Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ को नतिजामा लापरवाहीको शंका, नियन्त्रकको 'रुखो जवाफ' - मलाई हैन अध्यक्षलाई सोध्नुहोस् !

विहीबार, २५ असोज २०७५

पोखरा - राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा ११ को नतिजामा लापरवाही भएको भन्दै परीक्षण प्रणालीमै छानविनको माग गरिएको छ । मुख्यतया विज्ञान संकाय अन्र्तगत केमेष्ट्रि, फिजिक्स र गणितमा विद्यार्थीले प्राप्त गरेको ग्रेड अपत्यारिलो भन्दै विद्यार्थी अभिभावक र शिक्षकहरुले नतिजामा लापरवाहीको शंका गरेका हुन् । 

पोखरा स्थित बोर्डको शाखा कार्यालय मातहतका १० जिल्लामै यस्तो समस्या आएको भन्दै विद्यार्थीले मंगलबार प्रदर्शन समेत गरेका थिए । उनीहरुले छानविनको माग गरेका छन् । 

परीक्षणमा त्रुटि नभई यति ठूलो संख्यामा समस्या नआउने एसओएस पोखराका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठ दावी गर्छन् । 

'हुन त विद्यार्थीको अपेक्षा राम्रो हुनु स्वभाविक हो तर अहिले त अस्वभाविक नतिजा आएको छ, कुनै पनि प्रश्न बाहिरबाट आएका छैनन्, सबै पढे पढाएकै प्रश्न छन्' उनले भने, 'विद्यार्थीको परफरमेन्स पनि यत्तिको प्रश्नमा राम्रो हुने कुरा शंका गरिरहनु पर्दैन, केमेष्ट्रिमा त सबै जसो पहिले आउने जस्तै प्रश्न छन् तर ग्रेड हेर्नुहुन्छ भने पटक्कै चित्तबुझ्दो छैन ।' 

यस्तो हुनुका पछिल्तिर परीक्षण प्रणालीमै समस्या भएको उनको शंका छ ।  

आफ्ना विद्यार्थी भनेका यस क्षेत्रका पहिलो रोजाईका विद्यार्थी भएको बताउँदै उनले राष्ट्रिय स्तरमा गर्नु पर्ने अन्य शैक्षिक प्रतिस्पर्धामा पनि आफ्ना विद्यार्थीले राम्रो नतिजा निकालेको उदाहरण ईञ्जिनीयरिङ् र चिकित्सा अध्ययनको प्रवेश परीक्षा हेर्दा पनि थाह हुने दावि गरे । 

बोर्डले प्रति कापी ३० रुपैंया दिने गरी परीक्षण गराएको हुन्छ । स्नातकोत्तर उत्तीर्ण गरी कम्तिमा ३ बर्ष पढाएको जो कोही शिक्षकले कापी परीक्षण गर्न सक्छ । परीक्षण गर्न चाहने उक्त योग्यताका शिक्षकले विद्यालयको सिफारिस लिएर आएमा बोर्डले अभिमुखिकरण तालिममा सहभागी गराई उनीहरुबाटै परीक्षण गराउँदै आएको छ । उनीहरुले बोर्डकै कार्यालयमा बसेर कापी परीक्षण गर्नु पर्छ । यसरी परीक्षण भएको कापीलाई बोर्डको केन्द्रीय कार्यालयमा लगेपछि प्रति २ सय कापी मध्येबाट २० प्रतिशतका दरले सम्परीक्षकबाट पनि सम्परीक्षण गरिन्छ । उनीहरुले सोही अनुपातमा रकम पाउँछन् ।   

लापरवाही रोक्न निर्माण गरिएको उक्त संयन्त्रमा अधिकाँश नीजि विद्यालयमा सञ्चालकहरु रहेकोले आफ्नो विद्यालयको अवस्था राम्रो देखाउन गडबढी गरेको हुन सक्ने शंका पनि यहाँका विद्यालय सञ्चालकहरुको छ । 

'सम्परीक्षण गर्ने ठाउँमा बसेकाहरुको नियतमा पनि प्रशन उठाउनु पर्ने दखिन्छ' एक जना शिक्षकले नाम नबताउने सर्तमा भने, 'अरुको विगारेर आफ्नो विद्यालयको नतिजा राम्रो देखाउने दुराशय पनि हुन सक्छ ।'

