Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

बन्द गरौं साक्षरताका कुरा

आइतबार, १६ कार्तिक २०७१

- देवीराम आचार्य

मान्छे साक्षर हुनु राम्रो कुरा हो । साक्षर मात्र होइन धेरै पढ्नु त अझ राम्रो कुरा । नेपालमा २०१३ बाट अमेरीकाले साक्षर बनाउन शुरु गरेको इतिहास हो क्यारे । ५८ वर्षदेखि नेपालमा नागरिकहरुलाइ साक्षर बनाउने अभियान निरन्तर जारी छ । तेह्र वटा आवधिक योजना हुन वा ५ वटा शिक्षा सुधारका आयोग प्रतिवेदन वा सरकारको वार्षीक नीति तथा कार्यक्रम र बजेट सबैको ध्यान नागरिकलाइ साक्षर बनाउनुमा छ । साक्षर भएका पनि छन् र त २००७ सालको २ प्रतिशत साक्षरता दर वर्षको १ प्रतिशतले वृद्धि हुदै २०७१ मा करिब ६६ प्रतिशत पुगेको छ । नागरिक आफै साक्षर त पक्कै भएनन् सरकारले खोलेका करिब ३५ हजार सरकारी विद्यालय, व्यक्ति आफैले खोलेका करिब ४ हजार नीजि विद्यालय र गणना गर्न नसकिने साक्षरता कक्षाले २००७ सालदेखिनै १ प्रतिशतका दरले देशको साक्षरता बढाउन सकेका हुन र छन् ।

 

जुन विषय आज म यहाँ लेख्दैछु त्यो मेरो (साक्षर भएको व्यक्ति र शिक्षाकर्मी) पृष्ठभूमिले लेख्न मिल्ने कुरा लेख्दैछु वा नमिल्ने मलाइ थाहा छैन । यदि तपाइले पढ्नु भयो र यो लेख्न मिल्दैन भन्नु भयो भने म विचार गरौला तर एउटा नागरिक भएको नाताले मात्र म साक्षरताका कुरा बन्द गरौ भनेर लेख्दै छु । देखेको र मनमा लागेको कुरा लेख्न अन्तरिम संविधानको कुनै धाराको सहयोग चाहिन्छ चाहिदैन त्यो पनि मलाइ थाहा छैन कुनै अधिवक्ता वा न्यायाधिशलाइ सोध्न पनि थालिन ।

 

एउटा नेपाली उखानको सम्झना आयो अति भएपछि खति हुन्छ । यो साक्षरता पनि अब अति नै भएछ क्यारे । कान्तिपुर दैनिकमा एउटा खोजमुलक र तथ्यमुलक समाचार कभर स्टोरी बन्यो साक्षरताको । एउटा पत्रकारले खोजेर ल्याएको कुनै विषयले नागरिक साक्षर बनाउने ठेक्का लिएको अनौपचारिक शिक्षा केन्द्रको सातो गयो । साक्षरताका लागि अर्बौ खर्च गर्ने सरकार पनि जाग्यो । शिक्षा मन्त्रालयमा के के भयो मिडियामा देखिएन क्यारे । अनौपचारिक शिक्षा केन्द्रकै आग्रहमा छानविनतिर लागेको छ भन्ने पढीयो । जिल्लालाइ पूर्ण साक्षर बनाउने र पाँच लाखे चेक ल्याउने लिगलिगकोटको दौडमा लागेका जिशिकाहरुको त निद्रा नै हराम भएको छ रे । अब छानविन गर्ने रे फेरी पढाउने रे र साक्षर बनाउने रे । अझ नभएर निरक्षर व्यक्तिको नाम सार्वजनिक स्थलमा टास्ने रे । कुनै व्यक्तिको व्यक्तिगत कुराहरु (साक्षर अथवा निरक्षर) भन्ने कुरा सार्वजनिक गर्न व्यक्तिको गोपनियताको हकले दिन्छ । यो अभियानका कानुनविदले जानुन ।


म सोच्दैछु, यो सब एउटा रङ्गमञ्चमा रमाइलो नाटक मञ्चन भइरहेछ । यो नाटकमा दर्शकदीर्घामा थुप्रै शिक्षाकर्मी छन उनीहरु यो सब हेरिरहेछन । पैसा आँउछ साक्षरताको नाममा । भागबण्डा लाग्छ विभिन दलको नाममा । दलका भान्सेहरु तयार हुन्छन पकाउनका लागि । वेटरहरुको माग गरिन्छ । दलको फेरो समाएर थुप्रै वेटर मसँग खाने मान्छे धेरै छन भनेर माग्न आउछ । खाने मान्छेको नामावली हेरिन्छ । थोरै भएकालाइ नदिने भएर सकेसम्म धेरै नाम देखाउने होडबाजीमा वेटर हुनेछन । यसकै परिणामका अधारमा उनीहरुले भाग पाउनेछन । लैजानेछन । फेरी त्यति भाग लगाएर बाड्ने छन र खाएर अघाएका मान्छेको सूचि ल्याउने छन अनि भान्सेहरुबाट त्यसलाइ बैध घोषणा गरिनेछ । यस्तै नाटक मञ्चन भएको छ करोडौको साक्षरताका लागि । (कुनै कुनै रङ्गमञ्च भान्से अनुसार फरक हुनसक्छ) खाएर सधै पुग्ने होइन त्यसो भएकाले खाएकाले खाएँ भनेको छैन । नखाएकाले त कसरी भनोस । खाएको पनि फेरी भोकै छ उसले अघाउन्जेल त खाएकै होइन । एकपटक खाएर अघाउने कुरा पनि भएन । भोकै छु भन्यो त के ठुलो कुरा । त्यसैले को को भोका छन भनेर खोज्न छोडौ र खाना पठाइराखौ, होइन भने खाएकाले खाए, नखाएकालाइ खाने मन छैन । कर गरेर ख्वाउन सकिदैन । भैगो अब छोडौ यो नाटक ।


सैदधान्तिक रुपमा त साक्षरताले नै धेरै कुरा गर्छ, व्यक्तिलाइ सशक्तिकरण गर्छ, सफासुग्घर रहन सघाउछ, चेतनशील बनाउँछ भन्ने पनि छ, यस्तो महत्व भएको साक्षर बनाउने कुरासँग जोडिएको कुरा साक्षरता हो । नागरिकलाइ साक्षर नबनाउँ भन्ने मेरो अधिकार छैन तर भोकालाइ खान देउ, नाङ्गालाइ लाउन देउ, बास देउ, सास देउ, आस देउ र सुरक्षा देउ यो मेरो भन्ने अधिकार हो । हरेक दिन २ ३ जना चेलीहरु बलात्कृत छन् पहिले उनीहरुलाइ सुरक्षा देउ अनि साक्षर बनाँउ । हरेक दिन साँझ जसको घरमा चुलो बाल्ने बेला दुखका आसु खस्ने छन उनीहरुको चुलो बालिदेउ अनि साक्षर बनाउँ । जाडोले सयौको ज्यान जान्छ हरेक वर्ष । पहिले न्यानो कपडा देउ अनि साक्षर बनाउँ ।। घाम र पानी ओत्ने बास देउ अनि साक्षर बनाउँ । झाडापखालाको उपचार नपाएर अकालमा ज्यान गुमाउनेका लागि एउटा जीवनजल दिएर बचाउँ अनि साक्षर बनाउँ । हुन त बहश पनि होला साक्षरता पहिले दिने हो भने अरु कुरा आफै हुन्छन भन्ने तर देशभरका नागरिकका कुरा सुन्ने हो भने मलाइ साक्षर बनाइदेउ भन्ने कोही छैन बरु गाँस बास र कपास माग्ने धेरै छन् । लोककल्याणकारी राज्यले लोकहित गर्ने हो भने जनताले मागेको कुरा दिनुपर्छ दिन मन लागेको कुरा होइन ।


