भक्तपुर - शिक्षक सेवा आयोग अध्यक्षका लागि पाँच र दुई सदस्यका लागि ३३ जनाको दरखास्त स्वीकृत भएको छ । आयोगमा एक अध्यक्ष र एक महिला सहित दुई सदस्य रहने प्रावधान छ । गत भदौको जेनजी बिद्रोहको जगमा भएको निर्वाचन पश्चात गठित राष्ट्रिय स्वतन्त्र पार्टिको सरकारले सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गरेसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी सहित सदस्यहरु रामशरण सापकोटा र पवित्रा सुवेदीको नियुक्त एकमुष्ट रुपमा खारेजीमा परेको थियो । त्यस सँगै आयोग नेतृत्व विहीन थियो ।
लामो समय शिक्षा मन्त्रालयमा काम गरेर सचिव भए पछि विभिन्न निकाय हुँदै अन्तिममा राष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा गत फागुनमा अवकास भएका पूर्व सचिव डा. हरि प्रसाद लम्सालले अध्यक्ष पदका लागि हालेको आवेदन सिफारिस समितिले स्वीकृत गरेको छ । यस्तै शिक्षा सेवामै लामो समय कार्य गरेर हाल संघीय संसदमा कार्यरत सचिव डा. रोजनाथ पाण्डे, आफ्नो सेवा अवधिमा कुनै बेला शिक्षा मन्त्रालयमा समेत सचिव भएका सुरेश अधिकारी र यादवप्रसाद कोईरालाको आवेदन पनि अध्यक्ष पदका लागि स्वीकृत भएको छ । यस्तै पूर्व सचिवहरु रघुराम विष्ट र मधूसुदन अधिकारीको आवेदन पनि अध्यक्ष पदका लागि स्वीकृत भएको छ ।
अध्यक्ष पदमा आवेदन हालेका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटीका पूर्व सदस्य सचिव महेश भट्टराईको आवेदन भने सिफारिस समितिले अयोग्य ठहर गरेको छ । अध्यक्षका लागि नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) को अनुभव भएको हुनु पर्ने शिक्षा ऐनमा व्यवस्था छ ।
यस्तै एक महिला सहित दुई सदस्यका लागि आवेदन हाल्नेहरुमा यस अघिका सदस्यहरु रामशरण सापकोटा र पवित्रा सुवेदी पनि छन् । उनीहरु गत २०८१ चैतमा नियुक्त भएका थिए । तत्कालिन सदस्यहरु नन्दकुमारी महर्जन र डा. डिल्लिराम रिमालको अवधि सकिएर खाली भएको ठाउँमा तत्कालिन शिक्षामन्त्री विद्या भट्टराईले उनीहरुलाई नियुक्त गरेकी थिईन् ।
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा
यस्तै एक महिला सदस्यहरुका लागि पूर्व सदस्य सुवेदी सहित शिबकुमारी बराल घिमिरे, विष्णु घिमिरे रिमाल, राज्य लक्ष्मी श्रेष्ठ र डा. दिव्या दवाडी गरी पाँच जनाको आवेदन स्वीकृत भएको छ । दवाडीको आवेदन खुल्ला तर्फ पनि स्वीकृत भएको छ । एक सदस्यका लागि २८ जनाको आवेदन स्वीकृत भएको छ । जसमा आयोगमै कार्यरत रहँदा अवकास भएका शिक्षा सेवाका पूर्व उपसचिव सुदर्शन मरहठ्ठा, शिक्षाकै पूर्व उपसचिव भई अवकास भएर अन्र्तराष्ट्रिय संस्थाहरुमा कार्यरत डा. मुकुन्दमणि खनाल र डा. ध्रुवराज रेग्मीको पनि सदस्य पदको आवेदन स्वीकृत भएको छ । यस्तै सदस्य पदमा दरखास्त स्वीकृत हुनेहरूमा राष्ट्रिय परीक्षा बोर्डका पूर्व नियन्त्रक डम्बरकुमार बतास, मकवानपुरका शिक्षक रमेशप्रसाद लामिछाने, गोपीराम के.सी., बीरवंश बैठा, गजेन्द्र झा, जीवनप्रकाश रेग्मी, नारायणप्रसाद ढकाल, सरोजकुमार के.सी., इन्द्रमणि पोखरेल, दुर्गाप्रसाद अर्याल, प्रकाश सापकोटा, कृष्ण गोसाईं, रामप्रसाद गौतम, रामनारायण शाह, रामाशिष यादव, चन्द्रबहादुर श्रेष्ठ र शिवकुमार कार्की रहेका छन् । यस्तै सदस्य पदमा आवेदन स्वीकृत हुनेहरुमा रामकृष्ण पन्थी, प्रेमप्रकाश लामिछाने, एकनारायण शर्मा, हीरामणि शर्मा, डा. कुलप्रसाद खनाल र चन्द्रप्रसाद लुईटेल छन् । डा. प्रेमसिंह भाटको आवेदन भने योग्यता पुरा नभएको भन्दै अस्वीकृत भएको छ ।
सदस्यका लागि कानून शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ बर्षको अनुभव भएको हुनु पर्ने योग्यता निर्धारण गरिएको छ ।
आयोगका पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न सरकारले लोकसेवा आयोगको अध्यक्षतामा त्रिभवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको एक सििमत गठन गर्ने र उक्त समितिले गरेको सिफारिसका आधारमा सरकारले नियुक्ति दिने शिक्षा ऐनमा व्यवस्था छ । आयोगका पदाधिकारीको अवधी पाँच बर्षको हुने छ ।
प्रतिक्रिया