त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायले सञ्चालन गर्ने एकमात्र पेडागोजी र आईटी मिश्रित कोर्ष ब्याचलर अफ इन्फोर्मेसन कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई ) कोर्ष हो । यो कोर्ष माध्यमिक तह (कक्षा ११ / १२) मा जुन सुकै विषय पढेका विद्यार्थीले भर्ना हुन पाउने आईटी कार्यक्रम हो । नेपालमा सञ्चालित आईटी कोर्ष मध्ये सस्तो शुल्कमा आईटी अध्ययन गर्ने अवसर बीआईसीटीई विकल्प हो ।
के हो बिआईसीटीई ?
सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने मूख्य उद्देश्य साथ त्रिवि, शिक्षाशास्त्र सङ्कायको सेमेष्टरमा आधारित नयाँ कार्यक्रम हो बिआईसीटीई । शैक्षिक जनशक्ति उत्पादन गर्न त्रिवि शिक्षा शास्त्र सङ्कायले २०६७ (सन् २०१०) देखि तिन बर्षे बिएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यसको परिमार्जित कार्यक्रम नै बीआईसीटीई हो । हाल यो कोर्ष देश भरका २८ क्याम्पसमा सञ्चालनमा छ । बिएड आईसीटीको परिमार्जित कोर्ष नै बीआईसीटीई हो ।
पाठ्य संरचना
त्रिवि शिक्षा शास्त्र सङ्कायले तिन बर्षे बिएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । यसको कूल पर्णाङ्क १५०० थियो । जसमा ८०० अंकको आईटी कोर्ष थियो र त्यो समयमा देशभरका पाँच ओटा आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको थियो । एक वर्ष पछि आठ ओटा सामुदायिक क्याम्पसहरूमा यो कोर्ष थपियो । सन् २०१५ मा त्रिविले त्यो कोर्षलाई पुनर्संरचना (चभकतचगअतगचष्लन) गर्दै चार बर्षे (९ सेमेष्टर) बनायो । जुन कोर्षलाई १३८ क्रेडिट आवरको बनाइयो । बिएड आईसीटी देशका १४ क्याम्पसमा सञ्चालन भइरहेका थिए । पुनः बिएड आईसीटीलाई २०७७ (सन् २०२१) मा परिमार्जन गर्दै बिआईसीटीई बनाइयो । बीआईसीटीई कोर्षमा कोर आईटी विषय ५४ प्रतिशत (७२ क्रेडिट), पेडागोजी र गणित ३० प्रतिशत (३९ क्रेडिट) र सञ्चारसीप, प्रोजेक्ट तथा इन्टर्नशिप कौशल १६ प्रतिशत (२१ क्रेडिट ) विषयहरू अध्यापन हुने गर्छ ।
पढाइ हुने विषयहरु
कोर्षमा आईटी तथा नन् आईटी (पेडागोजी) का विभिन्न विषय पढाइ हुन्छ । बीआईसीटीईमा १३२ क्रेडिट आवरको आठ सेमेष्टर चार बर्षे कोर्स हो ।
- कोर आइटी
पहिलो सेमेष्टरमा आईआईटी र प्रोग्रामिङ कन्सेप्ट विथ सी’, दोश्रो सेमेष्टरमा ‘डिजिटल लजिक’ र ‘ओब्जेक्ट ओरियण्टेड प्रोग्रामिङ विथ सींं’ पढाइ हुन्छ ।
तेस्रो सेमेष्टरमा ‘डेटा स्ट्रक्चर एण्ड एल्गोरिदम’, ‘कम्प्युटर आर्किटेक्चर एण्ड अर्गनाइजेसन’ र ‘वेब टेक्नोलोजी’, चौथो सेमेष्टरमा ‘अपरेटिङ सिष्टम’, ‘डेटाबेस म्यानेजमेण्ट सिष्टम’ र ‘सिष्टम एनालाइसिस एण्ड डिजाइन’ रहेको छ ।
पाँचौ सेमेष्टरमा ‘जाभा प्रोग्रामिङ’, ‘डेटा कम्युनिकेसन एण्ड नेटवर्कस्’, ‘सफ्टवेयर इञ्जिनियरिङ एण्ड प्रोजेक्ट’ छन् ।