यस्ता शंका र आरोप लागे पछि निराकरणका लागि बोर्डले चासो राख्न आवश्यक छ । तर बोर्डका शाखा कार्यालय प्रमुख विष्णु नारायण श्रेष्ठ अपेक्षित ग्रेड आएन भनेर विरोध गर्नुको औचित्य नभएको बताउँदै प्रश्नको कठिनाईस्तरका कारणले पनि विद्यार्थीको नतिजामा यस्तो ग्रेड आएको तर्फ सोच्नु पर्ने बताउँछन् । 

'अपेक्षित ग्रेड आएन भनेर असन्तुष्टि आएको छ म आएको त डेढ महिना मात्रै भयो कस्ता परीक्षक  थिए, कति थिए भन्ने मलाई यकिन पनि भएन' उनले भने, 'सम्झन पर्ने कुरा के हो भने कापी परीक्षण गर्ने कर्मचारीले हैन, शिक्षकले नै हो ।' 

यस विषयमा आफूले बोर्डको केन्द्रिय कार्यालयमा जानकारी गराई सकेको र के भएको रहेछ भन्ने बारे सम्बन्धित विद्यालयसँग बुझेर बोर्ड अघि बढ्ने उनले बताए । 

'मौजुदा कानून ऐन नीयममा रिटोटलिङ्को प्रावधान छ, चित्त नबुझे त्यता जान सकिन्छ, त्यसमा पनि चित्त नबुझे प्रति कापी २ हजार रुपैंया तिरेर कापी नै हेर्न सकिन्छ' उनले भने 'नभए मंसिर ८ गतेका लागि तय भएको ग्रेड वृद्धि र कक्षा १२ पढ्दै गर्दा आउने वार्षिक परीक्षामा सहभागी हुन पाउने अवस्था त छँदैछ ।'

तर, जति चाँडो नतिजा निकाल्यो उति नियन्त्रकको क्षमता देखिने मनोविज्ञानका कारण हतारमा काम गर्दा यस्तो भएको हुन सक्ने अड्कल काटिएको छ । आफ्नो क्षमता देखाउनका लागि चाँडै नतिजा निकाल्ने नाममा नियन्त्रकले हतार गर्दा यस्तो भएको हुन सक्ने शंका गरिएको हो । बैशाख ८ गते देखि शुरु परीक्षा अन्र्तगत कापी परीक्षणको प्रकृया शुरु हुँदै गर्दा असार ८ गते तत्कालिन नियन्त्रक डम्बर बतासलाई हटाएर बोर्डले कृष्ण प्रसाद शर्मालाई नियन्त्रकको जिम्मेवारी दिएको थियो । 

परीक्षाफल प्रकाशनका आन्तरिक कार्य जारी रहेका बेला नियन्त्रक परिवर्तन गर्दा नतिजामा समस्या हुन सक्ने भन्दै त्यति बेलै बोर्ड भित्र उठेको आवाज वेवास्ता गर्दै शर्मालाई नियन्त्रक बनाईएको थियो ।  

उक्त समस्या र समाधानका बारेमा बोर्डको गृहकार्य बारे जानकारी लिन शर्मासँग टेलिफोन सम्पर्क गर्दा उनले यसबारेमा मिडियालाई प्रतिकृया नदिने भन्दै 'रुखो जवाफ' फर्काएका थिए । 

'म मिडियासँग बोल्दिन, मलाई हैन अध्यक्षलाई सोध्नुहोस्' उनले भने । 

जिम्मेवारीमा बसे पछि विद्यार्थीको जीवन र भविष्यसँग जोडिएको नतिजाका बारेमा उठेको प्रश्नको उत्तर दिनु नियन्त्रकको दायित्व भएको एडुखबरको तर्क पछि उनले बल्ल परीक्षाका प्रकृयामा कुनै पनि समस्या नभएको दावी गरे ।  

'यस्तो अवाज उठे पछि विज्ञहरु बोलाएर हामीले हेरियो,कुनै समस्या देखिएन' उनले भने 'ग्रेडिङ्ले गर्दा विद्यार्थीको पढ्ने ट्रेण्ड पनि घट्दै गएको छ, यस्तै भएको हुन सक्छ, नतिजा प्रकाशनमा कुनै समस्या छैन ।'

शंका लाग्ने विद्यार्थीले रिटोटलिङ् गराउन सक्ने पनि उनले बताए । 

प्रतिक्रिया