काठमाडौं - विरोधका बावजुद राष्ट्रपतिबाट शिक्षा ऐन नवौं संशोधन प्रमाणीकरण भएको छ । दर्ता भएको १५ औं दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ऐन प्रमाणीकरण गरेकी हुन् ।
संसदबाट पारित विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिन भित्र प्रमाणीकरण भईसक्नु पर्ने कानूनी ब्यवस्था छ ।
संसदले पारित गरेकै आधारमा उक्त विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्ण मुरारी न्यौपानेले बताए ।
'आज उक्त विधेयक प्रमाणीकरण भएको छ' उनले भने, 'संसदबाट पारित विधेयक प्रमाणीकरण हुनु सामान्य प्रकृया हो, सोही अनुसार भएको छ ।'
अपडेट - पढ्नुहोस् : प्रमाणीकरण भएको ऐनको पूर्ण बिवरण
ऐन प्रमाणीकरण गर्न नहुने भन्दै चौतर्फी विरोध भएको थियो । योग्य शिक्षक छनौटमा बञ्चित गर्दै भएको उक्त संशोधनको विरोधमा भईरहेको लविङ्को प्रभाव स्वरुप राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणीकरण गर्ने मिति धकेलिदैं गएको थियो । उक्त विरोध पछि राष्ट्रपतिले घनिभूत विमर्श गरेकी थिईन् ।
संसदले पारित गरेको विधेयक फिर्ता गर्न सक्ने प्रावधान भएपनि राष्ट्रपति विवादमा पर्न नचाहेकोले अन्तिम दिन प्रमाणीकरण गरेकी हुन् ।
'कार्यकालको अन्तिममा आएर किन विवादमा पर्ने भन्ने निश्कर्ष रह्यो' राष्ट्रपति निकट श्रोतले भन्यो, 'संसद नै सकिईसकेको छ, यदि यो संशोधनले ठिक गरेको छैन भन्ने लाग्यो भने आगामी निर्वाचन पछि गठन हुने संसदले फेरी संशोधन गर्न सक्छ भन्ने निश्कर्ष पछि अन्तिम दिनमा प्रमाणीकरण गरिएको हो ।'
राजपत्रमा छापिएपछि मात्रै शिक्षक आयोगले काम अघि बढाउने
यसै विच उक्त ऐनमा गरिएको प्रावधान अनुसार शिक्षक सेवा आयोगले सात दिन भित्र अस्थायी शिक्षकको परीक्षा मिति तय गर्नु पर्ने हुन्छ । तर यो मिति राजपत्रमा छापिएपछि मात्रै शुरु हुने आयोगको भनाई छ ।
'प्रमाणीकरण भएको अनौपचारिक खबर थाह पाएका छौं' आयोगका अध्यक्ष ताना गौतमले भने, 'अव राजपत्रमा छापिएपछि मात्रै आयोगले काम अघि बढाउने छ ।'
निर्वाचन आचार संहिता लागू भईसकेको अवस्थामा आयोगलाई परीक्षा सञ्चालन गर्न निर्वाचन आयोगको परामर्श अनिवार्य हुने छ ।
यो पनि पढ्नुहोस् : शिक्षाको कालो दिन
प्रतिक्रिया