छैटौँ सेमेष्टरमा ‘भिजुअल प्रोग्रामिङ’, ‘कम्प्युटर ग्राफिक्स’, ‘डिजिटल पेडागोजी एण्ड एलएमस’ र ‘नेटवर्क एण्ड इन्फरमेसन सेक्युरिटी’ विषयहरु अध्यापन हुने गर्छ ।
सातौं सेमेष्टरमा ‘आर्टिफिसियल इण्टेलिजेन्स इन एजुकेसन’ र ‘टिचिङ मेथोड फर आईसीटी’ पढाइ हुन्छ । साथै ‘जिआईएस ÷बिग डेटा एनालिसिस’ र ‘क्यापस्टोन प्रोजेक्ट’ मध्ये कुनै एक ऐच्छिक विषयका रुपमा पढ्नु पर्छ ।
आठौं सेमेष्टरमा ‘सिष्टम एड्मिनिस्टेटर विथ लिनक्स’, ‘पाइथन प्रोग्रामिङ’ छन् । ‘क्लाउड कम्प्युटिङ’ वा ‘मल्टिमिडिया टेक्नोलोजी’ जस्ता विषय ऐच्छिक रुपमा राखिएका छन् ।
यी विषय पहिलो, दोश्रो सेमेष्टर ६/६ क्रेडिटका, तेस्रो, चौथो र पाँचौ सेमेष्टर ९/९ क्रेडिटका, छैटौँ सेमेस्टरमा १२ क्रेडिटका र सातौं, आठौं सेमेस्टर ६/६ क्रेडिटका कोर्षहरू छन् । साथै तेस्रो सेमेष्टरमा ‘ट्वान्टी फष्ट सेञ्चुरी लाइफ स्किल’ र चौँथो सेमेष्टरमा ‘एजुकेसनल लिडरसिप इन डिजिटल एरा’ ३/३ क्रेडिटका जीवनोपयोगी सीप बारे विषय छन् । समग्रमा जम्मा ७२ क्रेडिटमा कोर आइटी अध्यापन हुने गर्दछ ।
- पेडागोजी र गणित
प्रत्येक सेमेष्टरमा पेडागोजीका एक एक विषय राखिएका छन् । जुन ३/३ क्रेडिटका जम्मा २४ क्रेडिटका विषयहरू छन् । तेस्तै प्रथम देखि पाँचौ सेमेष्टरसम्म गणितका एक एक ३/३ क्रेडिटका जम्मा १५ क्रेडिटका विषयहरू छन् । पेडागोजी विषयहरूमा वर्तमान शिक्षा के किन कसरी कहिले कहाँ जस्ता विषयवस्तुको अभ्यास गराइन्छ ।
साथै कम्प्युटर विज्ञान र गणित एक अर्काको परिपुरकको रुपमा पहिलो सेमेष्टरमा ‘म्याथम्याटिक्स १’ , दोश्रो र ‘म्याथम्याटिक्स २’ छन् । तेस्रो, चौथो र पाँचौ सेमेष्टरमा क्रमशः ‘सम्भाव्यता र तथ्याङ्क’, ‘संख्यात्मक विश्लेषण’, ‘डिसक्रीट म्याथम्याटिक्स’ छन् । पेडागोजी विषयहरू क्रमशः पहिलोदेखि आठौं सेमेष्टरसम्म ‘फण्डामेण्टलस् अफ एजुकेसन’, ‘डेभलपमेण्टल साइकोलोजी’, ‘साइकोलोजी अफ लर्निङ’, ‘फण्डामेण्टलस् अफ करिकुलम’, ‘शिक्षण र सिकाइमा मूल्याङ्कन’, ‘शिक्षामा अनुसन्धान विधिहरू’ र ‘अनुसन्धान परियोजना’ राखिएको छ । समग्रमा जम्मा ३९ क्रेडिटका पेडागोजी र गणित अध्यापन हुने गर्दछ ।
- सञ्चारसीप , प्रोजेक्ट तथा इन्टर्नशिप कौशल
विद्यार्थीमा भाषिक ज्ञान र तार्किक सिपको विकास गर्न पहिलो र दोस्रो सेमेष्टरमा अनिवार्य अंग्रेजी भाषा र नेपाली भाषा पढाइ हुन्छ । यी ३/३ क्रेडिटका जम्मा गरी १२ क्रेडिटका छन् । परियोजन (प्रोजेक्ट) मार्फत आफूले सिकेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई उनीहरूले मूर्त रुप दिन सातौ सेमेष्टरमा ‘रिसर्च प्रोजेक्ट’, ‘सफ्टवेयर प्रोजेक्ट’ र आठौँ ‘इण्टर्नशिप’लाई अनिवार्य गरिएको छ । समग्रमा जम्मा २१ क्रेडिटका सञ्चार सीप , प्रोजेक्ट तथा इण्टर्नशिप विषयहरु अध्यापन हुने गर्दछ ।
कहाँ कहाँ हुन्छ पढाइ ?
त्रिविको ९ आंगिक (सरकारी) र १९ सामुदायिक क्याम्पस गरेर कुल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि नीजि कलेजले यो कोर्ष सञ्चालन गरेका छैनन् । यो विषय पढाइ हुने क्याम्पसहरू निम्न छन् :
आंगिक(सरकारी) क्याम्पसहरू
- सानोठिमी क्याम्पस, भक्तपुर
- महेन्द्र रत्न क्याम्पस, काठमाडौँ
- विरेन्द्र बहुमुखी क्याम्पस, चितवन
- बुटवल बहुमुखी क्याम्पस, रुपन्देही
- सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत
- महेन्द्र मोरङ क्याम्पस, मोरङ
- डडेलधुरा बहुमुखी क्याम्पस, डडेलधुरा
- आरआरएम क्याम्पस, धनुषा
- सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस, सिरहा
सामुदायिक क्याम्पसहरू
- आदिकवि भानुभक्त क्याम्पस, तनहुँ
- काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक
- बालकुमारी कलेज, चितवन
- घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली
- जन भावना क्याम्पस, ललितपुर
- जनज्योति बहुमुखी क्याम्पस, सर्लाही
- जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौँ
- जनता बहुमुखी क्याम्पस सुनसरी
- जेएस मुरारका बहुमुखी क्याम्पस , सिरहा
- मध्यविन्दु बहुमुखी क्याम्पस, नवलपरासी पूर्व
- मकवानपुर बहुमुखी क्याम्पस, मकवानपुर
- महाकवि देवकोटा क्याम्पस, नवलपरासी पश्चिम
- म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी
- निलकण्ठ बहुमुखी क्याम्पस, धादिङ
- शहीद स्मृति बहुमुखी क्याम्पस, चितवन
- सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवन
- सुकुना बहुमुखी क्याम्पस, मोरङ्
- वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा
- त्रियुगा बहुमुखी क्याम्पस, उदयपुर
प्रवेश परीक्षा
प्रवेश परीक्षामा सय वटा वस्तुगत प्रश्नहरू दिइन्छ । जसमा आईसीटी कौशल परीक्षण ४० प्रतिशत, गणित परीक्षण २५ प्रतिशत, अंग्रेजी कौशल १५ प्रतिशत र शैक्षिक जीके २० प्रतिशतका प्रश्न समावेश हुन्छ । त्रिविले केन्द्रिय शिक्षा प्रवेश परीक्षा (CEAT) लिने गर्छ । जुन परीक्षा अन्तर्राष्ट्रिय परीक्षण ढाँचा र मापदण्डहरू पालना गरी सञ्चालन गरिन्छ । यो परीक्षामा न्यूनतम ४० प्रतिशत ल्याउनु पर्छ र उत्तिर्ण हुने विद्यार्थीलाई क्याम्पसको क्षमता अनुसार भर्नाको लागि छनोट गरिन्छ ।
कोटा / शुल्क
बीआईसीटीई कोर्ष एक सिफ्टमा मात्र चलाउने क्याम्पसहरुमा ३६ र दुई सिफ्ट सञ्चालन गर्ने क्याम्पसहरुमा ७२ ओटा विद्यार्थी कोटा निर्धारण गरिएको छ । तर सानोठिमी क्याम्पसमा भने १०८ विद्यार्थी कोटा छ । सामान्यतयाः आङ्गिक क्याम्पसहरूमा प्रति सेमेष्टर २५ देखि ३५ हजार रुपैयाँ र सामुदायिक क्याम्पसहरुमा प्रति सेमेष्टर ३० देखि ४० हजार रुपैंया शुल्क रहेको छ । नीजि कलेजहरुमा बीआईसीटीई नभएकोले अन्य आईटी कोर्षहरूको तुलनामा यो निकै सस्तो छ । यो कोर्ष त्रिविको आङ्गिक तथा सम्बन्धन दुबै प्रकारका कलेजमा पढाइन्छ । त्यसैले शुल्क पनि क्याम्पस अनुसार फरक हुन्छ । त्यस्तै यो कोर्ष पढाइ हुने क्याम्पसहरूको आआफ्नै छात्रवृत्ति नीति छ । त्यसो हुँदा विद्यार्थीले सोही अनुसार छात्रवृत्ति पनि पाउँछन् । आङ्गिक क्याम्पसहरुम त्रिविको नीति अनुसार छात्रवृत्ति दिइन्छ ।
शिक्षण विधि र मूल्याङ्कन
