Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

शिक्षक महासंघलाई आयोगमा सहभागी गराईने

बुधबार, १७ असोज २०७५

ललितपुर - उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका अब बस्ने हरेक बैठकमा नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई सहभागी गराईने भएको छ । विश्व शिक्षक दिवसका अवसरमा बुधबार महासंघद्धारा आयोजित कार्यक्रममा पुगेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उक्त प्रतिवद्धता जनाएका हुन् । दुई महिना अघि गठन भएको आयोगमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै महासंघले शिक्षा मन्त्रीको विरोध गर्दै आएको थियो । 

विरोधकै बीचमा कार्यक्रममा प्रमुख अतिथी बनेर आएका मन्त्री पोखरेलले अब देखि आयोगका हरेक बैठकमा महासंघलाई स्थायी आमन्त्रण गरी सबै बैठकमा सहभागी गराउने बताएका हुन् । 

'स्थानीय तहका कतिपय अभ्यासले तपाईहरुलाई चोट पुर्याएको छ, तपाईहरुको पनि सहभागितामा संघीय शिक्षा नीति बनाएर यी विषयहरुलाई दिशाबोध गर्ने विश्वास दिलाउन चाहन्छु' उनले भने, 'अबका उच्चस्तरीय शिक्षा आयोगका बैठकहरुमा महासंघका स्थायी आमन्त्रण गर्ने गरी अघि बढ्ने जानकारी पनि गराउन चाहन्छु ।'

यस अघिका शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा गठित आयोगमा महासँघको प्रतिनिधित्व भए पनि पोखरेलको अध्यक्षतामा ४ महिने म्याद सहित बनेको आयोगमा आफ्नो प्रतिनिधित्व नगराईएको भन्दै महासंघले शिक्षा मन्त्रीको विरोेध गर्दै आएको थियो ।

यस अघि सार्वजनिक शिक्षा प्रणालीको सुधार विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले पनि आयोगमा महासंघको प्रतिनिधित्व गराउनु पर्ने उल्लेख गरेका थिए ।  

आयोगको सुझाव कार्यान्वयन गर्ने काम स्थानीय सरकारको भएकोले तिनको उपस्थिति शून्य भएको आयोगको सुझावमा अपनत्व कायम हुन नसक्ने तर्क दिदैं उनले महासंघको प्रतिनिधित्वको समेत खाँचो औल्याएका थिए । उनले नेपाल शिक्षक महासंघलाई बालबालिका मुखी नभै “शिक्षक मुखी” मात्रै बन्ने प्रवृत्तिबाट माथि उठ्न सुझाव पनि दिए । 

वाग्लेको कार्यपत्र पछि बोलेका मन्त्री पोखरेलले पनि स्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यक पर्ने बताउँदै शिक्षक कक्षा कोठाको पठनपाठनमै केन्द्रित हुनु पर्ने उल्लेख गरे । सुयोग्य शिक्षक ल्याउन शिक्षक छनौट देखिकै प्रणालीमा परिवर्तनको खाँचो रहेको बताउँदे उनले राजनतिक परिवर्तन संगै शिक्षकको भूमिका पनि बदलिएको बताए । जगबाटै शिक्षाको आधार निर्माणका लागि सामान्य भूमिकाले नपुग्ने भन्दै अतिरिक्त भूमिकामा आफूहरुलाई ढाल्न पनि उनले शिक्षकलाई सम्झाए । 

यस अघि नेपाल शिक्षक यूनियनका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराईले गुणस्तरीय शिक्षकबाट सिक्न पाउने अधिकार र शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले शिक्षाका नीतिगत तथा लगानीको अवस्थाबारे छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा यूनेस्को काठमाडौका शिक्षा विभाग प्रमुख बलराम तिमिल्सिनाले स्नातक र स्नातकोत्तर गरेर मात्र योग्य शिक्षक हुन नसक्ने भन्दै गुणस्तरीय शिक्षक निर्माण तर्फ सरकार र स्वयं शिक्षकहरु लाग्नु पर्ने बताए । महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकको अवस्था सुधारका लागि महासंघ सकृय रहेको दावि गर्दै सरकारले पनि शिक्षकका अधिकार र आवश्यकतामा ध्यान दिन माग गरे । 

कार्यक्रम अघि महासंघले पूल्चोकबाट जाउलाखेल सम्म प्रभात फेरी पनि गरेको थियो । 

सोही कार्यक्रमसंग सम्बन्धित यो खबर पनि पढ्नुहोस् : जिल्लाका शिक्षा कार्यालय प्रशासनबाट झिक्ने, संघीय र प्रदेशको साझा 

प्रतिक्रिया