Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

उपकुलपति बन्ने दाैडमा विवादित चिकित्सक पनि

आइतबार, ३१ भदौ २०७५

काठमाडौं ३१ भदौ / चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति दौडमा रहेका २२ आवदेकमध्ये छनौट समितिले ६ जनाको सूची तयार पारेको छ । त्यस सूचीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विवादित छविका एक चिकित्सक पनि परेका छन् । उनी हुन्– बिपी प्रतिष्ठानको फोरेन्सिक विभागका वरिष्ठ चिकित्सक डा.विश्वनाथ(बिएन) । उनी स्वास्थ्य मन्त्री उपेन्द्र यादव निकट मानिन्छन् । त्यसैले उनी न्याम्सका उपकुलपति हुने चर्चा व्याप्त छ।

स्वास्थ्य मन्त्री नियुक्त भएपछि उनको रोजाइमा बिएन यादव बिपी प्रतिष्ठान धरानको सिनेट सदस्य पनि बनेका थिए । न्याम्सको उपकुलपति छनौट समितिले अनुभवी, विवादमा नआएको, अनुसन्धानमा सक्रिय लगायतका आधारमा ६ जनाको सूची तयार गरेको हो । उपकुलपति सिफारिस समिति संयोजक सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । समितिले ६ जना मध्येबाट ३ जना छनौट गरेर प्रधानमन्त्रीलाई सिफारिस गर्नेछ । तीमध्येबाट एक जना उपकुलपति बन्ने छन् । छनौट समितिले पहिलो चरणको छनौट पार गरेका ६ जनालाई आइतबार मन्त्रालयमा आफ्नो योजनासहित प्रस्तुति दिन बोलाएको छ।

छनौटमा परेका डा. यादव बेला–बेला विवादमा आइरहने चिकित्सक हुन् । डा. यादवलाई २०६५ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालले निलम्बन गर्न पत्राचार गरेको थियो । जसअनुसार उनी २०६५ मंसिर १३ देखि फागुन १९ गतेसम्म निलम्बनमा परेका थिए । दुई साता लामो विदामा बसेका बेला विवादित शव पोस्टमार्टम रिपोर्टमा हस्ताक्षर गरेका कारण उनी कारबाहीमा परेका हुन् । सिमेन्ट कारखानामा काम गर्ने भारतीय मजदुरको जलेर रहस्यमय तरिकाले मृत्यु भएको थियो । जतिबेला डा. यादव विदामा थिए । ‘उनको शव पोस्टमार्टम रिपोर्टमा उनले सही गरेका थिए,’ उक्त घटनाबारे जानकार स्रोतले भन्यो, ‘पैसाको ठूलो चलखेल भएको भनेर त्यो बेला हंगामा मच्चियो । त्यसपछि अख्तियारले छानबिन ग-यो र उनी निलम्बनमा परे।’

स्रोतका अनुसार यो घटना मात्र होइन, डा.यादवले त्यही समय (विदामा रहेका बेला) मोरङमा झुन्डिएर मृत्यु भएका टीकाराम कुँवरको शवको पोस्टमार्टम रिपोर्टमा पनि हस्ताक्षर गरेका थिए । त्यो घटनाले विभिन्न सञ्चार माध्यममा ठूलै स्थान पाएको थियो । ‘त्यो घटनामा अख्तियारले पनि कार्यालयमा अनुपस्थित भएका बखत पोस्टमार्टम प्रमाणित गरी अनियमित कार्य गरेको देखिँदा आइन्दा यस प्रकारको काम नगर्न ध्यानाकर्षण गराएको थियो,’ स्रोतले भन्यो, ‘उनको निलम्बन फागुन १९ गते मात्र फुकुवा भएको हो।’

उनी विवादमा मुछिएको यो नै पहिलो घटना भने होइन । प्रतिष्ठानको रेकर्डअनुसार २०५८ असोजमा पूर्वजानकारी हुँदा पनि उनी पोस्टमार्टमका लागि नआएपछि र बिबिएस तेस्रो वर्षको कक्षा लिन पूर्वसुचना नगरी अनुउपस्थित भएपछि प्रतिष्ठानले सचेत गराएको थियो । यस्तै, २०७० सालमा बिना स्वीकृति र जानकारी अनुपस्थित भएको भन्दै प्रतिष्ठानले उनलाई स्पष्टीकरण लिएको थियो । बिपी प्रतिष्ठानका वरिष्ठ चिकित्सक मध्येमा पर्ने उनले दुईपटक उपकुलपति बन्ने प्रयास गरेका थिए तर, सफल नभएपछि व्यवस्थापनलाई असफल बनाउन अनेक गतिविधि गर्ने गरेको आरोप पनि उनलाई लाग्दै आएको छ । पछिल्लो समय एक वर्षअघि योजना बनेर प्रतिष्ठानको आकस्मिक कक्ष विस्तार सुरु गरिएको थियो । तर, सिनेट सदस्य यादवले नै स्वास्थ्य मन्त्रीलाई दबाब दिएर काम रोक्न लगाएको भन्दै आकस्मिक विभागका चिकित्सक रुष्ट भएका थिए।

डा. यादव भने आफूलाई उपकुलपति बन्न नदिन प्रतिष्ठानमा पहिलादेखि नै चलखेल भइरहेको आरोप लगाउँछन् । उनले भने, ‘मलाई अगाडि बढ्न नदिन अख्तियारमा उजुरी गरिएको थियो । पछि फुकुवा भएँ ।’ यस्तै स्वास्थ्यमन्त्री यादवसँग सामान्य चिनजान मात्र भएको डा. यादवको भनाइ छ । नियमपूर्वक कार्ययोजनासहित निवेदन दिएर आफू ६ जनाको सूचीमा परेको उनले दाबी गरे । सिफारिस समितिका एक सदस्य डा. सुशीलनाथ प्याकुरेल पनि अनुभव, वरिष्ठता, शैक्षिक योग्यता, विगतको पृष्ठभूमि, कार्ययोजना लगायतका आधारमा ६ जना छनौट गरिएको दाबी गर्छन् । ‘सबै कुरा हेरेर ६ जना छनौट गरिएको हो, अझै त्यहाँबाट तीन जना मात्र सिफारिस गर्नुपर्ने छ । अरूको पनि कुराहरू उठेका छन्, हामी थप हेर्छौं,’ उनले भने, ‘कुनै विवादमा नपरेका स्वच्छ छविको व्यक्ति पुगोस् भन्ने हाम्रो पनि चाहना हो।’

नागरिकमा  रोहित राईले लेखेका छन् । 

प्रतिक्रिया