सिद्धान्त र प्रयोगात्मक कक्षामा विभिन्न विधिहरू समूह छलफल, कक्षा व्याख्यान, परियोजना कार्य, प्रदर्शन, अतिथि व्याख्यान, क्षेत्र भ्रमण जस्ता शैक्षणिक विधि प्रयोग गरिन्छ । साथै निरन्तर मूल्याङ्कन (उपस्थित प्रस्तुति, कक्षाकोठा सहभागिता, आन्तरिक परीक्षा आदि बाट) आन्तरिक मूल्याङ्कन र बाह्य (सेमेष्टरको अन्त्य) विद्यार्थी मूल्याङ्कन हुन्छ । जस अन्तर्गत परीक्षामा क्रमशः ४० र ६० प्रतिशत भार तोकिएको छ । बाह्य (सेमेष्टरको अन्त्य) परीक्षा त्रिवि, शिक्षाशास्त्र सङ्कायले सेमेष्टरको अन्त्यमा सञ्चालन गर्छ । त्यस्तै सैद्धान्तिक र व्यावहारिक विषयहरुमा आधारित हुने व्यावहारिक परीक्षा सञ्चालन हुन्छ । जसमा बाह्य परिक्षेकले २० प्रतिशत भारमा आधारित भएर विद्यार्थीलाई अङ्क दिन्छन् । विद्यार्थीको अन्तिम ग्रेड आन्तरिक र बाह्य परीक्षामा हुने समग्र प्रदर्शनको आधारमा निर्धारण गरिन्छ ।
ग्रेडिङ प्रणाली
यस कोर्षको ग्रेडिङ प्रणालीलाई उच्च देखि न्यून गरी ६ भागमा विभाजन गरिएको छ । जसमा A, A-, B+, B, B- र F छन् । यी प्रत्येक लेटर ग्रेडले विद्यार्थीको स्तरलाई इङ्कित गर्छ । यी ग्रेडिङले विद्यार्थीको सिकाइ स्तरलाई संख्यात्मक नभई गुणात्मक रुपमा व्याख्या गर्छ । A, A-, B+, B, B- र F हुन् । जसमा -९० वा सोभन्दा माथि आए ४.० A+ सर्वोत्तम (Outstanding), -८० वा सोभन्दा माथि र ९० भन्दा कम आए ३.७ A- अत्युत्तम, -७० वा सोभन्दा माथि र ८० भन्दा कम ३.३ B+ उत्कृष्ट (Very Good), -६० वा सोभन्दा माथि र ७० भन्दा कम ३.० B उत्तम (Good), -५० वा सोभन्दा माथि र ६० भन्दा कम २.७ B- सन्तोषजनक (Satisfactory) र -५० भन्दा कम आए F असफल हुन्छ ।
सुरक्षित भविष्यको लागि बीआईसीटीई
यो कोर्षको अध्ययन पछि विद्यार्थीले विभिन्न क्षेत्रमा आफ्नो भविष्य बनाउन सक्छन् ।
शिक्षक सेवा : शिक्षा सेवा आयोग मार्फत सामुदायिक विद्यालयहरूमा कम्प्युटर विषयको शिक्षक तथा नीजि शैक्षिक संस्थाहरूमा अध्यापन गर्ने काम गर्न ।
लोक सेवा : लोक सेवा आयोगले लिने निजामती सेवा तर्फको विभिन्न समूहको कम्प्यूटर अधिकृत वा सो सरहमा पदमा काम गर्न ।
सफ्टवेयर डेभलपर : आईटी उद्योगमा चाहिने कम्प्युटर प्रोग्रामर, वेब डेभलपर (फ्रण्टएन्ड डेभलपर, ब्याकएण्ड डेभलपर), सिष्टम एड्मिन, नेटवर्क इञ्जिनियर, डेटाबेस एड्मिनिष्ट्रेटरहरूमा अवसर प्राप्त हुन्छ साथै एनजीओ, आईएनजीओ आदिमा आईटी प्रोजेक्ट म्यानेजर, आईटी सपोर्ट विशेषज्ञ, साइबर सुरक्षा विश्लेषक रुपमा कार्य गर्ने जनशक्ति यो कोर्षले निर्माण गर्दछ ।
उच्च शिक्षामा अवसर : यो कोर्ष पश्चात उच्च शिक्षा मास्टर्स इन आईसीटी एजुकेसन, मास्टर्स इन कम्प्युटर एप्लिकेसन, एमआईटी, एमएससी इन्फर्मेशन सिष्टम, एमबीए आईटी, एमएससीम डेटा साइन्स त्रिवि लगाएत विभिन्न विश्वविद्यालयमा आईटी कोर्ष अध्ययन गर्न सक्छन् ।
(घिमिरे, सानोठिमी क्याम्पस, भक्तपुरका सूचना तथा प्रविधि शिक्षाका उपप्राध्यापक हुन् ।)
सम्पादकीय नोट :- सामान्यतयाः यस्ता सामग्री विज्ञापन जस्ता देखिन्छन्, यद्यपी यो कुनै निजी विश्वविद्यालय र निजी कलेजको कोर्ष नभई त्रिभुवन विश्वविद्यालयको कोर्ष भएको एवं यो कोर्षका बारेमा विद्यार्थी एवं अभिभावकलाई जानकारी दिदाँ विषय छनोटमा सहयोगी हुन सक्ने असल नियतका साथ यो लेख प्रकाशन गरिएको हो । यो कुनै विज्ञापन होईन ।
प्रतिक्रिया