Edukhabar
आइतबार, १६ बैशाख २०८१
खबर/फिचर

दोस्रो चरणको भर्ना अभियानको प्रस्ताव मन्त्री परिषद्मा

शुक्रबार, १८ जेठ २०७५

काठमाडौं - अझै पनि ७१ हजार २ सय ८३ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । नयाँ शैक्षिक सत्र सँगै सरकारले सञ्चालन गरेको भर्ना अभियानमा कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) ८८ हजार २ सय ७ मध्ये ७६ हजार ६ सय ५७  र कक्षा १ देखि ८ (५ देखि १२ बर्ष उमेर समूहका) ३ लाख १३ हजार २ सय ८९ मध्ये २ लाख ५३ हजार ५ सय ५६ बालबालिका मात्रै विद्यालयमा भर्ना भएका छन् ।

विगत महिनामा भएको कार्य प्रगति सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अभियान पछि पनि कुनै पनि कारणले विद्यालय बाहिर रहेका बालवालिकाको भर्नाको दोस्रो चरण प्रारम्भ गर्न मन्त्री परिषदमा प्रस्ताव लगिएको उल्लेख गरे ।

'विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत भएको अवस्थामा संघीय सरकारले स्थायी डेक्स बनाएर स्थानीय सरकार सँग समन्वय गरी काम गर्ने अवधारणा आएको छ' उनले भने '२ बर्ष भित्र सबै बालबालिकालाई विद्यालय भित्र्याउने कामका लागि कार्यान्वयन प्रभावकारी बनाईने छ । '

भर्ना अभियानका क्रममा प्रदेश १ मा विद्यालय बाहिर रहेका १ लाख ७२ हजार ८ सय ७४ मध्ये अभियान सकिएपछि पनि ३३ हजार ९ सय ९५ बालबालिका अझै विद्यालय बाहिर रहेको विभागका महानिर्देशक बाबुराम पौडेलले बताए ।

यस्तै प्रदेश २ मा १ लाख ८ सय ६४ मध्ये २४ हजार ३ सय २६, ३ मा २६ हजार ७ सय २६ मध्ये ५ हजार ७ सय ७२, ४ मा ११ हजार ५ सय ४५ मध्ष्े २ हजार ५ सय ४४, ५ मा ५३ हजार ५ सय ६६ मध्ये १३ हजार २ सय १५, प्रदेश ६ मा १० हजार ८ सय ९२ मध्ये २ हजार ३ सय ९७  र ७ मा १५ हजार ९ सय ६८ मध्ये ३ हजार ५ सय ५८ जना बालबालिका विद्यालय बाहिर छन् ।  

सबै १ हजार ५३ श्रोत केन्द्र, ७ सय ५३ स्थानीय सरकार, क्षेत्रीय शिक्षा निर्देशनालय, शिक्षा समन्वय इकाई लगायत विभाग मातहत रहेका निकाय र जनशक्ति परिचालन गरी तथ्याङ्क संकलन गरिएको विभागका महानिर्देशक पौडेलले बताए ।

'यो प्रारम्भिक तथ्याङ् हो तर यसलाई सके सम्म त्रुटि रहित बनाउने प्रयास गरिएको छ' उनले भने, 'अझै बाँकी रहेका बालबालिकाकालाई विद्यालय भित्र्याउने कार्यक्रम ढाँचाबारे हामी छिट्टै निष्कर्षमा पुग्ने छौं ।'

सरकारले एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने नाराका भर्ना अभियान चलाएको थियो । भर्ना संगै शुरु अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम पनि सञ्चालन गरिएको थियो । जसमा प्रधानमन्त्री, शिक्षा मन्त्री सहितका ब्यक्तिहरुले मुगुमा गएर कार्यक्रममा भाग लिएका थिए । यस अवधिमा ३ सय ५२ ब्यक्ति र संस्थाबाट ६ सय ६८ बालबालिकाको अभिभावकत्व ग्रहण भएको सरकारद्धारा हालै सार्वजनिक आफ्नो सय दिने उपलब्धिमा पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया