भक्तपुर - कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बेलुका बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ । यो गत बर्ष झण्डै ९ प्रतिशत बढि हो ।
नतिजा अनुसार ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार पाँच सय दुई रहेको छ । त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार आठ सय ९६ र २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी ९४ हजार दुई सय ६८ छन् । त्यस्तै २.४१ देखि २.८० ल्याउने ६९ हजार आठ सय १२ र २.०१ देखि २.४० जीपीए आठ हजार नौ सय ६४ विद्यार्थीले ल्याएका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना रहेको बोर्डले जनाएको छ ।
नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी थिए । नियमित तर्फ ११ र आँशिक तर्फ ६ गरी १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको संख्या नियमित तर्फ दुई लाख ४२ हजार चार सय ६५ र आँशिक तर्फ ४१ हजार आठ सय ४० गरी दुई लाख ८४ हजार तीन सय पाँच विद्यार्थी ग्रेडेड भएका छन् । जस अनुसार नियमित तर्फ ६१ दशमलब १७ र आँशिक तर्फ ३६ दशमलब ४९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।
यस अघि कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजामा पनि गत बर्ष भन्दा १४ प्रतिशत धेरै विद्यार्थी ग्रेडेड भएका थिए ।
नेपाल शिक्षक महासंघले गरेको शैक्षिक हड्ताल सहितको काठमाडौं केन्द्रित सडक प्रदर्शनका कारण बैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछि २१ गतेबाट शुरु भएको थियो । जेठ २ गते सम्म चलेको परीक्षामा पाँच लाख १० हजार नौ सय ८७ परीक्षार्थी सहभागी भएका बोर्डले जनाएको छ ।
यस बर्षको परीक्षाका लागि बोर्डले तयार पारेको क्यालेण्डरमा साउन १५ गते भित्र नतिजा सार्वजनिक गर्ने उल्लेख थियो । गत चैत २० गते देखि शुरु शिक्षकको २९ दिने सडक प्रदर्शनका कारण परीक्षा नै पछि धकेलिएका पछि नतिजा पनि ढिलो सार्वजनिक हुने आकँलन गरिएको थियो । शिक्षक प्रदर्शनका कारण १० दिन पछि परीक्षा भए पनि नतिजा भने पोहोर भन्दा एक दिन मात्रै ढिलो गरी सार्वजनिक गरिएको छ । गत बर्ष साउन १८ गते सार्वजनिक कक्षा १२ को नतिजामा ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
प्रत्येक विषयमा सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडेड हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ मा व्यवस्था गरेको छ ।
प्रतिक्रिया