Edukhabar
शनिबार, २२ बैशाख २०८१
खबर/फिचर

उपकुलपति कि अपराधी ? हटाउन नसकेपछि तर्साउन खोजेको आरोप !

आइतबार, २४ असार २०७५

काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले विमानस्थलबाट नियन्त्रणमा लिएर आफूलाई अपराधीलाई जस्तो ब्यवहार गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । 

क्यानडाको भ्यानकुभर शहरमा आयोजित १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार अन्र्तराष्ट्रिय विमानस्थलबाटै उनलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्याईएको थियो । 

प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा आफूलाई अपमानित गरिएको भन्दै उनले आईतबार ओयोजित पत्रकार सम्मेलनमा यो अपमान सिँगो प्राज्ञिक जगत माथिको अपमान भएको उल्लेख गरे । 

यस अघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले १० जना उपकुलपतिलाई बोलाएर पद छोडिदिनु पर्यो भनेका स्मरण गर्दै उनले त्यही कार्य गराउनलाई तर्साउन खोजेको शंका पनि ब्यक्त गरे । 

‘एकदिन वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हामी १० जना उपकुलपतिलाई बोलाएर छोड्नुपर्यो भनेर भन्नुभएको थियो' पत्रकार सम्मेलनमा उनले भने, 'हामीले नियम र प्रक्रिया छ, हामी त्यस अनुरुप बाहिरिन्छौं भनेका थियौं, तर मेरो एक हप्ताको बिदा १० दिन टेबुलमा थन्काईयो कुनै जवाफ नदिएर मलाई विमानस्थलबाटै पक्राउ गरियो ।’

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा पनि आफू क्यानडामा हुन लागेकै जस्तै कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले उतिखेर अपनाएको प्रक्रिया र नियम अहिले पनि पालना गरेको दावि गरे । 

'मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ, तर त्यस विषयमा कुनै जानकारी नगराईकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाई जस्तो पक्राउ गरियो, यो खेदजनक छ' उनले भने, ‘यो पटक पनि मैले त्यही विधि र प्रकिया अपनाएर विदाको निवेदन दिएको थिएँ, शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ, तर, किन रोकियो ? मेरो विदाको निवेदनको फाइल किन लुकाइयो ?’

सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको आरोप लगाउँदै उनले यो घटनाले अन्र्तराष्ट्रिय फोरममा समेत नेपालको बेईज्जती भएको दुःखेसो पोखे । 

‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन्’ प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी गर्दै कोइरालाले भने, 'म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईन्, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ ।’

'हवल्दारी' पाराले विश्व विद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीलाई आग्रह समेत  गरे । 

कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. रामेश्वर उपाध्यायले विमानस्थलबाटै कोईरालालाई पक्राउ गर्नु आपत्तिजनक र सरकारको गम्भिर भूल भएको टिप्पणी गरेका छन् । उपाध्यायले वर्तमान सरकारले प्राज्ञिक स्वतन्त्रता र प्राज्ञिक विद्यतालाई सम्मान गर्न नसकेको समेत गुनासो पोखे । 

‘विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि विमानस्थल पुगेका आफ्नै उपकुलपतिलाई अपहरण शैलीमा पक्राउ गरेर जहाज छुटेपछि छोड्नु तानाशाही शैली हो, उनले भने, १११ देशले भाग लिने उक्त सम्मेलनमा जान लागेको उपकुलपतिलाई रोकेर सरकारले के गर्न खोज्दैछ ? प्रधानमन्त्रीले आफ्नो मात्रै अधिकार हो जस्तो गरि सरकारमा बसेर सत्ताको दुरुपयोग गर्नुभएको छ, हामी टुलुटुलु हेरेर बस्दैनौं ।’  

नेपाल कर्मचारी संघका प्रतिनिधि रमेश जोशीले पनि उक्त घटनाको विरोध गरे । 

सम्मेलनमा विभिन्न १ सय ११ राष्ट्रहरुको सहभागिता रहेको कोइरालाले बताए । 

प्रतिक्रिया