आयोगबाट प्रस्तुत प्रारम्भिक प्रतिवेदनको समेत स्वामित्व ग्रहण गरेको थियो ।

नेपाली कांग्रेसको फुट पछि बनेको कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति समेत रहेर श्रेष्ठले काम गरेका थिए । उनले विभिन्न सरकारमा भौतिक योजना, वन, उद्योग लगायतका मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए ।  

देशमा प्रजातन्त्रका पक्षमा कांग्रेसले गरेको संघर्षका बेला उनी विभिन्न समयमा गरी ५ वर्ष जेलसमेत परेका थिए । २०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी थिए । वि.सं. २००० सालमा स्याङ्जाको पुतलीबजारमा जन्मेका श्रेष्ठ पहिलो संविधान सभा निर्वाचन २०६४ मा पनि स्याङ्जाबाटै निर्वाचित भएका थिए । श्रेष्ठका ३ छोरा र ६ छोरी छन् । 

श्रेष्ठ शिक्षामन्त्री भए पश्चात २०७४ असार ५ गते एडुखबरले लिएको अन्तर्वार्ता पनि पढ्नुहोस् : 

शिक्षा मन्त्रीलाई प्रश्न : रोजेर शिक्षा मन्त्री हुनु भएको की आईलागेको ?

प्रतिक्रिया