Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

विद्यालयको ट्याङ्कीमा विष हालेको महिना वित्यो, गृह मन्त्री भन्छन् अनुसन्धान जारी !

शुक्रबार, २९ भदौ २०७५

काठमाडौं - विद्यार्थीले पानी पिउने ट्याङ्कीमा विष हाल्ने अपराधीलाई एक महिना सम्म पनि पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला गृह मन्त्री रामबहादुर थापाले अनुसन्धान र कारवाही जारी रहेको भन्दै बचाउको प्रयास गरेका छन् । 

मोरङ् लेटाङ् नगरपालिका वडा नम्बर ९ स्थित श्री मावि जाँतेमा विद्यार्थीले पानी पिउने ट्याङ्कीमा अज्ञात व्यक्तिले विष हालिदिदाँ त्यो पानी पिउने २६ विद्यार्थी विरामी परेका थिए । साउन २९ गते भएको घटनामा संलग्नको अहिले सम्म पहिचान हुन सकेको छैन । विद्यालय समय शुरु हुनासाथ पानी पिएका विद्यार्थीलाई पेट पोल्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापरे पछि सोध खोज गर्दा ट्याङ्की भित्रै किरा मार्ने विषादीको बोतल फेला परेको थियो ।

पढ्नुहोस् यो खबर : विद्यार्थीले पानी पिउने ट्याङ्कीमै विष ! २६ विरामी, ४ गम्भिर

देशमा बढिरहेको हत्या, हिंसा र वलात्कारका घटनामा संलग्नहरु माथि कारवाही गर्न सरकार गम्भिर नभएको भन्दै प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले बिहीबारको संसद बैठकमा माग गरेको थियो । त्यसकै उत्तर दिन आएका मन्त्री थापाले सरकार शान्ति सुरक्षा कायम गर्न गम्भिर रहेको भन्दै बचाउको प्रयास गरेका थिए । यही क्रममा उनले लेटाङ् घटनाको बारेमा पनि उल्लेख गरेका हुन् । 

वलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यार पत्ता लगाउन सरकारले आलटाल गरेको, दुई महिना वितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नुले गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्  ।

यस्तै शुक्रबारकै संसद बैठकमा राष्ट्रिय जनता पार्टीले वर्दिया स्थित प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको थियो । 

बैठक सुरु भए लगतै सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । 

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेका थिए । 

तर उनको मृत्यु प्रहरी हिरासतमा निर्मम कुटपिट पछि नभएको भन्दै मन्त्री थापाले उनको यस अघिकै रोगका कारण मृत्यु भएको दावि गरे । 

उनको उत्तरमा चित्त नबुझाएका राजपाका सांसदले संसदीय समिति गठन गर्न गरेको मागका बारेमा परामर्श गर्ने सभामुख कृष्णबहादुर महराको आश्वासन पछि बैठक सञ्चालन गर्न दिएका थिए । 

सांसदहरुको पुरक प्रश्नको उत्तर दिन आएका मन्त्री थापाले शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले सरकारको ६ महिने कार्यकाल राम्रो भएको दाबी गरे ।

प्रतिक्रिया