Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षकको प्रदर्शनमा रोक, सरकार विरुद्ध कटाक्ष

शुक्रबार, १४ मंसिर २०७५

काठमाडौं - पठन पाठन नै बन्द गरेर उत्रिएका शिक्षकहरुको प्रदर्शनलाई प्रशासनले रोक लगाएको छ । आफ्ना विभिन्न २६ बुँदे मागमा सरकारले वेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको प्रदर्शन पद्मोदय मोडबाट शुरु गरी त्रिपुरेश्वर, थापाथली, माईतिघर हुँदै बानेश्वर पुगेर सभामा परिणत गर्ने तय गरिएको थियो । तर, यूनिभर्सल पिस फेडेरेशनको जारी सम्मेलनमा आएका विभिन्न देशका राष्ट्र प्रमुखहरुको आवागमनमा बाधा पुग्ने भन्दै प्रशासनले रोक लगाए पछि उनीहरुले प्रदर्शनी मार्गमै सभा गरेर सरकारको आलोचना गरे । 

प्रदर्शन शुरु गर्नु अघि बाल्मीकि क्याम्पस अघिल्तिर सुरक्षाकर्मी र शिक्षकहरु बीच केही बेर घम्साघम्सी भएको थियो । शिक्षक नेता र सरक्षाकर्मी बीच छलफल भए पश्चात क्याम्पस भित्रै सभा गर्ने गरी सडकमा रहेका संयौं शिक्षकलाई क्याम्पस भित्र पठाईएको थियो । 

पूर्व घोषित शान्तिपूर्ण प्रदर्शनमा रोक लगाएको भन्दै केही शिक्षकले प्रहरी घेरा तोडेर जुलुस सहित तोकिएको ठाउँमा जानु पर्ने नेतृत्वलाई दवाव दिएका थिए । प्रदर्शन गर्ने भन्दै देशैभरीबाट जम्मा हुँदा पनि नेतृत्वले प्रशासन सामू 'घुँडा टेकेको' भन्दैं केही शिक्षकहरुले शंका ब्यक्त गरेका थिए । 

' हामी जिल्ला जिल्लाबाट अनेक दुख गरेर काठमाडौं आयौं तर भित्र भित्रै सरकारसँग नेतृत्वले साँठगाँठ गरेको शंका लागेको छ' चितवनको खैरहनी स्थित धर्मेश्वर आधारभूत विद्यालयका शिक्षक रुद्र सुवेदीले भने, '६० सालमा पनि हामीलाई प्रदर्शन गर्न रोक लगाउँदा हामीले पुलिसको लाठि खाएकै हो, आज किन पछि हट्ने ? कतै नेताहरु सरकारको रवैवा प्रति नरम भएका त हैनन् शंका लागेको छ ।'  

क्याम्पसमा भएको कोण सभामा महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सात सालमा श्री ३ को शासन फाल्न देखि श्री ५ को शासन समाप्त पार्न शिक्षक आन्दोलनको भूमिका रहेको बताउँदै अहिले स्थानीय सरकार श्री ७ का रुपमा आएको आरोप लगाए । 

'शिक्षक आन्दोलन रोक्ने र शिक्षकहरुसँग जोरी खोज्ने सबैलाई ठेगान लगाउने हामीसँग ताकत छ' उनले कटाक्ष गरे । 

प्रशासन र कार्यकर्ताको दोहोरो दवावमा रहेका अध्यक्ष बाबुराम थापाले सुरक्षाकर्मीहरुसँग छलफल गरेर क्याम्पसबाट जुलुस निकालेर भृकुटी मण्डपमा पुगी सभा गर्ने सहमती गरेका थिए । तर भृकुटीमण्डपमा सभा गर्नु अघि महानगरसँग सहमती लिनु पर्ने भन्दै प्रहरीले भित्र पस्न नदिए पछि उनीहरुले प्रदर्शनी मार्गमै सभा गरेका थिए । 

आफूहरुको प्रदर्शनमा प्रशासनले अनाबश्यक रोक लगाएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले 'पञ्चायती शासन' को झल्को आएको टीप्पणी गरे । 

'के जाती संस्थाको कार्यक्रमको निउँमा शिक्षकहरु प्रति राज्यले गरेको हस्तक्षेप स्विकार्य छैन' उनले भने, 'यो पञ्चायती शैलीको हर्कत भयो ।'

आफूहरुले हठात् आन्दोलन घोषणा गरेको नभई आफूहरुका माग प्रति संवेदनशील हुनुको साटो राज्यले थप वेवस्ता गरेर ठिक नगरेको भन्दै महासंघका अध्यक्ष थापाले सरकारको आलोचना गरे । 

शिक्षकसँग वार्ता गर्न भन्दै सरकारले गठन गरेको समितिमा अर्थ, कानून र संघीय मन्त्रालयको प्रतिनिधित्व नभई कुनै अर्थ नहुने भन्दै उनले महासंघले यस अघि घोषणा गरेका कार्यक्रम यथावत रहेको बताए । महासंघले मंसिर २१ गते काठमाडौं जाऔं अभियान गरेर प्रदर्शन गर्ने तय गरेको छ । 

देशको समग्र शैक्षिक विकास तथा पेशागत माग सहित गत जेठ १७ गतेबाट शुरु आन्दोलनको तेश्रो चरण अन्र्तगत महासंघले शुक्रबार विद्यालय नै बन्द गरेर प्रदर्शन गरेको हो । प्रदर्शनका कारण देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत ७० लाख धेरै विद्यार्थीको पढ्न पाउने हक कुण्ठित भएको भन्दै आलोचना भएको छ । 

पढ्नुहोस् : सुनसान कक्षा कोठा, जिम्मेवारीबाट च्युत शिक्षक !

महासंघले विभिन्न २६ बुँदे माग राखेर आन्दोलन गर्दै आएको छ । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत गरेसँगै महासंघ विरोधमा उत्रिएको हो । 

स्थानीय सरकारले आफ्ना क्षेत्रका सार्वजनिक विद्यालय सुधार गर्न र पठन पाठनमा ध्यान नदिने 'शिक्षकहरुलाई  कडिकडाउ' गर्न थाले पछि उनीहरु आन्दोलनमा उत्रिएको भन्दै शिक्षकहरुको आन्दोलन प्रति सार्वजनिक शिक्षाका पक्षधरहरुले आरोप लगाउँदै आएका छन् । 

 

प्रतिक्रिया