Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

डाक्टर बनेर बिरामीको सेवा गर्छुुु

शनिबार, ०३ असार २०७४

काठमाडौं ३ असार/सानै उमेरमा निमोनियाले थलिएर मृत्युको मुखबाट बचेका आदर्श पाण्डेका आमाबुबाको धोको थियो, छोरालाई डाक्टर बनाउने । अलिकति चिसो भयो कि बिरामी भइहाल्ने आदर्शलाई उपचारका लागि नचहारेको अस्पताल सायदै होलान् । स्वास्थ्यमा केही सुधार भएपछि विद्यालय भर्ना भएका आदर्श बाबुआमाको अपेक्षा पूरा गर्दै सधैं कक्षामा प्रथम हुन थाले ।
प्रथम हुँदै माध्यमिक तहको परीक्षामा सहभागी भएका १७ वर्षीय आदर्शले उत्कृष्ट नतिजा ल्याए । मध्यम परिवारमा जन्मिएका दुई सन्तानमध्येका जेठा आदर्श सानो कक्षामा पढ्दा पनि डाक्टर बन्ने योजना सुनाउँथे । ‘के बन्छौ भन्दा डाक्टर बन्ने हो भन्थ्यो, अहिले डाक्टर बन्नेखालकै अंक ल्याएर पास भयो', आमा खुमादेवीले भन्नुभयो । शुक्रबार प्रकाशित एसईई परीक्षामा आदर्शले चार जीपीए अंक ल्याएका छन् । यो सम्भवतः सबैभन्दा धेरै अंक हो । ‘छोराले नेपाल टप्यो', आमाले भन्नुभयो ।
जन्मिएको २० दिनपछि आमाको दूध खान नपाएका उनी एसईईको परीक्षा हलमा बस्दासमेत बिरामी नै थिए । सुत्केरी भएको बेला आमाको अप्रेसन गर्नुपरेका कारण आदर्शले दूध खान पाएनन् । रूपन्देहीमा जन्मिएका आदर्शले कहिले पाल्पा त कहिले रामपुरमा अध्ययन गरे । ०४८९९५३ आई सिम्बोल नम्बर रहेका आदर्शले सैनामैना-६ स्थित रामपुर रिभाइभल बोर्डिङ स्कुलबाट परीक्षामा सहभागिता जनाएका हुन् । आदर्शका आमाबाबु दुवै शिक्षक हुनुहुन्छ । बाबु छविलाल पाण्डे सामुदायिक विद्यालयका शिक्षक हुनुहुन्छ भने आमा खुमादेवी आदर्शकै विद्यालयमा पढाउनुहुन्छ ।
मिहिनेती भएकै कारण उनले उत्कृष्ट नतिजा ल्याउन सकेको विद्यालयका प्रिन्सिपल कृष्ण शर्माले बताउनुभयो । ‘हामीले आदर्शले उत्कृष्ट अंक ल्याउँछ भन्ने विश्वास गरेका थियौं', उहाँले भन्नुभयो । चार जीपीए ल्याउने आदर्शको भविष्यमा डाक्टर बन्ने योजना छ । आफूले मिहिनेत गरेअनुसार नै अंक आएको भन्दै उनले डाक्टर भएर समाजसेवामा लाग्ने बताए । ‘सानैदेखि डाक्टर बन्छु भन्थें, अहिले नम्बर पनि त्यस्तै आएको छ', उनले भने, ‘डाक्टर बन्न वातावरण बनाउने गरी तयारी गर्छु ।'
उच्च शिक्षाका लागि कुन कलेजमा अध्ययन गर्ने भन्ने निक्र्योल भइनसकेको उनले बताए । ‘कुन कलेजमा पढ्ने भन्ने सोचेको छैन, विज्ञान विषय पढ्न कलेज छान्छु', उनले भने । अध्ययनमा मात्रै होइन, उनी कला, साहित्य, संगीत र खेलकुदमा पनि रुचि राख्छन् ।
पाँच दृष्टिविहीनको राम्रो नतिजा
रूपन्देहीको शान्ति नमुना विद्यालयबाट एसईई परीक्षामा सहभागी पाँच दृष्टिविहीनमध्ये दुईजनाले ‘ए' ग्रेड ल्याएका छन् । पवन खत्री र पुरन कुमालले ए ग्रेडमा एसईई उत्तीर्ण गरेका हुन् । त्यस्तै, विद्यालयकै दृष्टिविहीन विद्यार्थी नारायण थारू, कुलमती सैदवार र कल्पना न्यौपानेले ‘बी' प्लस ग्रेडका साथ उत्तीर्ण भएको विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया