Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

स्थानीय सरकारलाई सुझाव : शिक्षकलाई जिम्मेवार बनाऊ, नियमित पढाऊ

मंगलबार, २७ असार २०७४

भक्तपुर - बासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइँच्याइँ शिक्षाका अधिकार स्थानीय सरकार मातहत आइसकेपछि शिक्षामा सुधार हुनेमा आशावादी छिन् । ‘शिक्षाको अधिकार स्थानीय निकायमा आउनु सकारात्मक कुरा हो । यसले शिक्षाका समस्या हल गर्छ ।’ उनले भनिन् ।

आफू आशावादी भए पनि शिक्षालाई हिजोभन्दा आज परिष्कृत बनाउँदै जानुपर्नेमा उनी जोड दिन्छिन् । उनको विचारमा शिक्षालाई परिष्कृत बनाउन स्थानीय निकायले विद्यालय अनुगमनलाई विशेष ध्यान दिनुपर्छ । यतिमात्र होइन, विद्यार्थी संख्या अुनसार शिक्षक संख्या पुग नपुग के छ ? ध्यान दिनु पर्ने उनको सुझाव छ ।

‘विद्यालयमा विषय शिक्षकको अवस्था बुझ्नुपर्छ । जुन रुपमा निजी विद्यालय सञ्चालनको बाध्यता आएको छ, त्यसलाई न्यूनीकरण गरेर जानका लागि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी छ ।’ उनले भनिन् ।

यसका लागि के गर्ने त ? उनी जवाफ दिन्छन्, ‘यसरी, शिक्षकलाई कर्तव्यनिष्ठ बनाउने, अपडेट हुने बनाउने र बेलाबेलामा तालिमको बन्दोबस्त गर्ने । त्यसपछि मात्र स्थानीय निकायको मातहतमा आएको शिक्षाले सार्थकता पाउँछ, नभए पहिलाकै जस्तै हुन्छ ।’  यसैले उनी सर्वप्रथम शिक्षाको समस्या समाधान हुनुपर्ने बताउँछिन्  भन्छिन्, ‘शिक्षाको ९० प्रतिशत समस्या समाधान भयो भने अन्य क्षेत्रका समस्या पनि समाधान भएर जान्छन् ।’

शिक्षक विश्वबहादुर दुवालले भने चुनौति पनि देखेका छन् । उनी भन्छन्, ‘जनप्रतिनीधिहरु चुनिसकेपछि सरकारी र निजी विद्यालयलाई  एउटै तहमा लाने भन्ने खालका अभिव्यक्तिहरु बाहिर आएका छन् । तर कसरी जाने भन्ने खाका आएको छैन ।’

भक्तपुर नगरपालिकाले विगतमै पनि ७ कक्षासम्मको निः शुल्क शिक्षा प्रणाली बनाएको तर सफल नभएकोले अहिलेका योजना पनि बीचैमा तुहिने हो  कि भन्नेमा आफूलाई शंका लागेको उनले बताए । ‘त्यो अनुभवलाई पनि सँगालेर शिक्षामा प्राविधिक शिक्षालाई बढावा दिएर जान सकियो भने फलीभूत हुन सक्छ । शिक्षामा लगानी गर्ने र बढाउने नाममा अयोग्य नागरिकमात्र तयार हुन सक्ने सम्भावनालाई ख्याल गर्नु जरुरी छ ।’ उनको सुझाव छ ।

यसैगरी शारदा माविका प्रअ रोशनराज तुइतुइँले स्थानीय तहमा आएको शिक्षाको अधिकारले जागिर बेसमा शिक्षण गराइरहेका शिक्षकले रिसर्च बेसमा शिक्षण गर्ने बताउँदै त्यसो हुँदा शिक्षामा केही परिवर्तन आउने सम्भाब्यता देखे । तर उनले चारजना विद्यार्थी पढाउनेले पनि त्यही तलब खाने, अनि ४० जना पढाउने शिक्षकले पनि त्यही तलब दिने कुरा अन्त्य गर्नुपर्नेमा जोड दिए । विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशी भने विद्यालय तहको प्रारम्भिक कक्षाबाटै सुधार हुनुपर्नेमा जोड दिन्छिन् ।

‘स्टेप बाई स्टेप जाँच लिनुपर्छ, इसिडी संरचना राम्रो बनाउनुपर्छ ।  सुरुमा त सामुदायिक विद्यालयमा पनि राम्रो पढाइ हुन्छ भन्ने विश्वास जनप्रतिनीधिहरुले दिनुपर्छ ।’

त्यस्तै वागीश्वरी माविको प्राविधिक विषयका इन्चार्ज एवं शिक्षक दिनेश प्रधानले एकेडेमिक र प्राविधिक रुपले पढाइ  हुने भएकोले नपाले तल्लो तहबाटै प्राविधिक शिक्षालाई जोड दिने नीति बनाउनुपर्ने बताउँछन् । ‘प्राविधिक शिक्षा बढायौं भने शैक्षिक बेरोजगारी घट्ने मात्र नभएर अहिले थुप्रै प्राविधिक जनशक्तिको खाँचो परेको छ । त्यो खाँचो पूरा गर्नतर्फ ध्यान दिनुपर्छ ।’

शिक्षा सुधारको मुख्य पक्ष कक्षा कोठा नै हो, विद्यार्थीको सिकाइ उपलब्धि नै हो । जव सम्म विद्यार्थी केन्द्रित भएर पठन पाठन हुन्न अधिकार जहाँ र जसलाई दिए पनि अर्थ छैन । माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत पुगेको अवस्थामा विद्यार्थी भने भने नियमित पढाइ हुने वातावणमै जोड दिन्छन् ।

काभ्रेको धुलिखेलदेखि भक्तपुरको वागीश्वरी माविको कक्षा १२ पढिरहेका मनोहर दाहाल भन्छन्, ‘भक्तपुरका केही विद्यालयहरु भने बन्द र हड्तालमा समेत पढाइ हुन्छ । त्यो कुरालाई नगरपालिकाले प्राथमिकतामा राख्नुपर्छ । भूकम्पबाट प्रभावित भएका विद्यालयको पूनर्निर्माणका लािग जनप्रतिनीधिले ध्यान दिनुपर्छ ।’

स्थानीय तहको निर्वाचनबाट चुनिएर आएसँगै जनप्रतिनीधिले शिक्षा क्षेत्रको सुधारको लागि विभिन्न योजनाहरु सार्वजनिक गर्न थालिसकेका छन् । भक्तपुर नगरपालिका यो यात्रामा अलिक फरक छ । संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार ब्यवस्था गरे पनि भक्तपुरले यस अघि नै ख्वप कलेजक सञ्चालन र ब्यवस्थापन गर्दै आएको छ । अधिकार नहुँदा त अभ्यास थालेको भक्तपुरले संविधानबाटै अधिकार पाए पछि काम गर्ने कस्तो योजना बनाएको छ त ? ख्वप कलेज सञ्चालक समिति सदस्यसमेत रहेका भक्तपुर नगरपालिकाको शिक्षा, संस्कृति र स्वास्थ्य समिति, सदस्य तथा वडा नम्बर ९ का प्रमुख रवीन्द्र ज्याख्व विद्यार्थी, शिक्षक र प्रअबाट आएका सुझावलाई आत्मसात गरी नगरपालिका अघि बढ्ने प्रतिवद्धता जनाउँछन् ।

'अहिलेसम्म विद्यालय जिल्ला शिक्षा कार्यालय अन्तर्गत नै छ । त्यसको डिटेल जानकारी अनौपचारिक रुपमा पाइसक्यौं, औपचारिक रुपमा पाउन बाँकी नै छ । त्यसकारण प्रत्येक स्कुलमा के के समस्या छ र कसरी समाधान गर्न सकिन्छ  ? भन्ने विषयमा गृहकार्य गर्न बाँकी छ' उनले भने, 'त्यसपछि त्यो स्कुल जहाँ रहेको छ, त्यो ठाउँका स्थानीय जनताका बीच स्कुलको स्तरोन्नतिको निम्ति स्थानीय तवरबाट छलफल गर्नुपर्छ । शिक्षक, अभिभावक, विद्यार्थीहरुसँग पनि एकसरो छलफल गर्छौं । र, पर्टिकुलर स्कुको पर्टिकुलर समस्यालाई लिएर समाधान गर्नतिर लािगरेहका छौं ।'

विद्यालय सञ्चालन र ब्यवस्थापनका लागि नगरपालिकाले विशेष बजेटको बन्दोबस्त गर्ने तयारी गरिरहेको पनि उनले बताए ।

प्रस्तुत रिपोर्ट रेडियो कार्यक्रम हाम्रो शिक्षामा सुन्न सक्नु हुन्छ । एक्सन एड नेपालको सहयोगमा www.edukhabar.com ले तयार पारेको यो कार्यक्रम हरेक मंगलबार विहान आठ बजे प्रदेश नम्बर ७ मा रेडियो डोटी र रेडियो धनगढी, कैलाली तथा काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट प्रशारण हुन्छ । यसका साथै www.edukhabar.com तथा एण्ड्रेईड एप Edunepal बाट पनि यो कार्यक्रम सुन्न सकिन्छ ।

उल्लेखित विचार सहितको कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् : हाम्रो शिक्षा

प्रतिक्रिया