Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

सूर्यचन्द्र नमूना मावि

मंगलबार, २३ असोज २०७५

काठमाडौं २३ असोज / अछामको साँफेबगर नगरपालिका–१ कालिमाटीस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना मावि अब्बल बन्दै गएको छ ।

सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय बर्सेनी पुरस्कृत हुँदै गएको छ । पछिल्लो समय सूर्यचन्द्र मावि विद्यार्थी, अभिभावक र आम सरोकारवालाको आकर्षणको केन्द्र बनिरहेको छ । विद्यालयको परीक्षाफल ५० प्रतिशतभन्दा माथि नै रहेको प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सहुलियत मूल्यमा छात्रावासको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन, आन्तरिक परीक्षालगायत अतिरिक्त क्रियाकलापलाई विद्यालयले निरन्तरता दिँदै आएको छ । अभिभावकले विद्यालयको उक्त अभियानमा साथ दिएका छन् । शिक्षकले बेलाबेलामा विभिन्न गाउँमा पुगेर अभिभावकसँग छलफल गर्ने, विद्यार्थीले ल्याएको नतिजाबारे जानकारी गराउनेलगायत काम गर्दै आएका छन् । “यसबाट अभिभावकलाई थप जिम्मेवार हुन प्रेरित गरेको छ,” प्रअ शाहले भन्नुभयो ।

मावि तहमा कक्षाकोठा अभाव रहेको विद्यालयले जनाएको छ । कक्षाकोठाको समस्या समाधानका लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष अम्मरबहादुर शाहले बताउनुभयो । भौतिक पूर्वाधारका लागि डिपिआर तयार गरिसकेको छ । “अब शैक्षिक योजना बनाउन बाँकी छ, सिसी क्यामरा राख्ने र इ–कक्षा सञ्चालन गर्ने तयारी छ,” उहाँले भन्नुभयो । यहाँ कालिमाटीका साथै रिडिकोट, पायल, लुङ्ग्रा, जाल्पादेवीलगायत ठाउँका विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष मिठ्ठुसिंह भाटले बताउनुभयो ।

विसं २०७३ यता सूर्यचन्द्र माविले दुई पटक उत्कृष्ट विद्यालयका रुपमा रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । हाल यहाँ शिक्षा, व्यवस्थापन र कृषि जेटिइ ९बाली विज्ञान०को अध्ययन भइरहेको छ । यहाँ ६३० विद्यार्थी अध्ययनरत छन् । 

गोरखापत्रबाट 

प्रतिक्रिया