Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीले पानी पिउने ट्याङ्कीमै विष ! २६ विरामी, ४ गम्भिर

मंगलबार, २९ साउन २०७५

मोरङ् - लेटाङ् नगरपालिका वडा नम्बर - ९ स्थित श्री मावि जाँतेमा रहेको विद्यार्थीले पानी पिउने ट्याङ्कीमा अज्ञात ब्यक्तिले विष हालिदिदाँ त्यो पानी पिउने २६ विद्यार्थी विरामी परेका छन् । मंगलबार विहान विद्यालय समय शुरु हुनासाथ पानी पिएका विद्यार्थीलाई पेट पोल्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापरे पछि सोध खोज गर्दा ट्याङ्की भित्रै किरा मार्ने विषादीको बोतल फेला परेको थियो ।

पानी पिएर विरामी भएका विद्यार्थी मध्ये गम्भिर अवस्थाका ४ जनाको विराटनगर स्थित नोवल अस्पतालमा उपचार जारी रहेको संघीय प्रतिनिधि सभाका सांसद घनश्याम खतिवडाले जानकारी दिए । उनीहरुको अवस्था खतरा मुक्त रहेको पनि उनले बताए । विरामी मध्ये २२ जनालाई उर्लावारी नगरपालिका स्थित मंगलबारे स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । उनीहरुको अवस्थामा सुधार भएपछि घर पठाईएको छ ।

प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको खतिवडाले बताए । उक्त घटनालाई आपराधिक मान्छेले गराएको भन्दै त्यस्ता ब्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न उनले माग समेत गरे । उनले विद्यार्थीको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

'ज्यादै निकृष्ट काम भएको छ, घटनाको सुक्ष्म अध्ययन गरी यस्तो कृत्य जो सुकैले गरेको भए पनि कारवाहिको दायरा भित्र ल्याउन माग गर्दछु' एडुखबरसँग कुरा गर्दै खतिवडाले भने, 'संसद बैठक जारी रहेकाले म अहिले काठमाडौंमा छु, तर टोलवासिलाई आतंकित नहुन र विद्यार्थीको स्वास्थ्यको ख्याल गर्न उपचारमा संलग्न चिकित्सकहरुसँग आग्रह पनि गर्दछु ।'

प्रतिक्रिया