Edukhabar
आइतबार, २९ भदौ २०८२
अन्तैवाट

‘सम्बन्धन दिनै बन्द गरौं’

विहीबार, ०६ मंसिर २०७५

काठमाडौं ६ मंसिर / उच्च शिक्षा सुधारका निम्ति विश्वविद्यालयबाट सम्बन्धन दिन बन्द गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् ।

११ विश्वविद्यालयले जथाभावी सम्बन्धन दिएको र कतिपयले आफ्नो आंगिक क्याम्पस विस्तारै नगरी सम्बन्धन दिएकाले उच्च शिक्षामा विकृति बढेको उनीहरूको दाबी छ ।

विश्वविद्यालय अनुदान आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा बुधबार सानोठिमीमा आयोजित अन्तक्र्रियामा बोल्दै शिक्षाविद् केदारभक्त माथेमाले आफू २७ वर्षअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति रहेको बेलाभन्दा अहिले उच्च शिक्षाको स्थिति खस्किएको र विश्वविद्यालयको विश्वसनीयतामा ह्रास आइरहेको बताए ।

‘सामुदायिक विद्यालय र सामुदायिक क्याम्पस दुवैको स्वामित्व लिने निकायको खाँचो छ,’ उनले भने, ‘शिक्षा प्रणाली सुधारका निम्ति राजनीतिक हस्तक्षेपमुक्त उच्च शिक्षा आयोग बन्न जरुरी छ ।’

‘त्रिभुवन विश्वविद्यालयसमेत निश्चित साइजमा आउनुपर्छ । सम्बन्धन दिने कार्य बन्द गर्नुपर्छ । ठूला संरचनाका क्याम्पसलाई डिम्ड युनिभर्सिटीका रूपमा विकास गर्न दिइनुपर्छ,’ उनले भने ।

शिक्षाविद् राजेन्द्रध्वज जोशीले सम्बन्धन प्रणालीले विश्वविद्यालय शिक्षाको गुणस्तर खस्किएको बताए । ‘देशभरिका सयौं क्याम्पसमा एकै विश्वविद्यालयको सम्बन्धनमा एउटै कोर्स पढाउने नीति गलत छ,’ उनले भने, ‘त्यही कारण उच्च शिक्षाका निम्ति विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको लर्को लागेको हो ।’

पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले बहुमत प्राप्त स्थिर सरकार बनेकाले अब बहानाबाजीमा कोही उम्किन नसक्ने बताए । ‘शिक्षा क्षेत्रमा राजनीतिको नाममा जुन विकृति बढिरहेको छ, अब त्यो अन्त्य हुनुपर्छ,’ उनले भने ।

कान्तिपुरबाट 

प्रतिक्रिया