साक्षर हुनु राम्रो कुरा हो ।। सभ्यता हो ।। विकास हो । नागरिक चेतना हो । तर यो गाँस, बाँस, कपास र स्वास्थ्य भन्दा ठूलो कुरा होइन सर्वसाधारण नागरिकका लागि । साक्षर नभएर कोही मरेको मैले सुनेको छैन तर गाँस नपाएर, बास नपाएर, कपास नपाएर, जीवनजल नपाएर धेरै मरे यहाँ । पहिले घरमा विजुलि बत्ति बालिदेउ अनि बिजुलिको बिल पढन सिकाइदेउ । पहिले गाँउमा डाक्टर पठाइदेउ अनि मात्र औषधिको नाम पढन सिकाइदेउ । पहिले घरमा शुद्ध खानेपानी ल्याइदेउ अनिमात्र सिकाउ फोहर पानिबाट लाग्ने रोगको सूचि पढ्न । पहिले गाँउमा मोबाइलको टावर राखीदेउ फोन सस्तो बनाउ । मोबाइल चार्ज गर्ने विजुलि पठाउँ अनि सिकाउ मोबाइलमा कुरा गर्न । गाउँमा मोटरबाटो र गाडि पठाइदेउ अनि सिकाउ गाडि छुट्ने समय हेर्न । पहिले छोराछोरीलाइ रोजगारी देउ अनि सिकाउ पैसा गन्न । उद्योग कलकारखाना खोल अनि सिकाउ आफ्नो नाम लेख्न । जति नाम लेख्न जाने पनि पिएचडि गरे पनि मलाइ चिन्न राज्यले औठाछाप नै खोज्छ । सहि म छापै लाउला तर मलाइ मेरा केटाकेटी पाल्ने र पढाउने सुविस्ता देउ । अब बुढाबुढीलाइ पढाउन छाडिदेउ ।।बच्चाले पढ्ने स्कुलमा मास्टर पठाइदेउ । भवन बनाइदेउ । समयमै किताब पठाइदेउ । अब बालक र युवाका वारेमा सोच । पुग्यो अब प्रौढलाइ ६० वर्ष गरिसक्यौ प्रौढका कुरा । कुरा शुरु हुँदा जन्मेको मान्छे प्रौढ भयो । हरेक दिन हजारको सङ्ख्यामा खाडी जाने युवाको वारेमा सोच । कमाउन गएको छोराको कमाइ खाने आसले बसेका बाबु आमाले छोरोको मृत्यु खवर सुन्दा हुने पिडाको अनुभूत गर । पाँच वर्ष विद्यालय गएर साक्षर हुन नसकेको त्यो बालकको कुरा गर । बालविकास कक्षामा आउने ४ वर्षे बालबालिकाका खेल्ने र बस्ने व्यवस्थाका कुरा गर ।


तिम्रै तथ्याङ्कले भन्छ अहिले पनि ४ प्रतिशत बिद्यालय जाने उमेरका बालबालिका विद्यालय वाहिर छन । अब तिनको कुरा गर । रत्नपार्कमा माग्दै हिड्ने ८/१० वर्षका केटाकेटीको कुरा गर । अन्त सकिदैन भने कम्तिमा सरकारी कार्यालयका क्यान्टीनमा काम गने बाल मजदुरका कुरा गर । प्रवेशिका परीक्षामा तिमीले फेल भनिदिदा आत्महत्या गर्नेका चित्कार सुन । छोड अब साक्षरता कुरा । बन्द गर रङ्गमञ्चका नाटक । जति भयो भयो । अब पुग्यो । कुरा छाडीदेउ छानबिनका । कारवाहीका र अनुगमनका । मन दह्रो बनाउ । भनिदेउ अब कोही छ भने आउ होइन भने बन्द सदाका लागि । साच्चै मलाइ पढन लेख्न सिकाइदेउ भनेर आयो भने पढाइदेउ सिकाइदेउ  नत्र अब छोडिदेउ भाग लगाउन र भाग खानेको सूचि बनाउन ।

 

छन त तिम्रा कुरा धेरै छन् । साक्षरतापछि साक्षरोत्तर बनाउँछौ । निरन्तर शिक्षा दिन्छौ । आयआर्जनका कुरा पनि सिकाउँछौ । खै तिमिले सिकाएको आय आजर्नले कतिको घरमा आयआर्जन भयो तिमी नै जान । तर छोडिदेउ सब यी नाटक । अब बच्चाका कुरा गर । युवाका कुरा गर । बालिकाका कुरा गर । दलितका कुरा गर । कर्णालीका कुरा गर । छोडीदेउ साक्षरताका कुरा ।

प्रतिक्रिया